संवेदनशील पुँजी बजारमा नेताहरुको असंवेदनशील अभिव्यक्ति, बजारलाई प्यानिक बनाउन कसले के भने ?



काठमाडौं । नेपालको पुँजी बजार निकै संवेदनशील क्षेत्र हो । यो बजारमा जानेका, बुझेका, अरुको लहैलहैमा लाग्ने, आफैं विश्लेषण गरेर लाग्ने हरेक खालका लगानीकर्ता छन् ।

जसले गर्दा कुनै व्यक्तिको सानोभन्दा सानो कुराले पनि बजारलाई निकै प्रभाव पार्ने गरेको छ । अझ राजनीतिक दलका नेताहरुले दिने अभिव्यक्तिले बजारलाई निकै प्रभाव पार्ने गरेको छ ।

नेपाली पुँजी बजारको इतिहासमा निकै आलोचित दुई पात्र रहेकोमा अहिले फेरि दुई नयाँ पात्र थपिएका छन् । पहिला पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराई र पूर्वगभर्नरसमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडा रहेका थिए ।

अहिले सेयर बजार विरोधी भनेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीकै नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर ।

प्रचण्डले शनिबार सेयर बजार सम्बन्धि दिएको अभिव्यक्ति अहिले निकै चर्चामा रहेको छ ।

प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने लगानी पुँजी बजारमा हुनु साम्राराज्यवादको विकसित रुप भएको धारणा सार्वजनिक भएपछि अहिले यो विषय हटकेक बनेको छ । यो अभिव्यक्तिलाई लगानीकर्ताले बजार विरोधी अभिव्यक्तिको रुपमा लिएका छन् ।

शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु सामराज्यवादको विकसित रुप भएको दाबी गरे ।

अध्यक्ष प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाए ।

अध्यक्ष प्रचण्डले सेयर बजारप्रति लक्षित गर्दै पहिलेपहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पुँजी वा दोश्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको दाबी गरे ।

उनले नेपाल लगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एशियाली बैकहरुमा हुने गरेका बताउँदै पुँजीको लगानी पुँजीमा हुनु सामराज्यवादको विकसित हुनु, उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विषेशता भएको उल्लेख गरे ।

‘अहिले धितोपत्र बोर्ड, सत्ता बजार, आइएमएफ, विश्व बैंक, एसियाली बैंक लगायतमा लगानी हुन्छ । हामीले यी बैंकहरुले पैसा जम्मा गरेर यता उता लगानी गर्दछन् भन्ने गरेका छौं । तर, त्यस्तो होइन् । यसरी सेयर बजारमा लगानी गर्नु सामराज्यवादका विसित रुप हुन । यसरी वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने नाफा उठाएर विश्वका सिमित पुँजीपतिहरुको हातमा संसारकै धन एक कठ्ठा गर्ने योजना हो । उसरी विश्वको पैसा सिमित पुँजीपतिहरुले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङगो राख्ने प्रणाली पुँजीबजार हो । पुँजीबजारमा लगानीको विकास र विस्तारलाई हामीले परास्त गर्नु सक्नु पर्छ’ उनले भने ‘पुँजीबजारबाट पुँजीपतिहरुले सीधै पुँजीबाट पुँजी लिने गर्दछ । अब पुँजीको लगानी उत्पादनमा हुँदैन । धितोपत्रमा र सत्ता बजारमा हुन्छ । बैंकहरुले सीधै घरजग्गा किनबेचमा लगानी लगाउँछन् । घरजग्गाको कारोबारबाट सीधै पैसा आउने गर्दछ । थोरै लगानीमा छोटो समयमा अर्बौं कमाउने गरेका छन् । अहिले विश्वभर नै सेयर बजारमा लगानी बढ्न थालेको छ ।’

प्रचण्डको यो अभिव्यक्तिले माओवादी पार्टीको धारणा प्रष्ट पारेको र त्यही पार्टीका अर्थमन्त्री भएको बेला बजार कुन रुपमा अघिबढ्ने हो अहिले चिन्ताको विषय भएको लगानीकर्ताको गुनासो रहेको छ ।

उता अर्थमन्त्री जनार्दन शर्माले पनि आफुले अर्थशास्त्र नबुझेको भन्दै विभिन्न समयमा फरकफरक खाजे अभिव्यक्ति दिएका छन् । मन्त्री शर्माले पनि बजारको हितमा काम गर्न नसकेको भन्दै लगानीकर्ताले सेयर बजार विरोधीलाई नो भोट अभियान शुरु गरेका छन् ।

मन्त्री शर्माले केही समयअघि सेयर बजारलाई हावा भरिएको बेलुन जस्तो भएको नकरात्मक टिप्पणी गरेका थिए । सेयर बजारमा पूर्वमन्त्री मात्रै होइन, बर्तमान मन्त्री जनार्दन शर्मा पनि पनि धेरै सकारात्मक छैनन् । बाहिर देखाउन उनले लगानीकर्ताको कुरा सुन्ने, गभर्नरलाई फोन गर्ने, धितोपत्र बोर्डमा चासो देखाउने काम गरेका छन् ।

तर, मन्त्री शर्मा पनि भित्रीरुपमा बजार राम्रो होस् भन्ने पक्षमा छैनन् । पूर्वअर्थमन्त्रीहरुले सेयर बजारलाई जुवा घर, अनुत्पादक क्षेत्र भन्ने गरेकोमा मन्त्री शर्माले यसलाई हावा भरिएको बेलुको संज्ञा दिएका छन् ।

असोज २ गते आइक्यानको कार्यक्रममा मन्त्री शर्माले भने ‘हावा भरिएर बढ्ने मूल्यबारे यहाँहरुको के राय छ होला ? त्यो राय म लिन चाहन्छु । यसमा धेरै बोल्न पनि मिल्दैन अरे । त्यही सिकाएका छन् मलाई । तर हावा भरिएको मूल्य फुस्क्यो भने के हुने हो । यसको मूल्यबारे के हो त ? त्यो चाहियो मलाई । छिट्टै चाहियो त्यो चाँही ।’

मन्त्री शर्माको यो अभिव्यक्तिपछि उनले पनि सेयर बजारलाई हेर्ने दृष्टिकोण र बुझाइमा समस्या रहेको देखाउँछ ।

नेपालको सेयर बजार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको नाम सुन्नासाथ त्रसित बन्ने गरेको छ । २०७४ फागुनमा अर्थमन्त्री बनेका डा. खतिवडाले फागुन १६ गते बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै सेयर बजार अनुत्पादक भएको दाबी गरे ।

नयाँ अर्थमन्त्रीबाट सेयर बजारमैत्री अभिव्यक्तिको अपेक्षा गरेर बसेका लगानीकर्तालाई खतिवडाको उक्त टिप्पणी भयवित बने । त्यसको प्रभावस्वरुप उक्त अभिव्यक्ति पछिको पहिलो दिन नै नेप्से सूचक ४१ अंकले घटेको थियो ।

खतिवडाको कार्यकालमा १३०० अंकभन्दा बढी रहेको सेयर बजार करिब ११०० अंकमा झरेको थियो ।

डा. युवराज खतिवडाले राष्ट्र बैंकको गभर्नरमा ५ बर्ष रहदा बारम्बार सेयर बजारको बारेमा नकारात्मक टिप्पणी गर्ने गरेका थिए ।

‘सेयर बजारको परिसुचकले मात्रै अर्थतन्त्रको वास्तविक अनुहार देखाउँदैन, सट्टेबाजहरुका कारण बढेको पुँजी बजार सुन्निएको अर्थतन्त्रको ऐना जस्तै हुन्छ,’ खतिवडाले बारम्बार भन्ने गर्थे ।

उनी गभर्नर हुँदादेखि नै घरजग्गा र सेयर बजारप्रति निकै कठोर थिए । जुन मन्त्री हुँदा पनि देखियो । जसको कारण नेपाली सेयर बजारको इतिहासमा पहिलो पटक अर्थमन्त्रीको राजीनामा माग्दै २ जना लगानीकर्ताहरु ४ दिन आमरण अनसन नै बसे । तैै पनि खतिवडा गलेनन् । लगानीकर्ता आफ्नो माग सरकारले पुरा नगरी नै स्वास्थ्यको कारण देखाउँदै आफैं अनसन तोडेर हिँडे ।

अनसनपछि बाध्य भएर खतिवडाले पुँजी बजार मुद्रा बजारको विषयमा अध्ययन गर्न भनेर नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेका थिए । उक्त समितिले राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से तथा सरकारले तत्काल, मध्यकाल र दीर्धकालिन रुपमा गर्ने भनेर ५२ बुँदे सुझाव दिएको थियो । केही बुँदा अझै पुरा भएका छैनन् ।

खतिवडाले २०७४ चैत १७ मा देशको अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्दा पनि पुँजीबजारलाई ‘सतही र संकुचित’ भन्दै आलोचना गरेका थिए । उनी आफ्नो कार्यकालको अन्तिम समयसम्म पनि बजारको बारेमा सकारात्मक बन्न सकेनन् । जसको अहिले पनि लगानीकर्ताको नो भोट अभियानमा आलोचना भइरहेको छ ।

सेयर बजारमा अर्का बिर्सनै नसक्ने पात्र हुन् पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराई ।

२०६५ भदौ १५ गते नेप्से त्यसबेलाको उच्च बिन्दु अर्थात् ११७५ अंकमा पुगेको थियो । जुनबेला अर्थमन्त्री डा.भट्टराई रहेका थिए । त्यसको केही दिनमा डा. भट्टराईले सेयर बजार जुवा घर हो भनेर अभिव्यक्ति दिए । त्यो बेला बजार घट्न त्यही एक वाक्य काफी भयो । मन्त्रीको अभिव्यक्तिपछि लगानीकर्ता आत्तिए, मनोबल निकै गिर्यो उनको अभिव्यक्तिले घट्न थालेको बजार ३ वर्षको अवधिमा अर्थात् २०६८ साल असार १ गतेसम्म आइपुग्दा घटेर अहिलेसम्मकै न्यून बिन्दु २९२ मा झर्यो । ३ वर्षको अवधिमा बजार ८८३ अंकले घट्यो । त्यसको कारण त्यतिबेलाका अर्थमन्त्री डा. भट्टराईको ‘सेयर बजार भनेको जुवाघर हो’ भन्ने अभिव्यक्ति नै हो ।

२०६८ असार १ गते अहिलेसम्मकै न्यून बिन्दु २९२ मा रहेको बजार त्यसको २ वर्षपछि अर्थात् २०७२ साउन १२ गते १८८१ बिन्दुमा पुगेको थियो ।
अहिले पनि सरकारले सेयर बजारको विषयमा स्थिर नीति लिन सकेको छैन । जसले गर्दा अस्थिर बनेको छ । त्यहीबेला नेताहरुको अभिव्यक्तिले बजारलाई झनै त्रसित बनाउने गरेको छ ।


सोभित थपलिया