१६ वटा खाद्य पदार्थमा मापदण्ड तोक्ने विभागको तयारी



काठमाडौं । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले विभिन्न १६ वटा खाद्य वस्तुमा मापदण्ड तोक्ने तयारी गरेको छ । विभागले बजारमा उपलब्ध विभिन्न खाद्य पदार्थमा गुणस्तर मापदण्ड तोक्ने तयारी गरेको हो ।

विभागको प्रवक्ता मोहन कृष्ण महर्जनले खाद्य ऐनअनुरुप विभिन्न १६ वटा खाद्य वस्तुमा अनिवार्य गुणस्तर मापदण्ड तोक्ने तयारी गरेको बताए । उनकाअनुसार अहिले विभागले मापदण्ड मस्यौदाहरू तयारी प्रक्रिया अन्तर्गत विषयमा टास्क फोर्स तथा प्राविधिक उपसमितिमा विज्ञसहित छलफल भईरहेको छ ।

‘विभागले यसअघि पनि विभिन्न खाद्य पदार्थको मापदण्ड तोक्दै आएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘आगामी दिनमा खाद्य ऐन अनुरुप १६ वटा खाद्य वस्तुमा मापदण्ड तोक्ने तयारी गरेको हो ।’

विभागले आइक्रिम, फ्रोजन डेजर्ट, खुवा÷कुराउनी, छुर्पी, डरी ह्वाइटनर, कनए स्टार्च, माल्टेक मिल्क फुड, माल्ट बेस्ड मिल्क फुड, पास्ता, सोयासस्, सोयाबडी, ओट्स, पिनट बटर, कोका बटर, मार्गरिन र विभिन्न फलफूल तथा तरकारीहरूमा जीवनाषक विषादीको अवशेषको मापदण्ड तोक्नेबारे छलपल गरिरहेको जनाएको छ ।

सरकारले हालसम्ममा १ सय ३५ वटा विभिन्न खाद्य पदार्थहरूको अनिवार्य गुणस्तर मापदण्ड निर्धारण गरी राजपत्रमा प्रकाशित गरिसकेको छ ।

विभागले राष्ट्रिय खाद्य खाना रिफरेन्स प्रयोगशालालाई रासायनिक जीवनाश विषादीको अवशेष, माइकोटक्सिन, हेभि मेटल तथा सुक्ष्मजैविक विषय गरी विभिन्न २६ खाद्य पदार्थहरूका १०१ प्यारामिटरमा नयाँ संस्करणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने गरी प्रयोगशाला प्रत्यायन सन् २०२२ जनवरीसम्म नवीकरण भई अद्यावधिक गर्ने कार्य भएको जनाएको छ ।

उक्त खाद्य पदार्थको निर्यातमा सहजीकरणमा लागि विभागअन्तर्गत राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाबाट ११८ वटा थप प्यारामिटरहरूमा एक्रेडिटेशनको क्षेत्र विस्तारका लागि निवेदन दिने कार्य सम्पन्न गरी एक्रेडिटेशन प्रदायक संस्था एनएबीएल, भारतबाट प्रमाणीकरणका लागि तयारी भइरहेको प्रवक्ता महर्जनले बताए ।


क्लिकमान्डु