भैंसेपाटीमा बन्दै गरेको २७ वटा संघीय मन्त्रीनिवासको काम बैशाखमा सक्ने तयारी



काठमाडौं । ललितपुरको सैंबु भैंसेपाटीमा संघीय मन्त्रीहरूको निवास, राष्ट्रिय सभाअध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि सभा उप–सभामुख निवास गरी २७ वटा ब्लक निर्माण भइरहेको छ । सरकारले २ वर्षमा कार्यसम्पन्न गर्ने गरी सम्झौता भएको निवासको हालसम्ममा २७ वटा ब्लकको तेस्रो तल्लाको ढलान कार्य सम्पन्न भएको छ ।

सरकारले मन्त्री आवास निर्माणको लागि २०७६ कार्तिक २७ गते स्रिको हनुमान जेभीसँग सम्झौता गरेको थियो । उक्त सम्झौतामा आयोजनाको निर्माण अवधि २ वर्षको अवधि तोकेको थियो । सम्झौता २ वर्ष तोकिए पनि कोरोनाका कारण ६ महिना म्याद थप भएको छ ।

सरकारले कोरोनाले निर्माण कार्यमा निकै प्रभाव परेकाले ६ महिना म्याद थपि गरिएको थियो । उक्त म्याद थप भएपनि मन्त्री, राष्ट्रिय अध्यक्ष, उपाध्यक्ष तथा उपसभामुख निवासको कार्य निकै सुस्त देखिएको छ ।

सरकारको सम्झौता भए बमोजिम उक्त आयोजनाको कार्य गत कार्तिकमै सम्पन्न गर्नुपर्ने हो । तर, कोरोनाले निकै असर परेकाले सरुकारले ६ महिना म्याद थप गरेको छ । जसमा निर्माणको जिम्मा पाएको स्रिको हनुमान जेभीले आगामी वैशाखसम्ममा कार्य सम्पन्न गर्नुपर्नेछ ।

म्याद थप भएकाले सोही अवधिमा कार्य सम्पन्न गर्नुपर्ने सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका सुचना अधिकारी देवेन्द्र देव खनालले बताए । उनकाअनुसार कार्यालयले उक्त कार्यको पुनरावलोकन गरी समयमै सकाउने गरी जनशक्ति बढाउन आग्रह गरेको छ ।

मन्त्री निवास निर्माणको लागि २ वर्षअघि ९६ रोपनी १० आना जग्गामा जेभीसँग १ अर्ब ३ करोड ४६ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

हालसम्ममा उक्त संरचनाको समष्टिगत ६६ प्रतिशत कार्य सम्पन्न भएको छ । सरकारले सो क्षेत्रमा २४ वटा संघीय मन्त्री निवास, राष्ट्रिय सभाको अध्यक्षको निवास, राष्ट्रिय सभाको उपाध्यक्षको निवास र उपसभामुखको निवास गरी २७ वटा ब्लक निर्माण गर्दैछ ।

दुई चरणमा निर्माण हुने आवासको पहिलो चरणमा २७ वटा भवन, कम्पाउण्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण गरिरहेका छन् भने दोस्रो चरणमा हरियाली, सुरक्षा, कम्युनिटी हल बनाइनेछ ।

निर्माण भइरहेको उक्त निवासको कार्य हालसम्ममा तेस्रो तल्लाको ढलान तथा टप स्लोपिङ स्ल्याब ढलान र ईट्टाको कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ ।

विभागका अनुसार आवास क्षेत्रभित्र तीन तहको सुरक्षा व्यवस्था हुनेछ भने सुरक्षाका लागि थप तीन भवन बनाइनेछ । त्यस्तै, कार्यालयको विवरणअनुसार दाची इट्टाको कार्य २७ वटा भवन अर्थात् ब्लकको कार्य सम्पन्न गरेको छ ।

आन्तरिक सडक कार्य अन्तर्गत पानी निकासी प्रणाली (ढल) को कार्य ७२ प्रतिशत, २७ वटै ब्लकको भित्र प्ललास्टरको कार्य सम्पन्न भई बाँकी प्लास्टरको कार्य भइरहेको, भित्री बाउन्ड्री पर्खालको २५ वटा ब्लकको ईट्टाको कार्य र प्लास्टरको कार्य सम्पन्न भएको विभागको भनाइ छ ।

त्यसैगरी, २७ वटै ब्लकको कोर्निसको कार्य, २० वटा ब्लकको पानी फ्रुफिङ कार्य सम्पन्न भई ७ वटा ब्लकमा कार्य भइरहेको, पानी ट्याङकीको कार्य सम्पन्न भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

कार्यालयका तथ्याङकअनुसार हालसम्ममा १० वटा ब्लकको रुफ टायल सम्पन्न गरी २ वटामा कार्य भइरहेको, १३ वटा ब्लकको फल्स सेलिङका कार्य सम्पन्न गरी २ वटा ब्लकको कार्य भईरहेको, बाहिरी पर्खालको अन्गर्गत फुटिङ, टाई–बिम कोलुम र ईट्टाको पर्खाल तथा प्लास्टरको कार्य २५ प्रतिशत सम्पन्न भएको छ ।

साथै, बिल्डिङहरुमा प्लम्बिङ,इलेक्ट्रिकलको कार्य २५ प्रतिशत र २७ वटै ब्लकमा सिंगल कोटको भित्ता पुटिङको कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ ।

यस्तो बन्दैछ मन्त्री निवास

सैंबु भैसिपाटीस्थित सम्झौता बमोजिम परिसरभित्र ९६ रोपनी १० आनामा बन्दै गरेको आवासमा चार वटा आवासको निर्माण हुने भएको छ । जसमा मन्त्रीहरूको निवास प्लिन्थ क्षेत्र २२१.३८ स्क्वाइर मिटर, राष्ट्रिय सभाको अध्यक्षको निवास प्लिन्थ क्षेत्र ३७६.९० स्क्वाइर मिटर, राष्ट्रिय सभाको उपाध्यक्षको निवास प्लिन्थ क्षेत्र २२१.३८ स्क्वाइर मिटर र उपसभामुखको निवास प्लिन्थ क्षेत्र २२१.३८ स्क्वाइर मिटरमा निर्माण भइरहेको छ ।

विभागका अनुसार आवासको लागि छुट्टाइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले मात्रै ओगट्नेछन् भने ३८ रोपनी ८ आना ग्रिन एरियाका लागि छुट्टाइएको छ । त्यस्तै, २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछन् । साथै, ११ रोपनीमा हेल्थ क्लब बन्नेछ भने कम्यूनिटी हलका लागि सात आना छुट्टाइएको छ ।

त्यसैगरी, व्यवस्थापन कार्यलयका लागि तीन आना, साढे दुई रोपनीमा ग्रोसरी स्टोर बन्नेछ । त्यसका साथै, बाँकी रहेको जग्गामा एक सय सवारीसाधन अटाउने पार्किङ बनाइनेछ ।

निर्माण भइरहेको निवासहरूमध्ये मन्त्रीहरूको निवासमा छुट्टै खालको व्यवस्था हुने भएको छ । जसमा भुईतल्ला, पहिलो तल्ला र तेस्रो तल्लामा छुट्टैछुट्टै कोठाको व्यवस्था हुनेछ । जसमा भुईतल्लामा लबी, मिटिङ हल, निजी कोठा, गार्ड कोठा, कर्मचारीका लागि सुत्ने कोठा र भान्साका सामान राख्ने कोठा रहनेछ ।

त्यस्तै पहिलो तल्लामा मन्त्री सुत्ने मुख्य कोठा, बैठक कोठा, बैठक कक्ष, भान्सा र डाइनिङ हल हुनेछ । साथै, दोस्रो तल्लामा भने दुई वटा पाहुना कोठाको व्यवस्था हुनेछ


अरिष्मा मोक्तान