बीमितको हितका लागि बीमा समितिले ‘पोलिसी होल्डर प्रोटेक्सन फण्ड’ बनाउने



काठमाडौँ । बीमा समितिले ‘पोलिसी होल्डर प्रोटेक्सन फण्ड’ बनाउने भएको छ । समितिले जीवन बीमा पोलिसी खरिद गरेका बीमितको हितका लागि भन्दै यस्तो फण्ड बनाउन लागेको हो ।

समितिले यस सम्बन्धमा अध्ययन गर्नका लागि मोडालिटी समेत तयार पारेर अघि बढ्ने भएको छ । उक्त फण्डको अध्ययन गर्नका लागि बीमा समितिले एक अध्ययन टोली समेत तयार पारी मोडालिटी तयार बनाउने भएको छ ।

मोडालिटी तयार पार्नका लागि गरिने अध्ययन टोलिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा समितिका निर्देशकहरु शुसिल देव सुवेदी, पुजन ढुङ्गेल अधिकारी र दिनेश लाल कर्ण छन् ।

यो फण्ड जीवन बीमा पोलिसी धारकका लागि स्थापना गर्न लागिएको समितिले जानकारी दिएको छ ।

जीवन बीमा पोलिसी खरिद गरेका बीमितले बीमा कम्पनी टाट पल्टेको अवश्थामा यस फण्डबाट रकम पाउनेछन् ।

बीमा कम्पनी टाट पल्टियो भने बीमा कम्पनीले तिर्न नसकेको पैसा सो फण्डले दिने बीमा समितिका निर्देशक सुशीलदेव सूवेदीले जानकारी दिए ।

तर, उक्त फण्डमा कहाँ कहाँबाट रकम जम्मा गरिने भन्ने बारेमा छलफल गर्न बाँकी रहेको समितिले बताएको छ ।

समितिका अनुसार कसरी जान सकिने भन्ने मोडलनै बनाउन बाँकी रहेकाले फण्डमा कति रकम जम्मा गरिने र कहाँ कहाँबाट उपलब्ध गरिने निष्कर्ष भइसकेको भने छैन ।

‘भोलिका दिनमा बीमा कम्पनीले पैसा दिन सकेन भने वा टाट पल्टियो भने ती क्लाइनटहरुलाई पैसा दिने फण्ड हो,’सूवेदीले क्लिकमाण्डूसँग भने,‘जसमा कुन कुन स्रोत जम्मा हुन्छ भन्ने मोडालिटी बनाउन बाँकी छ,।’

यद्यपी, उक्त फण्डमा पब्लिकको पैसा भने नजाने उनले बताए । उक्त फण्डमा बीमा कम्पनीमा दावी गर्न नआएको रकम, विभिन्न संघ संस्थाले दिएको रकम जम्मा हुन सक्ने उनको भनाइ छ ।

अध्ययन समितिले अध्ययन प्रतिवेदन बुझाए पछि मोडालिटी तयार पारी फण्डका लागि अरु प्रक्रिया अघि बढाईने समितिले जानकारी दिएको छ ।


क्लिकमान्डु