पुनर्बीमा सम्बन्धी निर्देशन पुनरावलोकन गर्न दुवै बीमक संघको समितिलाई आग्रह



काठमाडौँ । जीवन बीमक संघ र नेपाल बीमक संघले बीमा समितिलाई पुनर्बीमा सम्बन्धी निर्देशन पुनरावलोकलन गर्न आग्रह गरेका छन् । दुवै संघले समितिलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएर यस्तो आग्रह गरेका हुन् ।

बीमा समितिले सबै जीवन तथा निर्जीवन बीमा कम्पनीलाई शतप्रतिशत पुनर्बीमा नेपालकै पुनर्बीमा कम्पनीमा गर्न निर्देशन दिएको थियो । अहिले त्यसको विरुद्धमा बीमा कम्पनीहरु लागेका छन् । समितिले दिएको उक्त निर्देशन फिर्ता लिनुपर्ने भन्दै निर्जीवन बीमक संघ र जीवन बीमक संघका अध्यक्षले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले ज्ञापनपत्रमार्फत समितिले दिएको निर्देशनलाई पुनरावलोकन गर्न अनुरोध गरेको बताए । तर, बीमकले बुझाएको ज्ञापनपत्रका बारेमा छलफल गर्नका लागि भने समितिले समय नतोकेको ती सिइओको भनाई छ ।

बीमाको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मूल्य र मान्यतालाई मध्यनजर गर्दै उक्त निर्देशनलाई संशोधन गर्नुपर्ने माग राखेको उनको भनाई छ । समितिलाई बुझाएको ज्ञापनपत्रमा १६ वटा बुँदा राखिएको उनको भनाइ छ । समितिले दिएको निर्देशनले बीमा क्षेत्रमा ठुलो प्रभाव पार्न सक्ने भन्दै कम्पनीहरुले विरोध गर्दै आएका थिए ।

बीमा बजारमा बीमाको विकास र बजार प्रवद्र्धनका लागि भन्दै स्थापना भएका बीमा कम्पनीका संघले समितिको निर्देशनका विरुद्धमा जाने बताउँदै आएका छन् । सीमित व्यक्ति तथा समूहलाई प्रभाव पार्नका लागि कम्पनीहरुलाई विजनेश बाहिर दिन पाउँदैनौ भनेर निर्देशन दिएको आरोप समितिलाई लाग्दै आएको छ ।

उक्त निर्देशनका बारेमा चौतर्फी रुपमा आलोचना भएपछि बीमा समितिले ध्यानाकर्षण पत्र समेत निकालेको छ । समितिले ध्यानाकर्षणमार्फत आफुले पुनर्बीमा निर्देशिकामा भएको व्यवस्था अनुसार यस्तो निर्देशन दिएको बताउँदै आएको छ ।

यता बीमा विज्ञहरुले सबै जोखिम एउटै देशमा मात्रै राख्दा यो क्षेत्रमा ठुलो जोखिम उत्पन्न हुनसक्ने बताउँदै आएका छन् । समितिले अध्ययन अनुसन्धान नगरी यस्तो कदम चाल्नु नै गलत रहेको विज्ञहरुको भनाइ छ ।


क्लिकमान्डु