निर्जीवन बीमाः शिखरको हिस्सा ११%, शिखर र सगरमाथालाई पछ्याउँदै नेको



काठमाडौं । नेपालमा २० वटा बीमा कम्पनीले निर्जीवन बीमाको व्यवसाय गर्दै आएका छन् । शिखर इन्स्योरेन्स निर्जीवन बीमा व्यवसायमा राम्रो उपस्थिति दिँदै आएको कम्पनी हो ।

२० निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्सलाई बजारमा अब्बल कम्पनीका रुपमा चिनिन्छ । चालु आवको चार महिना अर्थात् कात्तिक मसान्तसम्मको तथ्यांकलाई हेर्दा पनि शिखरले आफ्नो अग्रता कायमै राख्न सफल देखिएको छ ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको चार महिनाको अवधिमा २० निर्जीवन बीमा कम्पनीले कुल १२ अर्ब ५८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुको कुल बीमाशुल्क संकलन रकम २७.३६ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीहरुले ९ अर्ब ८८ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क संकलन गरेका थिए ।

शिखर इन्स्योरेन्सले चालु आवको चार महिनाको अवधिमा कुल निर्जीवन बीमा व्यवसायमा ११ प्रतिशत हिस्सा ओगट्न सफल रहेको छ । गत आवको यसै अवधिमा कम्पनीले कुल निर्जीवन बीमा व्यवसायको ११.३४ प्रतिशत हिस्सा ओगटेको थियो ।

गत आवको यसै अवधिको तुलनामा शिखरको बजार हिस्सा ०.३३ प्रतिशत विन्दुले घटेको हो । चालु आवको चार महिनामा शिखर इन्स्योरेन्सले १ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले एक अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

गत आवको तुलनमा शिखर इन्स्योरेन्सले कुल बीमाशुल्क संकलन रकमलाई २३.६२ प्रतिशतले बढाएको हो ।

समितिले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको चार महिनाको अवधिसम्ममा शिखर पछि सगरमाथा इन्स्योरेन्स र नेको इन्स्योरेन्सले एक अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गर्न सफल देखिएका छन् ।

शिखरपछि सगरमाथा इन्स्योरेन्सले अन्य कम्पनीको तुलनामा बढी बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आवको यसै अवधिको तुलनामा कुल बीमाशुल्क संकलन रकमलाई ९.५५ प्रतिशतले बढाएर एक अर्ब २० करोड रुपैयाँ पुर्याएको छ ।

गत आवको चार महिनामा कम्पनीले ९३ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क संकलन गरेको थियो ।

निर्जीवन बीमा कम्पनीले संकलन गरेको कुल बीमाशुल्कमा सगरमाथा इन्स्योरेन्सको हिस्सा ९.५५ प्रतिशत हुन आउँछ । गत आवको यसै अवधिमा सगरमाथाले कुल बीमा व्यवसायको ९.४१ प्रतिशत हिस्सा ओगटेको थियो ।

नेको इन्स्योरेन्सले बीमाशुल्क संकलन आर्जनमा शिखर र सगरमाथा इन्स्योरेन्सलाई पछ्याउँदै आएको छ । नेकोले चालु आवको चार महिनाको अवधिमा एक अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिको तुलनमा कम्पनीले व्यवसायलाई १६.०२ प्रतिशतले बढाएको हो ।

गत आवको यसै अवधिमा कम्पनीले ९१ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।

हिमालयनको व्यवसाय ८४ प्रतिशतले बढ्यो
बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको चार महिनाको अवधिमा सबै निर्जीवन बीमा कम्पनीले आफ्नो व्यवसाय बढाउन सफल देखिएका छन् ।

यस अवधिमा सबैभन्दा धेरै प्रतिशतले व्यवसाय वृद्धि गर्ने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स परेको छ ।

हिमालयनले यस अवधिमा सबैभन्दा धेरै ८४.०६ प्रतिशतले बीमाशुल्क बढाउदै ५८ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको यहि अवधिमा हिमालयनले ३२ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।

हिमालयन पछि सानिमा जनरल इन्स्योरेन्सले ५९.९३ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको ५८.८१ प्रतिशतले बीमाशुल्क रकम बढाएका छन् ।

लुम्बिनीको २ प्रतिशतले मात्रै बढ्यो
यस अवधिमा सबैभन्दा कम बीमाशुल्क बढाउनेमा लुम्बिनी जनरल इन्स्योरेन्स रहेको छ ।

लुम्बिनीको बीमाशुल्क २.३२ प्रतिशतले बढेर ४७ करोड ६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ४६ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।

सानिमा जनरलको सबैभन्दा कम बीमाशुल्क संकलन
चालु आवको चार महिनको अवधिमा सबैभन्दा कम बीमाशुल्क संकलन गर्ने कम्पनीमा सानिमा जनरल इन्स्योरेन्स परेको छ ।

कम्पनीले यस अवधिमा २८ करोड ७८ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आवको यसै अवधिमा १८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।


क्लिकमान्डु