पुनर्बीमा कमिसनमार्फत् ६ वर्षमा बीमा कम्पनीले प्राप्त गरे १४ अर्ब



काठमाडौं । बीमा कम्पनीहरुले ५ वर्षमा पुनर्बीमा कमिशनमार्फत् १४ अर्ब रुपैयाँ प्राप्त गरेका छन् । ६ वर्षको अवधिमा नेपालमा बीमाको व्ययसाय गर्दै आएका बीमा कम्पनीहरुले पुनर्बीमा कमिसनमार्फत् सो रकम प्राप्त गरेका हुन् ।

कम्पनीहरुले विगत ६ वर्षको अवधिमा पुनर्बीमा कमिसनबाट १४ अर्ब ७७ करोड ५७ लाख ९ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सो अवधिमा पुनर्बीमा कमिसनवापत निर्जीवन बीमा कम्पनीले १३ अर्ब ७६ करोड, ८८ लाख रुपैयाँ र जीवन बीमा कम्पनीले १ अर्ब ६८ लाख रुपैयाँ रकम प्राप्त गरेका हुन् ।

बीमा कम्पनीहरूले आफ्नो नेटवर्थको ५ प्रतिशत मात्रै जोखिम धारण गर्न पाउने बीमा समितिको व्यवस्था छ  ।

सोही व्यवस्थाअनुसार कम्पनीहरुले बाँकी जोखिम पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्छन् । बीमा कम्पनीबाट प्राप्त भएको जोखिमलाई पुनर्बीमा कम्पनीले पनि सीमित जोखिम धारण गरी बाँकी रहेको जोखिम अर्को पुनर्बीमा कम्पनीलाई दिने गर्छन् । पुनर्बीमाको पनि पुनर्बीमा गर्ने प्रक्रियालाई रेट्रोसेसन भनिन्छ ।

पुनर्बीमा गरेबापत पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरुलाई पुनर्बीमा कमिसन समेत प्रदान गर्ने व्यवस्था छ । जुन व्यवस्था अन्तर्राष्ट्रिय अभ्यासनै हो ।

पुनर्बीमा गरेवापत पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरुलाई जोखिमको प्रकृति हेरेर कमिशन दिने गर्दछन् ।

जोखिमअनुसार नेपालका बीमा कम्पनीलाई विदेशी पुनर्बीमा कम्पनीहरुले अधिकतम ३० प्रतिशतसम्म कमिसन दिने गरेका छन् । तर, नेपाली पुनर्बीमा कम्पनीले दिने कमिसन भने विदेशीको तुलनामा कम हुने कम्पनीहरुको तर्क छ ।

पुनर्बीमा कम्पनीहरुले बीमा कम्पनीहरुलाई कमिसन दिँदा जोखिम कम भएको अवस्थामा धेरै कमिसन दिने गर्दछन् । भने धेरै जोखिम भएमा थोरै कमिसन । जोखिम कम भएमा ३० प्रतिशत, जोखिम मध्यम भएमा २० र जोखिम अधिक भएमा १५ प्रतिशत कमिसन प्राप्त गर्दै आएका छन् ।

कुन वर्षमा कति ?
विगत ६ वर्षको अवधिमा नेपालबाट पुनर्बीमामार्फत् नेपालबाट ७२ अर्ब बढी रुपैयाँ बाहिरिदा १४ अर्ब रुपैयाँ प्राप्त गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको ६ वर्षको तथ्यांकअनुसार नेपालका बीमा कम्पनीहरुले पुनर्बीमा कमिसनवापत सो रकम लिएका हुन् ।

सो अवधिमा पुनर्बीमा कमिसनवापत जीवन बीमा कम्पनीहरुले एक अर्ब ६८ लाख ७३ हजार रुपैयाँ प्राप्त गरेका छन् भने सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले करिब १४ अर्ब रुपैयाँ रकम पाएका छन् ।

आर्थिक वर्ष २०७१/७२ मा सात जीवन बीमा कम्पनीले पुनर्बीमा कमिशनवापत १८ करोड ३३ लाख रुपैयाँ लिएका छन् । आव २०७२/७३ मा त्यस्तो रकम घटेर १६ करोड ५३ लाख रुपैयाँमा झरेको समितिको तथ्यांक छ ।

आव २०७३/७४ मा ५ जीवन बीमा कम्पनीले पुनर्बीमा कमिसनवपात ११ करोड ८३ लाख रुपैयाँ, आव २०७४/७५ मा ११ करोड ७१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै, आव २०७६/७७ मा जीवन बीमा कम्पनीले पुनर्बीमा कमिशनवापत २७ करोड २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब ७६ करोड रुपैयाँ रकम प्राप्त गरेका छन् ।

६ वर्षको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले जीवन बीमा कम्पनीको तुलनामा धेरै रकम प्राप्त गरेका छन् ।


क्लिकमान्डु