नेपाल लाइफका बोर्ड सदस्यले लिए करिब १ करोड, कमलेश अग्रवालले बुझे २८ लाख



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सञ्चालक समितिको बैठकमा एक वर्षमा करिब १ करोड खर्च गरेको भेटिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बुझ्ने तलब भत्ताको हाराहारीमा नेपाल लाइफका सञ्चालकले बैठक भत्ता बुझेको भेटिएको हो ।

गभर्नर अधिकारीको ३२ लाख तलब भत्ता छ । अझ बीमाको नियमनकारी निकाय बीमा समितिको अध्यक्षभन्दा नेपाल लाइफका सञ्चालकले बुझलेको भत्ता बढी रहेको छ ।

क्लिकमाण्डूलाई प्राप्त विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ मा सञ्चालक समितिको बैठकको लागि ८४ लाख ३६ हजार रुपैयाँ खर्च गरेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत कम्पनीमा सञ्चालक समितिको बैठकमा सबैभन्दा बढी खर्च गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स भएको छ ।

गत आर्थिक वर्षमा नेपाल लाइफका सञ्चालकमा सबैभन्दा बढी भत्ता स्वतन्त्र सञ्चालक रहेका कमलेश अग्रवालले लिएका छन् । गतवर्ष कमलेश अग्रवालले २८ लाख ९० हजार रुपैयाँ बुझेका छन् ।

स्वतन्त्र सञ्चालक अग्रवालको नाममा सेयर नभएको नेपाल लाइफको वार्षिक प्रतिवेदनमा उल्लेख छ । अग्रवाल पछिल्लो ४ वर्षदेखि नेपाल लाइफमा सञ्चालक रहेका छन् । अग्रवालले नेपाल लाइफमा कार्यरत बरिष्ठ कर्मचारीभन्दा बढी भत्ता बुझेका हुन् ।

यस्तै दोस्रोमा सबैभन्दा बढी भत्ता बुझ्नेमा बिमलप्रसाद ढकाल छन् । ढकालले १५ लाख २० हजार भत्ता बुझेका छन् । तेस्रोमा रामअवतार अग्रवालले १२। लाख ३ हजार भत्ता बुझेका छन् । सञ्चालक पारुल ढकालले ८ लाख ११ हजार,विवेक अग्रवालले ६ लाख ५१ हजार तथा सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघाईले ५ लाख २४ हजार भत्ता बुझेका छन् ।

सञ्चालक कृष्णराज लामिछानेले ४ लाख ४२ हजार भत्ता बुझेका छन् । प्रकाश मुन्दराले ३ लाख ९५ हजार भत्ता बुझेका छन् । मुन्दरा अहिले नेपाल लाइफमा सञ्चालक पदमा छैनन् ।

कम्पनीको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन अनुसार ६४ लाख ७० हजार सञ्चालकको भत्तामा खर्च भएको थियो । २ वर्षमा सञ्चालकको भत्ता २० लाखले बढाएको हो ।

आर्थिक वर्षमा २०७५/७६ मा नेपाल लाइफले प्रमुख कार्यकारी अधिकृतलाई १ करोड ८५ लाख तलब भत्ता दिएको छ । सो वर्ष कम्पनीमा विवेक झा सीइओको भूमिकामा थिए ।

आर्थिक वर्ष २०७४/७५ मा ३२ लाख ८३ हजार नेपाल लाइफले सञ्चालकको भत्ताको लागि खर्च गरेको छ ।

२०७३/७४ मा समिक्षा वर्षमा संचालकहरुलाई बैठक भत्ता वापत २४ लाख ३ हजार खर्च गरेको छ ।

गतवर्ष १३८ पटकसम्म बैठक
अन्य सूचिकृत कम्पनीको तुलनामा नेपाल लाइफमा गतवर्ष १३८ पटकसम्म बैठक भएको छ । जबकी गतवर्ष तीन निषेधाज्ञा थियो । २८ लाख भत्ता लिएका कमलेश अग्रवालले १३८ पटकसम्म सञ्चालक समितिको बैठकमा भाग लिएको देखिन्छ ।

नेपाल लाइफले सञ्चालक समितिलाई बैठक भत्ता बाहेक मासिक भत्ता समेत दिएको छ । जसमा लामिछानेले ६० हजार र प्रकाश मुन्दडाले १ लाख २० हजार बुझेका छन् । अरु सञ्चालकले १ लाख ८० हजार रुपैयाँसम्म भत्ता बुझेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सबाट गत महिना प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सञ्चालक समितिसँग असहमतिपछि राजीनामा दिएका छन् । अहिले नेपाल लाइफ कामू सीइओको भरमा चलेको छ ।


क्लिकमान्डु