जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा ५६ प्रतिशत



काठमाडौं । जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा अन्य बीमाको तुलनामा बढी देखिएको छ ।

बीमालेख बिक्रिको आधारमा सामान्य म्यादी बीमालेखको हिस्सा बढी भएपनि व्यसायमा भने सावधिक बीमाको हिस्सा बढी देखिएको हो ।

बीमा समितिले उपलब्ध गराएको चालु आवको पहिलो त्रैमासको तथ्यांकअनुसार यस अवधिमा कम्पनीहरुले कुल १७ लाख ६३ हजार ६१४ बीमालेख बिक्री गरेका छन् । सो बीमालेख जारी गरी कम्पनीहरुले कुल ३७ अर्ब ३३ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
३७ अर्ब ३३ करोड ७८ लाख रुपैयाँको कुल जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा ५५.७९ प्रतिशत रहेको छ ।

यस अवधिमा कम्पनीहरुले सावधिक जीवन बीमाका एक लाख ५२ हजार ६३८ वटा बीमालेख जारी गरेका छन् । सो बराबरको बीमालेख जारी गरी कम्पनीहरुले २० अर्ब ८२ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले जीवन बीमाका विभिन्न खाले योजनाहरु बिक्रि गर्दै आएका छन् । कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी, रुपान्तरित सावधिक जीवन बीमा, सामान्य म्यादी बीमा, आजीवन बीमा, विशेष म्यादी जीवन बीमा, लघु जीवन बीमा र अन्य जीवन बीमा बेच्दै आएका छन् ।

यी बीमा योजनाहरुमध्ये कम्पनीहरुमा लोकप्रिय बीमा योजना सामान्य म्यादी बीमा छ । तर, पनि कुल जीवन बीमा व्यवसायमा भने यसको हिस्सा निकै कम देखिन्छ । कुल जीवन बीमा व्यवसायमा यस बीमाको हिस्सा २.९९ प्रतिशत मात्रै हुन आउँछ ।

कुल बीमालेखमा सामान्य म्यादी बीमालेखको हिस्सा ७८ प्रतिशत
समितिको तथ्यांकअनुसार यस अवधिमा सामान्य म्यादी बीमालेख धेरै बिक्रि भएका छन् । जीवन बीमा कम्पनीमा जारी भएका कुल बीमालेखमा यस बीमाको हिस्सा ७८.०९ प्रतिशत हुन आउँछ ।

१३ लाख ७७ हजार १५८ वटा सामान्य म्यादी बीमालेख हुँदा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँ मात्रै कुल बीमाशुल्क संकलन भएको छ ।
यस बीमा योजना थोरै प्रिमियममा नै खरिद गर्न सकिने भएका कारणले कम्पनीहरुको कुल बीमा व्यवसयमा हिस्सा कम देखिएको हो ।
के हो सावधिक जीवन बीमा योजना ?
यो जीवन बीमा सामान्यतया ५ वर्षको अवधिका लागि गरिन्छ । तोकिएको अवधिसम्म किस्ताबन्दि रुपमा बीमाशुल्क तिर्ने र सो अवधिपछि यदि बीमित जीवितै छ भने उसैलाई र जीवित नरहेको अवस्थामा हकवालालाई बींमाक रकम र आर्जित बोनस स्वरुप प्रदान गरिने बीमालाई सावधिक जीवन बीमा भनिन्छ ।


क्लिकमान्डु