३ अर्ब लगानीमा कृषि तथा वन विद्यालय बन्ने, यस्ता हुनेछन् सुविधा



काठमाडौं । काठमाडौं विश्वविद्यालयले काभ्रेको पाँचखालमा कृषि र वन विद्यालय निर्माण गर्ने भएको छ ।

विश्वविद्यालयले ५ रोपनी क्षेत्रफलमा पाँचखल नगरपालिकाको वडा नम्बर २ मा सो विद्यालय बनाउने भएको हो ।

काठमाडौं विश्वविद्यालयले कला, शिक्षा, इन्जिनियरिङ, कानुन, व्यवस्थापन, चिकित्सा, विज्ञानसँगै नयाँ कृषि तथा वन विषयमा विद्यालय स्थापना गर्ने योजना बनाएको हो ।

जसमा विश्वविद्यालयले प्रस्तावित आयोजना पाँचखल नगरपालिकामा रहेको २५.४४ हेक्टर सामूदायिक वन क्षेत्रमा निर्माण गर्ने भएको छ ।

कृषि र वन क्षेत्रमा उत्कृष्ट शिक्षा, अनुसन्धान र प्रविधि प्रसारमा बढावा दिने उद्देश्यसहित निर्माण गर्न लागेको विश्वविद्यालयले जनाएको छ ।साथै,

प्राविधिक रुपले सक्षम कृषि र वनको स्नातकको विद्यार्थीलाई कृषि र वन क्षेत्रमा प्राविधिक, बिस्तार, शिक्षा, कृषि व्यवसाय, कृषि र ग्रामीण विकास कार्यक्रममा ज्ञान र सीपहरू लागू गर्नका लागि विश्वविद्यालयले टेवा पुर्याउने विश्वास लिएको छ ।

विश्वविद्यालयले उक्त क्षेत्रमा ३ अर्ब १३ करोड ९६ लाख ६४ हजारमा बनाउने भएको छ । जसमा विश्वविद्यालयले कृषि तथा वन क्षेत्रमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई आवश्यक सम्पूर्ण सुविधाको व्यवस्था गर्नेछ ।

विश्वविद्यालयका अनुसार सो क्षेत्रफलमा ६ वटा भवन निर्माण गर्नेछ । जसमा भुईं क्षेत्रको अनुपातमा प्रशासन र सङ्कायको २.५, कक्षाको ३, प्रयोगशाला र पुस्तकालय २, सङ्काय निवास ३, विद्यार्थी निवास ३ वटा र सेटब्याक १.५ मा निर्माण हुनेछ ।

विश्वविद्यालयले शैक्षिक क्षेत्रमा निर्माण हुने विभिन्न भवनको छुट्टाछुट्टै क्षेत्रफल तोकेको छ । विश्वविद्यालयका अनुसार पाँचखलमा निर्माण हुने विद्यालयको कक्षा कोठा र प्रयोगशाला ४२१.६९ वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ ।

त्यस्तै, समाकक्ष ७४७.४५ वर्गमिटर, पुस्तकालय ४६०.५८ वर्गमिटर, संकाय निवास ११९.४० वर्गमिटर, पाहुना निवास ६५.३२ वर्गमिटर, विद्यार्थी निवास २१५.२२ वर्गमिटर, खेलकुद क्षेत्र ५९ हजार ३६.४८ वर्गमिटर, वन तथा हरियाली क्षेत्र १ लाख ४९ हजार १९७.०३ वर्गमिटर, कुल निर्माण क्षेत्र १७५० वर्गमिटर र भवन ग्राउन्ड कभरेज ३५९४.८५ वर्गमिटरमा निर्माण हुनेछ । त्यसमा ग्राउन्ड कभरेज ६.८८ प्रतिशत र खुल्ला ठाउँको ९३.१२ प्रतिशत रहेको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले प्रशासन भवन र संकाय भवनको उचाइ १० मिटर, कक्षा कोठा, प्रयोगशाला र पुस्तकालय र संकाय निवासको ९.३९ र विद्यार्थी निवास १२.७९ उचाइको निर्माण गर्नेछ ।

साथै, प्रशासन भवन, प्रशासन, संकाय, कक्षा, प्रयोगशाला र पुस्तकालय २ तल्लाको र संकाय निवास र विद्यार्थी निवास ३ तल्लाको निर्माण गर्नेछ ।

सो विश्वविद्यालयमा २ सय ४० जना स्नातक, ६० स्नातकोत्तर, १० विद्यावारिधि गरी ३ सय १० जनाको विद्यार्थी भर्ना क्षमता रहेको छ । साथै, शिक्षक संख्या २५ र अन्य कर्मचारी १५ गरी ३५० जना कुल संख्या समावेश हुनेछ ।

उक्त आयोजना ४ वर्षमा समापन हुने अवधि तोकेको छ भने ३० महिनामा निर्माण गरिसक्ने विश्वविद्यालयको दाबी छ ।

यस्ता हुनेछन् सुविधा ?
विश्वविद्यालयले कृषि तथा वन अध्ययन गर्ने विद्यार्थीहरूका लागि विभिन्न सेवा सुविधाको व्यवस्था गरेको छ । त्यसमा शैक्षिक विभागमा कक्षहरु र प्रयोगशाला निर्माण गर्नेछन् ।

त्यसैगरी, सभागृह, पस्तकालय र चमेना गृह, छात्रावास, शिक्षक तथा अन्य कर्मचारीहरुको लागि निवास, कृषि तथा प्राविधिक क्षेत्र, वन अनुसन्धान तथा संरक्षण क्षेत्र, जैविक अनुसन्धान क्षेत्र, फोहोर पानी प्रशोधन क्षेत्र, जेनेरेटर, पार्किङ र पानी भण्डारा लागि भूमिगत तथा ओभरहेड ट्याङ्कीको व्यवस्था हुनेछ ।

आयोजना परिसरभित्र पार्किङमा ५० वटा कारहरु र १ सय वटा दुई पाङ्ग्रे साधन अट्नेछ । साथै, व्यायाम भवन, टेबल टेनिस, ब्याडमिन्टन कोर्ट, फुटबल मैदान, बास्केटबल कोर्ट र पौडी पोखरीको सुविधा हुनेछ ।


क्लिकमान्डु