कोभिडपछि थपिए दर्जन इन्टरनेट सेवाप्रदायक, ४८ मध्ये ६ कम्पनीका ग्राहक ८४ प्रतिशत



काठमाडौं । लकडाउनले इन्टरनेटमा आधारित व्यवसायमा बढेसँगै इन्टरनेट सेवा प्रदायक थपिने क्रम पनि बढेको छ । सेवा प्रदानका लागि आवेदन दिएकाले पनि अनुमतिपत्र पाउन थालेका छन् ।

असोज महिनामा मात्रै ४ कम्पनीले आफ्नो सेवा शुरु गरेका छन् । पछिल्लो महिना शुरु भएका इन्टरनेट कम्पनीमा अलिशा लिंक, स्याङजा मिडिया, एभरेष्ट लिंक कम्पनी र वर्ल्ड फाइबर नेट रहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण असोज महिनाको रिपोर्टअनुसार यी चार कम्पनीसहित इन्टरनेट सेवा प्रदायकको संख्या ४८ पुगेको छ ।

संचालनमा आएका यी कम्पनीले ग्राहक तान्न तीव्र प्रतिस्पर्धा गरे पनि काठमाडौंमा रहेका केही सेवा प्रदायकमात्र अगाडि देखिएका छन् । ४८ वटा कम्पनीले हालसम्म १८ लाख ग्राहक बनाएका छन् । त्यसमध्ये अधिकांश ग्राहक काठमाडौंका ६ वटा कम्पनीमा सीमित छन् । ६ वटा कम्पनीले कुल ८३.८८ प्रतिशत ग्राहक ओगट्छन् ।

सबैभन्दा धेरै ग्राहक वर्ल्डलिंकका छन् । असोज महिनासम्म उसका ग्राहक ५ लाख ४२ हजार पुगेका छन् । त्यस्तै, नेपाल टेलिकमका ३ लाख ९ हजार, सुविसुका २ लाख ३७ हजार, क्लासिक टेकका १ लाख ८१ हजार र भायनेटका १ लाख ६३ हजार ग्राहक छन् ।

त्यस्तै, धेरै ग्राहक बनाउने कम्पनीहरुमा चितवनको टेकमाइन्डस्का ७० हजार, वेभ सफर ७४ हजार, ब्रोडलिंक नेटवर्क ४६ हजार, डिसहोम नेटवर्क ३४ हजार छन् ।

अन्य कम्पनीका ग्राहक भने निकै कम छन् । कतिपय कम्पनीका ग्राहक एक हजारभन्दा कम छन् । त्यस्ता कम्पनीमा बिग मर्याङदी नेट, अर्थलिंक कम्युनिकेसन इन्टरप्राइजेज, सस्टेनेवल नेटवर्क, गण्डकी कम्युनिकेसन, टेलनेट इन्टरनेट, एलएनटी इन्फोटेक, हिमालयन अनलाइन सर्भिस्लगायतका कम्पनी छन् ।

प्राधिकरणमा अनुमति लिएका ठूलो संख्याका कम्पनीले भने अझै सेवा सञ्चालन गरेका छैन । प्राधिकरको रिपोर्टअनुसार अहिलेसम्म अनुमतिपत्र लिनेको संख्या १३३ पुगेको छ । २३ वर्षको अवधिमा प्राधिकरणबाट इन्टरनेट सेवा संचालन गर्न उक्त कम्पनीले अनुमतिपत्र लिएका हुन् ।

यसअनुसार अझै ८५ वटा कम्पनीले सेवा सञ्चालन गरेका छैनन् । पछिल्लो पाँच महिनामा मात्रै ६ वटा इन्टरनेट सेवा प्रदायकले अनुमतिपत्र लिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो विवरणअनुसार यसको वर्षको असारदेखि कात्तिकसम्म ६ वटा नयाँ कम्पनीले इन्टरनेट सेवा प्रदायकका लागि अनुमति लिएका छन् ।

यस वर्ष नयाँ अनुमतिपत्र लिनेमा खप्तड नेट, वीफ्ट नेटवर्क एण्ड कम्युनिकेसन, डिजी लिंक नेटवक, युनाइटेड नेटवर्कस, इनोभेसन कम्युनिकेसन सिस्टम र आइटेल नेटवर्क रहेका छन् ।

खप्डट नेट अछाम, साँफेबगर, डिजी लिंक नेटवर्क, तनहुँ र युनाइटेड नेटवर्क, बर्दिबास, महोत्तरीका छन् भने बाँकी तीनवटा काठमाडौंमा इन्टरनेट बिस्तारका लागि अनुमतिपत्र लिएका हुन् ।

यसै वर्ष थपिएका यी ६ कम्पनीसहित मुलुकमा इन्टरनेट सेवा प्रदायकको संख्या १३३ पुगेको छ । प्राधिकरणमा अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पनि ठूलो छ ।

नेपालमा इन्टरनेट सेवा प्रदान गर्न भन्दै मर्कनटाइल कम्युनिकेसनले २०५५ चैतमा पहिलो अनुमतिपत्र प्राप्त गरेको थियो । त्यसलगत्तै वल्र्डलिंक कम्युनिकेसनल अनुमति लिएको थियो ।

लकडाउनपछि थपिए १२ कम्पनी
हाल नेपालमा ४८ वटा इन्टरनेट सेवाप्रदायक कम्पनीले अनुमति प्राप्त गरेका छन् । जसमध्ये १२ वटा कम्पनीले लकडाउनपछि अनुमति प्राप्त गरेका हुन् ।

लकडाउनपछि अनुमति पाउने इन्टरनेट सेवा प्रदायकहरुमा सारथी कम्युनिकेसन नेटवर्क, डिसहोम नेटवर्क, फाइवरवर्ल्ड कम्युनिकेसन, नेपाललिंक क्युनिकेसन, इ-लिंक नेट, एयरसन इन्टरनेट, खप्तड नेट, स्विफ्ट नेटवर्क एण्ड कम्युनिकेसन, डीजी लिंक नेटवर्क, युनिट नेटवर्क, इनोभेसन कम्युनिकेसन र आइटेल नेटवर्क छन् ।


क्लिकमान्डु