अर्थतन्त्रको गुणात्मक वृद्धि निजी क्षेत्रबाट मात्रै सम्भव छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका लागि निजी क्षेत्र तथा सरकारलगायत सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै सम्भव भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यसका लागि विदेशी विकास साझेदारहरुको सहयोग पनि उत्तिकै रहेको बताए ।

उनले कोरोनाको दुस्प्रभावबाट अर्थतन्त्र निकै गहिरो प्रभावमा परेको भन्दै पछिल्लो २ वर्षमा मुलुकको अर्थतन्त्रले निकै अप्ठ्यारो परिस्थितीको सामाना गर्नु परेको बताए ।

‘आर्थिक वृद्धि न्यून भयो, तर आगामी दिनहरु सधै कमजोर हुने छैनन्, सधै अप्ठ्यारा हुने छैनन्,’ उनले भने, ‘अहिले हामी थोरै अँध्यारोमा भए पनि उज्यालोले हामीलाई पर्खिरहेको छ ।’

मुलुकमा लगानीको वातावरण अझै सहज बनाउनर व्यवसायको लागत घटाउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने पनि उनले प्रतिबद्धता जनाए । त्यसका लागि मुलुकमा बृहत रुपको दोस्रो चरणको आर्थिक सुधारको आवश्यक भएको बताए ।

उनले मुलुकमा आर्थिक सुधार गरिएका केही वर्षसम्म उत्साहपूर्ण रुपमा निजी लगानी वृद्धि भएको भन्दै उद्योग, बैंक तथा वित्तीय संस्थाहरु, वायुसेवा कम्पनी, जलविद्युतमात्रै नभइ स्कुल, कलेज, विश्वविद्यालय तथा अस्पतालमा समेत निजी क्षेत्रले उदाहरणीय काम गरेको बताए ।

त्यस्तै, सडक, विद्युत् खानेपानीलगायत पूर्वाधार विकास पनि उल्लेखनीय रुपमा भएको उनको भनाइ छ ।

मुलुकको आर्थिक विकासमा प्रवर्द्धन गर्न तथा व्यवसायकोसहज वातावरण बनाउन विषयगत सीप र दक्षता भएका व्यावसायिक आर्थिक पत्रकारहरुको निकै महत्वपूर्ण योगदान रहने उनले बताए ।

उनले लामो समयदेखि गरिब मुलुक बनेर बस्नुपर्दाको लघुताभासबाट मुक्ति पाउन पक्कै पपिन स्तरोन्नतीको निर्णय महत्वपूर्ण भएको बताए ।

‘यो एक कक्षबाट अर्को कक्षामा उक्लेजस्तै हो । पहिलो सिँढीबाट दोस्रो सिँढी चढे जस्तै हो । आर्थिक विकासको हाम्रो लक्ष्य प्राप्त गर्न अझै धेरै कक्षा पास गर्नुपर्नेछ । अरु धेरै सिँढी उक्लनुपर्ने छ,’ उनले भने ।

उनले आगामी ५ वर्षमा हामीले विकासशीलमा जाँदा तयारीको अवधि पाएके भन्दै यसलाई अधिक प्रयोग गरी आगामी १० वर्षभित्र मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नती हुने १५औं योजनाको दीर्घकालीन लक्ष्यपूर्तीमा केन्द्रित हुनुपर्ने बताए ।

त्यस्तै, विसं २१०० भित्रमा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने दीर्घकालीन सोच पनि मुलुकले बनाएको बताए ।

निजी क्षेत्र र अन्य सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै त्यो सम्भव छ । हामीले अघि बढाएको खुला बजारमुखी अर्थनीतिका कारण हासिल भएका उपलब्धि र यसमा देखिएका कमीकमजोरीको विश्लेषण गरेर समृद्धिको अगाडिको बाटो तय गर्नु हाम्रो प्राथमिकता हो ।

पहिलो चरणको सुधारले नेपाललाई समृद्ध बनाउने बाटो देखाएको छ । दोस्रो चरणको सुधारले अर्थतन्त्रमा ठूलो बदलाव ल्याउनेछ । यसका लागि आवश्यक नीति, कानुन, रणनीति, योजना तथा संरचनाहरू निर्माणका लागि आवश्यक पूर्वाधारहरू निर्माण हुनेछन् ।

दोस्रो चरणको सुधारले नेपाललाई विकसित राष्ट्रको रूपमा स्थापित गर्न सहयोग पुयाउनेछ । कतिपय साथीहरूलाई सुधार भन्ने शब्द मन नपर्न सक्छ, तर आधारभूत रूपमा मुलुकका सबै राजनीतिक दलले यो एजेन्डालाई स्वीकार गरेका छन् । र, यसबाट कोही पनि पछि फर्कनसक्ने अवस्था छैन ।

लामो राजनीतिक उतार चढाव द्वन्द्व, संक्रमण एवम् भुकम्पलगायत प्राकृतिक प्रकोपलगायतका कारणबाट हामी केही पछि परेका छौं तर, अब हामीसँग लामो समय छैन । छोटो समयमै मुलुकले मुहार फेर्ने गरी विकास गर्नुछ ।

सरकार अनावश्यक नियन्त्रणको पक्षमा छैन, बरू आवश्यक नियमन र सहजीकरणको पक्षमा भएको समेत उनले बताए ।

रमेशकुमार र सुनिता कार्कीले पाए सेजन अवार्ड
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले प्रदान गर्ने यस वर्षको अवार्ड हिमाल पत्रिकाका रमेशकुमार र अन्नपूर्ण पोस्टकी सुनिता कार्कीले प्राप्त गरेका छन् ।

कार्यक्रममा अच्युत वाग्ले र राजीव उपाध्यायलाई सम्मान समेत गरिएको छ ।

साथै, यसवर्षको हाइड्रो सोलुसन फेलोसिप हिमाल लम्साल र सञ्जय न्यौपाने रिसर्च ग्रान्ट सरस्वती ढकालले प्राप्त गरेका छन् ।


क्लिकमान्डु