चार जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ?



काठमाडौं । नेप्सेमा सूचीकृत चार जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्दा जीवन बीमा कम्पनीहरुले भने बल्ल अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गर्न थालेका हुन् ।

चार जीवन बीमा कम्पनी सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् ।

लाभांश घोषणा गरेका चार कम्पनीमध्ये दुई कम्पनी प्राइम लाइफ र सूर्या लाइफ पुराना कम्पनी हुन् भने दुई वटा नयाँ जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । नयाँ जीवन बीमा कम्पनी रिलायन्स र ज्योतिले लाभांश दिने प्रस्ताव गरेका हुन् ।

चार जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी लाभांश प्राइम लाइफ इन्स्योरेन्सले १५.८७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.८७ प्रतिशत नगद गरी कूल १५.८७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्राइम लाइफ इन्स्योरेन्सले भने लाभांश तथा साधारणसभा प्रयोजनाका लागि बुक क्लोज मिति समेत तय गरेको छ । कम्पनीले मंसिर १९ गते आइतबारका दिन चौधौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १० गते एक दिनका लागि बुक क्लोज मिति तोकेको थियो । बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म (अघिल्लो कारोबार दिन) कायम सेयरधनीले मात्र उक्त लाभांश हात पार्न सक्नेछन् ।

सूर्या लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट १२.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले अघिल्लो आवको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद गरी सो बराबरको लाभांश दिने प्रस्ताव गरेको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आवको मुनाफाबाट चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीहरुको प्रस्तावित उक्त लाभांश बीमा समितिको स्वीकृती पश्चात आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।


क्लिकमान्डु