पुँजीगत खर्च बढाएर विकासको काम अगाडि बढाउछौंः अर्थमन्त्री



काठमाडौं । पुँजीगत खर्च गर्न नसकेको समयमा अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाएर विकास निर्माणको काम अगाडि बढाउनुपर्ने बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले विकासका लागि केही क्षेत्र निजी क्षेत्रलाई दिने तयारी भइरहेको पनि बताए ।

अर्थमन्त्री बने लगत्तै शर्माले पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने योजना अघि सारेका थिए । तर चार महिनाको अवधिमा जम्मा ५.५० प्रतिशत मात्रै खर्च गर्न सकेका छन् । जबकी अर्थमन्त्रीकै लक्ष्यअनुसार हुन्थ्यो भने २० प्रतिशत पुँजीगत खर्च भइसक्नु पर्ने थियो ।

मन्त्री शर्माले लगानी अभिवृद्धि गर्न सरकारले आवश्यक शुरु गरिसकेको पनि दाबी गरेका छन् ।

उनले निजी क्षेत्रआफ्नो स्वार्थ पूर्तिका लागि लाग्न नहुने भन्दै देशहितमा केन्द्रित रहेर काम गर्नुपर्ने बताए ।

उनले विकास निर्माणको काम गर्नका लागि साधन स्रोतको समस्या नभएको बरु व्यवस्थापनमा समस्या भएको बताए ।

कार्यक्रममा नाफिजले तयार पारेको ‘अर्थचित्र’ विमोचनका साथै आर्थिक अभियान दैनिक र न्यू बिजनेश एजका सम्पादकीय निर्देशक केशव गौतमलाई सम्मान गरिएको थियो ।


क्लिकमान्डु