आईपीओ जारी गर्न बाँकी ५ जीवन बीमा कम्पनीको पहिलो त्रैमास कस्तो ?



काठमाडौं । पाँच नयाँ जीवन बीमा कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न बाँकी छ ।

आईपीओ जारी गर्न बाँकी रहेका पाँच कम्पनीमा रिलायवल नेपाल, सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफ छन् । यी कम्पनीहरुले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

विवरण अनुसार कम्पनीबीच प्रतिस्पर्धा देखिएको छ ।

खुद बीमाशुल्क र चुक्ता पूँजीमा सिटिजन अघि
चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरण अनुसार पाँच कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ भने सबैभन्दा कम बीमाुशल्क संकलन महालक्ष्मी लाइफ इन्स्योरेन्सले गरेको छ ।

५ कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी सबैभन्दा धेरै १ अर्ब ७५ करोड रुपैयाँ छ ।

पाँच जीवन बीमा कम्पनीले यस अवधिमा ३ अर्ब ८४ करोड एक लाख ९८ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले मात्रै १ अर्ब २१ करोड ८६ लाख रुपैयाँ खुद बीमाुशल्क संकलन गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३२ करोड ५२ लाख खुद बीमाशुल्क संकलन गरेको छ ।

रिलायवल लाइफले ९२ करोड ८९ लाख रुपैयाँ, आईएमई लाइफले ७९ करोड २४ लाख रुपैयाँ र सन नेपाल लाइफले ५७ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

रिलयावलको नाफा धेरै
चालु आवको पहिलो त्रैमासको अवधिमा पाँच कम्पनीमध्ये धेरै नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ छ । रिलायबल नेपाल लाइफले ७ करोड ४५ लाख खुद नाफा गरेको छ ।

सबैभन्दा कम नाफा महालक्ष्मी लाइफले कमाएको छ । कम्पनीले यस अवधिमा २ करोड ५४ लाख खुद नाफा गरेको छ ।

यस अवधिमा रिलायवलपछि बढी नाफा सिटिजन लाइफले कमाएको छ । कम्पनीले ६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सन नेपाल लाइफले ५ करोड २ लाख रुपैयाँ र आइएमई लाइफले ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

बीमा कोषमा पनि सिटिजननै अब्बल
सबैभन्दा धेरै खुद बीमाशुल्क संकलन गरेको सिटिजन लाइफको जीवन बीमा कोष पनि अन्य कम्पनीको तुलनामा मजबुत देखिएको छ ।

यस अवधिमा सिटिजन लाइफको जीवन बीमा कोषमा ४ अर्ब २४ करोड रुपैयाँ र जगेडा कोषमा ७६ करोड ५८ लाख रुपैयाँ सञ्चित छ ।

आइएमई लाइफको जीवन बीमा कोषमा ३ अर्ब ३७ करोड रुपैयाँ, रिलायवल लाइफको ३ अर्ब ३ करोड रुपैयाँ, सन नेपालको २ अर्ब ६६ करोड रुपैयाँ सञ्चित छ ।

जीवन बीमा कोषमा पनि महालक्ष्मी लाइफ इन्स्योरेन्सको सबैभन्दा थोरै १ अर्ब ५३ करोड रुपैयाँ मात्रै सञ्चिती रहेको छ ।

जगेडा कोषमा रिलायवलको अग्रता
सबैभन्दा धेरै खुद नाफा कमाएको रिलायवल लाइफको जगेडा कोष बलियो देखिएको छ । रिलायबल लाइफको जगेडा कोषमा ९१ करोड ६ लाख रुपैयाँ सञ्चिती छ ।

सिटिजन लाइफको जगेडा कोषमा ७६ करोड ५८ लाख रुपैयाँ, आइएमई लाइफको ५१ करोड ७० लाख, सन नेपालको ३५ करोड ५२ लाख रुपैयाँ सञ्चिती छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सको जगेडा कोषमा सबैभन्दा कम २० करोड ९८ लाख रुपैयाँमात्रै सञ्चिती छ ।

पाँच कम्पनीको ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन हुन बाँकी छ


क्लिकमान्डु