योगेश्वरले दिएको सूचनाले कुमारी बैंकले १९ करोड उठायो



काठमाडौं । कुमारी बैंकले नक्कली धितो राखेर दिएको १९ करोड रुपैयाँ ऋण उठाउन सफल भएको छ ।

योगेश्वर अमात्यको जग्गाको नक्कली धितो राखेर बैंकले एसके महर्जन र मुक्तिलाल गौतमको कम्पनीलाई १९ करोड ऋण दिएको थियो ।

गायक योगेश्वर अमात्यले आफ्नो जग्गाको नक्कली लालपूर्जा बनाएर ऋण दिएको थाह पाएपछि बैंकको केन्द्रिय कार्यालयलाई खबर गरेका थिए ।

बैंकले १९ करोड ऋण नक्कली धितो राखेर दिएको जानकारी अमात्यबाट थाहा पाएपछि त्यो ऋण असुल गरेको जनाएको छ ।

बैंकका कामू प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले जनताको पैसा डुब्न नदिनको लागि ऋणीको जग्गा खोजेर धितो लिन प्राथमिकता दिएको बताए । बैंकले नक्कली धितो राखेर ऋण लिएको विषयको जानकारी राष्ट्र बैंक र प्रहरीलाई नदिएको विषयमा आशंका उत्पन्न भएको छ ।

बैंकका कामू सीइओ तिमिल्सिनाले बैंकले आफ्नो डुब्न लागेको पैसा उठाउने भनेर शुरुमै उजुरी नदिएको दाबी गरे ।

‘पहिला आफ्नो डुब्न लागेको पैसा उठाउन प्राथमिकता दिनेबारे हामीले सोच्यौं, पैसा उठेपछि प्रहरीमा उजुरी गर्ने सोच बनाएका थियौं,’ तिमिल्सिनाले क्लिकमाण्डूसँग भने । उनले यो प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको र असल नियतले जनताको पैसा उठाउन खोज्दा प्रहरीकहाँ जान ढिला भएको बताए ।

बैंकले साउनको दोस्रो साता महर्जन गौतमलाई १९ करोड ऋण दिएको थियो । जसमा महर्जन र गौतमको कम्पनीको आन्तरिक राजस्व विभागमा बुझाएको विवरणमा ३ अर्ब रुपैयाँको कारोबार देखिएको थियो ।

ऋणी रहेका महर्जन र गौतमले अमात्यको नाममा रहेको नक्कली लालपूर्जादेखि लिएर चारकिल्लाको सिफारिस सहितका नक्कली कागज बैंकमा पेश गरेका थिए ।

कामू सीइओ तिमिल्सिनाका अनुसार बैंकले धितो नक्कली भएको जानकारी गायक अमात्यबाट थाहा पाएपछि आन्तरिक छानबिन गरेको थियो । विरगन्ज शाखाबाट कर्मचारी पठाएर मालपोतमा बुझ्दा ऋणीको नाममा धितो राखेको जग्गा नै नरहेको पुष्टी भएपछि ऋणीलाई सक्कली जग्गा धितो राख्न र ऋण भनेको थियो । ऋणी महर्जनले २ करोड ऋण तिर्नुका साथै काठमाडौं उपत्यकामा रहेका आफ्ना ३ वटा घर र केही जग्गा धितो बैंकमा राखिसकेका छन् ।

‘बैंक दिएको १९ करोड रुपैयाँ अब उठेको छ, ऋणीले पैसा नतिरेमा धितोमा राखेको जग्गा लिलाममा लगेर उठाउन समस्या छैन, बैंकको १९ करोड रुपैयाँ डुब्ने स्थिति छैन,’ सीइओ तिमिल्सनाले भने ।

महर्जन र गौतम घरजग्गा व्यवसायी हुन् । उनीहरुले बैंकको न्यूरोड शाखाबाट ऋणको प्रक्रिया अगाडि बढाएका थिए । यो प्रकरणमा अहिलेसम्म प्रहरीले ४ जनालाई प्रकाउ गरेको छ ।

१९ करोड प्रकरणः प्रहरीद्धारा २ मुद्दामा अनुसन्धान

कुमारी बैंकमा नक्कली धितो राखेर ऋण प्रवाह भएको विषयमा प्रहरीले अभियुक्तलाई २ वटा मुद्दामा अहिले अनुसन्धान गरेको छ । कागजात किर्ते कागजात गरेको र बैंकिङ कसुरको मुद्दामा प्रहरीले अनुसन्धान गरेको छ ।

कुमारी बैंकबाट अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर ऋण लिएका महर्जन र गौतमले सरकारी कागज किर्ते गरेको अनुसन्धानको क्रममा भेटिएको छ । उनीहरुलाई सरकारी छाप किर्ते गरेको आरोपमा मुद्दा लाग्ने छ । यो मुद्दा सरकारी वकिलले जिल्ला अदालतमा दायर गर्ने छ । यसबाहेक बैंकिङ कसुरको मुद्दासमेत आरोपीमाथि अनुसन्धान प्रहरीले गरेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता श्याम महतोले २ वटा मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए ।

‘२ वटा मुद्दामा हामी अनुसन्धान गरिरहेका छौं, अहिलेसम्म ५ जनामात्र यो प्रकरणमा संलग्न पाइएको छ,’ उनले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु