रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ: ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।

बिहीबार आइएमईले आयोजना गरेको ‘आइएमई डबलको डबलको डबल’ अफरका भाग्यशाली विजेता घोषणा गर्न आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै उनले अहिले रेमिट्यान्सको अधिकांशमात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको बताए । उनले यस्तो रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

आइएमईले व्यवसायीक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको बताउँदै उनले अब नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउने प्रक्रिया पनि शुरु भइसकेकाले यसमा साथ दिन सबैलाई आग्रह गरे ।

‘आजभन्दा २० वर्ष अगाडि नेपालमा २० प्रतिशत औपचारिकरुपमा र बाँकी अनौपचारिकरुपमा स्वदेशमा पैसा आउँथ्यो, तर अहिले ठ्याक्कै उल्टो भएको छ,’ उनले भने, ‘यसमा हामीले महत्वपूर्ण काम गरेको आभास भएको छ, देशमा रेमिट्यान्स भित्र्याउन र समग्र अर्थतन्त्रमा योगदान पुर्याउनका लागि महत्वपूर्ण काम गरेको हाम्रो बुझाइ छ ।’

लगानीबाट राम्रो प्रतिफल आउने भएकाले पनि रेमिट्यान्सलाई सही सदुपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमई जहिले पनि आमसर्वसाधारणको सहजताका लागि काम गर्ने संस्थाका रुपमा विकास भएको बताए ।

संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा होस् वा अन्य समयमा पनि आम सर्वसाधारणहरुका समस्या समाधान गर्ने प्रयास आइएमईले हरेक वर्ष गर्दै आएको बताए ।


क्लिकमान्डु