निर्जीवन बीमा कम्पनीद्वारा ३ अर्ब ९२ करोड खुद बीमाशुल्क संकलन



काठमाडौं । चालु आवको पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीले करिब ४ अर्ब रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका हुन् ।

विवरण अनुसार कम्पनीहरुको खुद नाफामा १२.५३ प्रतिशतको वृद्धि देखिएको छ । गत आवको पहिलो त्रैमासको अवधिमा कम्पनीहरुले ३ अर्ब ४९ करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका थिए ।

दुई बीमा कम्पनीले भने चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

यस अवधिमा तीन बीमा कम्पनीको खुद बीमाशुल्क संकलन रकम घटेको छ । अजोड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन रकम घटेको हो ।

अजोड इन्स्योरेन्सको खुद बीमाशुल्क रकम १०.४६ प्रतिशतले घटेर १० करोड ३५ लाख रुपैयाँमा झरेको छ । गत आवको यसै अवधिमा कम्पनीको खुद बीमाशुल्क रकम ११ करोड ५६ लाख रुपैयाँ थियो ।

यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको १३.४७ प्रतिशत र जनरल इन्स्योरेन्सको २५.२७ प्रतिशतले घटेको छ ।

यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन नेको इन्स्योरेन्सले गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ३९ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, शिखर इन्स्योरेन्सले ४४ करोड ५० लाख रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले ३९ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।


क्लिकमान्डु