कर प्रणालीलाई व्यवस्थित बनाउन निजी क्षेत्रको माग



नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा केन्द्रीत भई कर प्रणालिलाई व्यवस्थित बनाउने तर्फ अर्थमन्त्रालयको ध्यानाकर्षण गराए ।

बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा करको दायरा बढाउन भन्दा कर संकलनलाई व्यवस्थित बनाउने तर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष गोल्छाले सरकार राजश्व संकलनको लागि बढी केन्द्रित भएकाले समग्र कर प्रणाली चुस्त दुरुस्त हुन नसकेको बताए ।

उनले सरकारको ध्यान कसरी राजश्व बढी संकलन गर्ने भन्नेमा बढी केन्द्रित भएकाले कर प्रणाली व्यवस्थित र प्रभावकारी हुन नसक्दा विकास खर्च बढ्न नसकेको बताए ।

‘सरकारले जुन तदारुकताका साथ कर संकलन गरिरहेको छ । सोही अनुसार विकास खर्च गर्न नसक्दा पछिल्लो समय बजारमा तरलताको समस्या आएको छ । विकास खर्च भएको भए यो समस्या आउने थिएन तर तरलता व्यवस्थापन निकै ठूलो समस्या भएको छ ।

अध्यक्ष गोल्छाले सरकारले बजेट निर्माण गर्दा नै आयोजनाहरु छनोटको प्राथमिकता निर्धारण गरि अनावश्यलाई समावेश गर्न नहुने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले प्रक्षेपण गरे अनुसार राजश्व संकलन हुन नसकेको बताए ।

‘सरकारले करको दायरा बढाउन बैंकिङ प्रणाली भन्दा बाहिर बसेर अर्बौंको कारोबार गरिरहेका व्यवसायीलाई करको दायरामा ल्याउनु पर्छ । करको दायरा बढाउनको लागि प्रशस्त ठाँउ छ । अर्बौं कारोबार हुने घरजग्गा जस्ता अन्य कारोबारलाई करको दायरामा ल्याउनु पर्छ ।

सरकारले घरजग्गाको कारोबारलाई करको दायरामा ल्याउन नसक्दा जग्गाको मूल्य मौखिक रुपमा नै बढ्दै गएको छ,’उनले भने ।

नेपाल उद्योग परिसंघका कार्यकारी अध्यक्ष कृष्णप्रसाद अधिकारीले विगत २४ वर्ष देखि बहुदर प्रणाली लागु गर्न माग गर्दै आएपनि अहिले सम्म लागु हुन नसकेको गुनासो गरे ।


क्लिकमान्डु