कोरोनाले हस्ताकला निर्यात ५०% ले खुम्चियो



काठमाडौं । कोरोना महामारीका कारण हस्तकला क्षेत्रको व्यापार ५० प्रतिशतले खुम्चिएको छ ।

कोरोना महामारीले अधिकांश देशमा लकडाउन, निषेधाज्ञा र अन्तर्राष्ट्रियल आवतजावत सहज हुन नसक्दा हस्तकला क्षेत्रमा ५० प्रतिशतले व्यापार खुम्चिएको नेपाल हस्तकला महासंघले जनाएको छ ।

सामान्य अवस्थामा आन्तरिक बजारमा खपत हुनुका साथै निर्यात उल्लेख्य हुन्थ्यो । हस्तकला आन्तरिक बजारभन्दा बढी निर्यात हुँदै आएकोमा कोरोनाले निकै असर परेको महासंघको भनाइ छ ।

नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले कोरोनाले ५० प्रतिशत निर्यात कम भएको बताए ।

उनकाअनुसार सामान्य अवस्थामा १२ अर्ब बराबरको हस्तकला निर्यात हुन्थ्यो । तर, कोरोना महामारीले वार्षिक ६ अर्बमा सीमित भएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा २७ करोड ७२ लाख रुपैयाँ बराबरको हस्तकला निर्यात भएको छ । सोही अवधिमा गत वर्ष २२ करोड २ लाखको मात्रै निर्यात भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँदछ ।

‘हस्तकला निर्यातमा निर्भर रहेको छ । हस्तकला जति धेरै अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन्छ त्यसको आधारमा व्यापार बढ्छ । तर, कोरोनाले असहज परिस्थिति सिर्जना हुँदा व्यापार निकै खस्किएको छ,’ उनले भने ।

कोरोनाका कारण व्यापार खुम्चिए पनि व्यवसाय धारासायी नभएको उनको भनाइ छ ।

नेपालमा मात्रै नभएर विश्व नै कोरोनाले आक्रन्त भएको बेला सबै व्यापार व्यवसायको स्थिति उस्तै छ । त्यसैले व्यवसाय धरासायीको अवस्था नरहेको उनले जिकिर गरे ।

शाक्यकाअनुसार कोरोनाको समयमा अनलाइन बजार निकै फस्टाएको हुनाले हस्तकला महासंघले व्यापार प्रवद्र्धनको लागि नयाँ तरिकाले सञ्चालन गर्ने भएको छ । जसमा महासंघले मंसिर ३ गतेबाट ई–कला नेपाल अनलाइन पोर्टल सञ्चालनमा ल्याउने भएको हो ।

उक्त ई–मेलाअनलाइन पोर्टलबाट व्यवसायीहरूले उत्पादन गरेको वस्तुहरू अनलाईनमार्फत् प्रदर्शन र प्रवद्र्धन गर्ने भएको उनले जानकारी दिए ।

उक्त अनलाइन पोर्टल मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिताको अवसरमा सञ्चालनमा ल्याइनेछ ।


क्लिकमान्डु