४० वर्षअघि झुनझुवालाले शुरु गरेको डट्पेन ‘रेन्को’, दैनिक २ लाख गोटा उत्पादन



काठमाडौं । चार दशकअघि अशोक झुनझुवालाले जर्मनीबाट मसि ल्याए । इटालीबाट प्लाष्टिक र स्वीटजरल्याण्डबाट टिप्स ।

विदेशबाट ल्याएका उच्चस्तरका मेसिन र कच्चा पदार्थ मिसाएर विराटनगरमा एक सानो उद्योग स्थापना गरे । जसको नाम राखे–‘रेन्को’ र शुरु गरे नेपालको पहिलो ड्टपेन उद्योग ।

‘रेन्को’ नाम भने अशोकका दाजु श्यामले फुराएको नाम हो । यो उनको पारिवारिक व्यवसाय हो । जसमा अशोकसँगै गोविन्द झुनझुनवाला र विजय झुनझनवालाको स्थापनामा उत्तिकै भूमिका छ ।

श्याम एकपटक जेसिसको कार्यक्रममा जापान गएका थिए । त्यहीबेला उनले सुनेका थिए ‘रेन्को’ शब्द ।

रेन्को भनेको एक प्रकारको चार्ट हो । सेयर बजारमा ‘क्यान्डल स्टिक’ जस्तो देखिने यो चार्टको नामाकरण जापानिजले गरेका थिए । सायद श्यामले यही कथा सुने, त्यसैले भाइलाई डट्पेनको नाम रेन्को राख्न सुझाए ।

आज रेन्को उत्पादन शुरु भएको ४० वर्ष पुगेको छ । अहिलेसम्म पनि नेपाली डट्पेन बजारमा ‘एक्लो बृहस्पति’ भएर उभिरहेको छ ।

झुनझुनवालाको परिवारले चार दशकको अवधिमा धेरै उतरचढाव भोगे । कहिले निराश, कहिल उत्साह । रेन्को डेटपेनले बजार नपाउँदा कुनै समय सधैका लागि बन्द गरौं कि भन्ने सोच नआएको होइन ।

अशोक आत्तिएनन् । लगातार लागिरहे । त्यही भएर त आज रेन्को ब्रान्डमा २० प्रकारका दैनिक २ लाख गोटा डट्पेन उत्पादन गर्छन् ।

व्यवसायलाई थप बिस्तार गर्दै ४ प्रकारका ग्लुस्टिक, २ प्रकारका मार्कर र लोकसेवा विशेष डट्पने उत्पादन गरिरहेका छन् । ५० जनालाई रोजगारीसमेत दिएका छन् ।

सञ्चालक नविन झुनझुवालाका अनुसार रेन्कोले अहिले कुल डट्पेन बजारको करिब ७ प्रतिशत हिस्सा ओगटेको छ ।

४० वर्षअघि कुनैपनि उद्योग स्थापना गर्न सहज थिएन । त्यसमाथि ड्टपेन उद्योग । ‘पक्कै पनि डट्पेनको बजार राम्रै होला,’ उनको सामान्य अध्ययनलाई विश्वास गरे ।

उनलाई एउटा भरोसा के थियो भने, उनका परिवारका सदस्यले भारतमा डट्पेन उद्योग चलाइरहेका थिए । उनले पनि आफन्तसँग सल्लाह लिए । आफन्तकै सल्लाह सुझावमा डट्पेन उद्योग खोल्ने निर्णय गरे ।

श्याम झुनझुनवालाले २०३७ सालमा आफ्नो भाइ अशोक झुनझुनवालाको नाममा उद्योग दर्ता गरे ।

हाल उक्त उद्योग अशोकका छोरा नविनले सञ्चालन गरिरहेका छन् । विभिन्न चुनौती र समस्याबीच कम्पनीले डट्पेन उत्पादन गरिरहेको नविनले बताउँछन् ।

‘४० वर्षअघि पढाइलेखाइ आम मासिनको प्राथमिकतामा थिएन,’ नविनले क्लिकमाण्डूसँग कुरा गर्दै भने, ‘त्यस्तो समयमा बुबाहरूले डट्पने उद्योग खोल्नुनै ठूलो कुरा थियो ।’

नविनले २०६७ सालबाट रेन्को उद्योग सम्हाल्दै आएका छन् ।

रेन्को डट्पेनको उत्पादन शुरु गर्दै गर्दा शिक्षा क्षेत्र प्राथमिकतामा नपर्दा डट्पेनको माग निकै कम थियो । बिस्तार शिक्षामा लगानी बढ्दै गयो । विद्यालय तथा कलेजको संख्या बढ्दै गयो । विद्यालय भर्ना हुने विद्यार्थीको संख्या बढ्दै गयो ।

यसले उनको बजारको माग पनि बढाउँदै गयो । त्यसबेला पूर्वी नेपालमा रेक्कोबाहेक अन्य डट्पेन नभएको नविन बताउँछन् ।

२०६० सालसम्म आइपुग्दा ग्राहकले विभिन्न प्रकारका डट्पेन खोज्न थाले । बजारमा भारत, चीनलगायका देशबाट डट्पेन आयात हुन थाल्यो । हेर्दा राम्रो, आकर्षण, रङगीचङ्गी, छिटो र सहजै लेख्न डट्पेन आउन थाले ।

एउटै प्रकार ड्टपेन उत्पादन गरिरहेको रेन्कोलाई बजारमा प्रतिष्पर्धा गर्न गाह्रो पर्दै गयो ।

‘२०६५ सालदेखि रेन्कोको बजार खस्किदै गयो,’ नविन भन्छन्, ‘उद्योग चलाउन सकिदैन कि भन्ने सोचमा समेत पुगिसकेका थियौं ।’

झन्डै एक वर्षसम्म उद्योगको अवस्था नाजुकनै भयो ।

‘होइन, हामीले भेराइटी दिएर बजारमा प्रतिष्पर्धा गर्नैपर्छ,’ उनीहरुले योजना बनाए, ‘नयाँ उत्पादनहरु थप्ने ।’

२०६७ सालमा नयाँ प्रविधि थपे । रेन्को ब्रान्डमा विभिन्न प्रकारका डट्पेन उत्पादन शुरु गरे ।

उत्पादन थपिँदै जाँदा अहिले कम्पनीले २० प्रकारका डटपेन उत्पादन गरिरहेको छ । २ प्रकारका मार्कर र ४ प्रकारका ग्लुस्टिक पनि उनीसँग छन् । साथै, कम्पनीले लोकसेवा परीक्षाका लागि स्पेशल डटपेन उत्पादन गरेको छ ।

‘लोकसेवाको परीक्षाका लागि छिटो र मोटो गाढा लेख्ने डट्पेन चाहिन्छ,’ उनले भने, ‘त्यही मागलाई ध्यान दिएर विशेष प्रकारको डट्पेन उत्पादन गरिरहेका छौं ।’

कम्पनीले ५ देखि ३५ रुपैयाँसम्मको डटपेन उत्पादन गर्छ ।

नविनका ठूलाबुबा स्वर्गीय श्याम झुनझुनवाला र बुवाले कति लगानीमा उद्योग शुरु गरेका थिए उनलाई जानकारी छैन । तर, २०४५ सालतिर ३० लाखको ‘मोल्ड’ आयात गरेको उनी बताउँछन् ।

‘उक्त रकम भनेका आजको दिनमा करिब ८ करोड बराबर हो,’ नविन भन्छन् ।

डट्पेन उद्योग सञ्चलान गर्न मेसिनरीसहित मसी, टिप्स, प्लास्टिक, नोजलकलगायत सामग्री आवश्यक पर्छ । यी सबै सामान आयात गर्नुपर्छ ।

‘अहिले त एउटा डट्पेन उद्योग सञ्चालन गर्न २० करोड भएपनि नपुग्ने अवस्था छ,’ उनी भन्छन्, ‘दक्ष जनशक्तिसँगै क्रियटिभ, इन्नोभेटिभ र आफ्नो रणनीति अपनाएमात्रै उद्योग सञ्चालन गर्न सकिन्छ ।’

नयाँ उद्योग आउँदा पनि सञ्चालन गर्न गाह्रो छ । बजार विदेशी डट्पेनको कब्जामा छ । उनीहरुसँग प्रतिष्पर्धा गर्नु ठूलो चूनौती बनेको उनको भनाइ छ । रेन्को उद्योगले उत्पादन गरेका डटपेन सरकारले प्रयोग गरे मात्रै पनि प्रोत्साहन मिल्ने उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा डट्पेनमा प्रयोग गर्ने प्लास्टिकको मूल्य ५० प्रतिशतसम्म, टिप्सको मूल्य ४० प्रतिशतसम्म र मसीमा २५ प्रतिशतसम्म मूल्य बढ्नाले आगामी दिनमा डटपेनको मूल्य बढ्न सक्ने उनी बताउँछन् ।

रेन्कोले आफ्नो कम्पनीको मात्रै डटपेन उत्पादन गर्दैनन् । बजारको अर्डरअनुसार अन्य कम्पनी, संघसस्थको नाममा पनि डट्पेन पनि उत्पादन गर्दै आएको छ । नेपालका ठूला संघसंस्थाले आफ्नो नाममा डेट्पेन बनाउन अर्डर दिन्छन् ।

‘कुनै ग्राहकले मेरो नाम वा कम्पनीको नाममा डटपेन चाहियो भने त्यसैअनुसार बनाउँछौं,’ उनले भने ।

त्यससँगै कम्पनीले ओरियो मोडलमा पनि काम गर्दै आएको छन् । जसमा कुनै पनि व्यवसायीले आफ्नो नामको डटपेन उत्पादन गरी बिक्री गर्न चाहेमा रेन्कोले उत्पादन गरी बिक्रीका लागि सहज वातावरण बनाइदिन्छ ।


अरिष्मा मोक्तान