कफी खेतीको पनि बीमा हुने, ८ प्रकारका क्षतिको रक्षावरण



काठमाड‌ौं । कफी खेतीको पनि बीमा गर्न सकिने भएको छ । बीमा समितिले उत्पादनमा आधारित कफी खेती बीमालेख जारीसँगै कफी खेतीको पनि बीमा गर्न सकिने भएको हो ।

उक्त बीमालेखले कफी खेतीको बीमा गर्ने बीमितको समेत रक्षावरण गर्नेछ । बीमा अवधिभित्र बीमितको दुर्घटनाबाट मुत्यु भएमा बीमितले २ लाख रुपैयाँ बीमा कम्पनीबाट पाउनेछन् ।

तर, यस्तो सेवा पाउनका लागि प्रत्येक बीमितले दुर्घटना बीमा वापत बीमाशुल्क पाँच सय रुपैयाँ तिर्नुपर्ने छ ।

समितिका अनुसार कफी खेती बीमालेख बमोजिम जारी हुने कफी खेतीको बीमाशुल्क बीमाङ्क रकमको ५ प्रतिशतका दरले लाग्ने छ ।

कफी खेती बीमालेख जारी गर्दा जारी भएको समय (घण्टा र मिनेटसहित) तथा जोखिम प्रारम्भ हुने मिति उल्लेख गर्नुपर्ने व्यवस्था बीमालेखले गरेको छ ।

नयाँ कफी बगैँचाको हकमा बीमा गर्दा कफीको बेर्ना रोपीसकेपछि मात्रै बीमा गर्न पाइने छ । कफी खेती समुन्द्र सतहबाट ६०० मिटरदेखि २००० मिटिरसम्मको उचाईमा तथा छहारीभित्र गरेको भए मात्रै यस बीमालेख खरिद गर्न सकिने छ ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरु
बीमा समितिले जारी गरेको कफी खेती बीमालेख अनुसार ८ प्रकारको क्षतिबाट कफीको रक्षावरण गर्नेछ ।

बीमालेखले हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य, भूमिजन्य, चट्याङ्जन्य, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति, रोग वा किराजन्य क्षतिबाट हुने क्षतिको रक्षावरण गर्ने छ ।

बीमालेखले रक्षावरण नगर्ने अवस्था
बीमा समितिले जारी गरेको कफि बीमालेखमा अत्यप्रत्यक्ष क्षतिको जोखिम बहन नहुने, अधिकार प्राप्त निकायबाट पुर्याइएको क्षतिको जोखिम बहन नहुने, विकिरण वा फोहोरबाट हुनसक्ने क्षतिको जोखिम बहन नगर्ने जनाएको छ ।

यस्तै, बीमामा युद्ध वा युद्ध सरहको अवस्थामा पुगेको क्षति, हराएमा, चोरी भएमा, बीमित वा बीमितका एकाघरका व्यक्तिले जानाजान वा मनोरञ्जनका लागि पुर्याएको क्षतिको जोखिम बहन नहुने समितिद्वारा जारी निर्देशिकामा उल्लेख छ


क्लिकमान्डु