गुराँस लाइफ इन्स्योरेन्सको बीमाशुल्कसँगै नाफामा समेत गिरावट



काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क र खुद नाफा दुबैमा गिरावट आएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको पहिलो त्रैमासमा ८६ करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्कमा १०.३० प्रतिशतको गिरावट आएको हो ।

गत आवको यसै अवधिमा कम्पनीले ९६ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफा समेत गिरावट आएको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ४.१५ प्रतिशतले घटेर ४ करोड ९ लाख ९९ हजार रुपैयाँमा सीमित भएको हो ।

गत वर्षको यसै अवधिमा कम्पनीले ४ करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको यो नाफामा बीमाङ्कीय मूल्याङ्कनपछि भने फेरबदल हुन सक्नेछ ।

कम्पनीको जीवन बीमा कोषको आकार १० अर्ब ८८ करोड १८ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ८ रुपैयाँ ३० पैसा छ ।

यस अवधिमा ६४ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड २९ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले अभिकर्ता कमिसन शीर्षकमा ९ करोड ७७ लाख रुपैयाँ खर्च गरेको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले यस शीर्षकमा खर्च १० करोड ७७ लाख रुपैयाँ खर्च गरेको थियो ।

कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्यबाट २१ करोड २६ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको छ भने बीमालेखको धितोमा कर्जाबाट ३ करोड ३० लाख रुपैयाँ आम्दान्ी गरेको छ ।


क्लिकमान्डु