वैदेशिक रोजगारीमा जानेलाई परिवारको स्वास्थ्य बीमा अनिवार्य, मंसिरदेखि लागू हुने



काठमाडौं । वैदेशिक रोजगारीमा जान परिवारको पनि स्वास्थ्य बीमा अनिवार्य गरिने भएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरुले मंसिर महिनादेखि अनिवार्यरुपमा परिवारको स्वास्थ्य बीमा गराउनुपर्ने भएको हो ।

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्यरुपमा आफ्नो परिवारको बीमा गराएर मात्रै विदेश जान पाउने भएका हुन् ।

स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई बीमामा आवद्ध गराउने कार्यविधि, २०७८ जारी गरेको छ । उक्त कार्यविधि मंसिर महिनादेखि कार्यान्वयनमा आउने भएको हो ।

श्रम विभागसँगको समन्वयनमा उक्त कार्यविधि कार्यान्वयनमा ल्याउनका लागि पहल भइरहेको बोर्डले जानकारी दिएको छ ।

‘कार्यविधि तयार भईसकेको छ । कार्यान्वयनका लागि श्रम विभागसँग छलफल गर्दै छौँ,’ बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले क्लिकमाण्डूसँग भने ।

उनले वैदेशिक रोजगारीमा जाने कामदारले परिवारको स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्नेगरी कार्यविधि तयार पारि कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताए ।

कार्यविधि मंसिर महिनादेखि नै कार्यान्वयनमा ल्याउनका लागि पहल भइरहेको उनले बताए ।

‘मंसिरदेखि वैदेशिक रोजगारीमा जानेहरुरुका परिवार अनिवार्यरुपमा स्वास्थ्य बीमामा आवद्ध हुनु पर्नेछ,’ उनले भने, ‘स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुको परिवारको स्वास्थ्य बीमा सम्बन्धी कार्यविधि, २०७८ बनाई कार्यान्वयनको अन्तिम चरणमा रहेको छ ।,’

बसौलाका अनुसार वैदेशिक रोजगारमा जाने कामदारले परिवारलाई अनिवार्य रुपमा स्वास्थ्य बीमामा आवद्ध गराएर मात्रै रोजगारीमा जान पाउनेछन् ।

स्वास्थ्य बीमा ऐनमै व्यवस्था भएबमोजिम अब देखि वैदेशिक रोजगारीमा जाने प्रत्येक कामदारले परिवारको अनिवार्यरुपमा बीमा गर्नुपर्ने भएको उनले जानकारी दिए ।

उनका अनुसार अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारका परिवार अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्नेछ  ।

कामदारले श्रम स्वीकृति लिने समयमा नै स्वास्थ्य बीमामा आबद्ध भएको प्रमाण पेस गर्नुपर्ने बोर्डले जानकारी दिएको छ ।


क्लिकमान्डु