म्यादी बीमाः कम्पनीको समान बिजनेस गर्ने सहमतिलाई समितिले गरिदियो परिवर्तन



काठमाडौँ । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगारीमा जाने सबै नेपालीहरुले अनिवार्यरुपमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने व्यवस्था छ ।

बीमा समितिले म्यादी बीमामा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै पुल प्रणाली लागू गर्न निर्देशन दिएको थियो । सोही व्यवस्था बमोजिम कम्पनीहरुको सहमति अनुसार पुल प्रणाली लागू गर्दै बीमालेख जारी हुँदै आएको छ ।

बीमा कम्पनीहरुले २०७५ माघ १ गतेदेखि पुलमार्फत् बैदेशिक रोजगार म्यादी जीवन बीमा जारी गर्दै आएका छन् ।

पुलमा १७ वटा जीवन बीमा कम्पनी छन् । पुलमा सहभागी भएका कम्पनीहरुले आ–आफ्नो भागमा पर्न आएको व्यवसाय गर्दै आएका छन् ।

पुलमा सहभागी भएका १७ वटै कम्पनीबीच जीवन बीमक संघको संयोजकत्वमा आर्थिक वर्ष २०७९ साउनदेखि बराबरी व्यवसाय गर्ने सहमति जुट्यो ।

कम्पनीबीच २०७९ साउनपछि सम्पूर्ण कम्पनीहरुको आम्दानी तथा दायित्वमा समान हिस्सा बहन गर्ने सहमति भयो । जसमा एउटा कम्पनीको भागमा ५.८८२ प्रतिशत हिस्सा हुने गरि सहमति भएको थियो ।

बीमा कम्पनीहरुले बजार हिस्साका आधारमा पुलमार्फत् सञ्चालन भइरहेको व्यवसाय आगामी वर्षदेखि सबैले समान हिसावले पाउने गरी व्यवसायको भाग बाँडफाँट गरेका थिए ।

तर, कम्पनीबीचमा जुटेको सहमतिलाई समितिले परिवर्तन गर्दै नयाँ व्यवस्था कायम गर्न निर्देशन दिएको छ ।

बीमक संघले बुझाएको सहमतिलाई परिवर्तन गर्दै बीमा समितिले वैदेशिक रोजगार म्यादी जीवन बीमामा नयाँ व्यवस्था कायम गर्न निर्देशन दिएको हो ।

समितिले कात्तिक १७ गते इजाजतपत्र सबै जीवन बीमा कम्पनीहरुलाई दिर्नेशन दिँदै आर्थिक वर्ष २०७८÷७९ देखिनै नयाँ व्यवस्था कायम गर्न निर्देशन दिएको हो ।

कम्पनीहरुको सहमतिलाई परिवर्तन गर्दै बीमा समितिले नयाँ निर्देशन पठाएको बीमक संघले जनाएको छ ।

‘बीमा समितिले निर्देशन पठाएको छ । निर्देशनअनुसारको थप केही छलफल भएको छैन,’ जीवन बीमक संघका अध्यक्ष निर्मल काजी श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

‘संगठनको एउटा निर्णय हुन्छ । नियामकको अर्को निर्णय हुन्छ । संगठन अनुसारको निर्णय नियामकको हुन्छ भन्ने हुँदैन,’ उनले भने, ‘समितिले पनि आफ्नो तरिकाले निर्णय गर्न सक्छ,’ ।

‘कम्पनीहरुलाई कति कति प्रतिशतको व्यवसाय दिने भन्ने कुरामा फरक परेको हो,’ उनले भने ।

उनले कम्पनीहरुबीचमा पुल प्रणाली नहटाई सबै कम्पनीहरुलाई समान व्यवसाय दिने निर्णय भएको बताए ।

‘पुल हुनुपर्छ भनेर त सबै कम्पनीको सहमति भएकै हो । पुलमार्फत् बीमालेख जारी गर्ने सहमति सबै कम्पनीबाट जुटेकै हो,’ उनले थपे ।

वैदेशिक रोजगार म्यादी बीमा अनिवार्य बीमा हो । सरकारले नै अनिवार्य गरेको हुनाले पुलको व्यवस्था गरिएको थियो । जो नेपाली रोजगारीका सिलसिलामा विदेश जान्छन्, ती सबैले वैदेशिक रोजगार म्यादी बीमा गर्नैपर्छ ।

‘पुल नहँुदा कम्पनीहरुमा एकदमै अस्वस्थ्य प्रतिस्पर्धा थियो । कम्पनी कम्पनीमा व्यवसायकोे तानातानको स्थिति थियो,’ उनले भने ।

बीमक संघले बुझाएको बाँडफाँटलाई केही फरक पारेको समितिले बताएको छ । बीमक संघले बुझाएको बाँडफाँटलाई तलमाथि पारेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

समितिले पुल सञ्चालकलाई १५ प्रतिशत हिस्सा दिइने व्यवस्था गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत जोखिम तथा दायित्व बहन गर्ने गरी हिस्सा निर्धारण गरिएको व्यवस्थालाई निरन्तरता दिइएको पौडेलले जानकारी दिए ।

उनका अनुसार पुल व्यस्थापकले सञ्चालन खर्चका लागि ५ प्रतिशत व्यवस्थापन खर्चवापत खर्च गर्न पाउने व्यवस्था गरेको छ ।

समितिले वैदेशिक रोजगार म्यादी बीमामा गरेको व्यवस्था

समितिले हाल पुल व्यवस्थापकको रुपमा कार्य गर्दै आएको नेपाल पुनर्बीमा कम्पनीले नै पुल व्यवस्थापकको रुपमा कार्य गर्न दिने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगार म्यादी बीमालेख जारी गर्नका लागि पुलमा १७ जीवन बीमा कम्पनीहरु सहभागी भएका छन् । बीमालेख जारी गर्नका लागि पुलमा सहभागी भएका कम्पनीहरुमध्ये हरेक आर्थिक वर्ष शुरु हुनुअघि नै आगामी आर्थिक वर्षको लागि चार वटा कम्पनीहरु छनौट गर्नुपर्ने हुन्छ ।

तर, त्यसरी कम्पनी छनौट गर्दा भने त्योभन्दाअघि नै पुलमा सहभागी भएका कम्पनीहरु छनौट गर्न नमिल्ने व्यवस्था समितिले गरेको छ ।

समितिले वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायबाट आर्जित बीमाशुल्कको २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीलाई प्रत्यक्ष हिस्साको रुपमा पठाउनु पर्ने व्यवस्था गरेको छ ।

समितिले पुल सञ्चालक ४ वटा कम्पनीहरुले आफुले आर्जन गरेको कुल बीमाशुल्कको ५ प्रतिशत व्यवस्थापन खर्चवापत खर्च गर्न पाउने व्यवस्था गरेको छ ।

पुल सञ्चालक चार कम्पनीले आफूले आर्जन गरेको कुल बीमाशुल्कको १५ प्रतिशत रकम आफ्नो हिस्सा कायम गरी बाँकी रकम पुलमा सहभागी सबै कम्पनीहरुलाई (पुल सञ्चालक समेत) बराबर बाँडफाँट गर्ने व्यवस्था समितिले गरिदिएको छ ।

समितिले दायित्वको बाँडफाँट नेपाल पुनर्बीमा कम्पनी, पुल सञ्चालक तथा पुलमा सहभागी भएका सबै कम्पनीहरुले व्यहोर्ने व्यवस्था गरेको छ । समितिका अनुसार २० प्रतिशत दायित्व नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्नु पर्नेछ ।

यस्तै, पुल सञ्चालक ४ वटा कम्पनीहरुले आफुले प्राप्त गरेको कुल हिस्साको आधारमा (पुल सञ्चालकले प्राप्त गर्ने जोखिम १५ प्रतिशत र बाँडफाँटबाट प्राप्त थप समेत) दायित्व व्यहोर्नुपर्ने व्यवस्था रहेको छ ।

कुल दायित्वको बाँकी ६० प्रतिशत पुलमा सहभागी सबै कम्पनीहरुले बराबर अनुपातमा व्यहोर्नु पर्नेछ । आर्थिक वर्ष २०७८÷७९ को हकमा भने पुल संचालकका रुपमा रहेका चार कम्पनीले नै निरन्तरता पाउने समितिले जनाएको छ ।

समितिका अनुसार वैदेशिक रोजगार म्यादी जीवन बीमालेख खरिद गरेका बीमितहरुले दावी गर्दा पुलमा सहभागी भएका कुनै एक कम्पनीबाट दावी गर्ने सक्नेछन् ।

साथै, सो बमोजिम भुक्तानी पाउने व्यवस्था मिलाउन समेत कम्पनीहरुलाई समितिलदे निर्देशन दिएको छ ।

यस्तो थियो वैदेशिक रोजगार म्यादी जीवन बीमामा संघको निर्णय

नेपाल जीवन बीमक संघको निर्णयमा बैदेशिक रोजगार म्यादी जीवन बीमामा कम्पनीहरुले बराबरी व्यवसाय पाउने गरी दायित्वको बाँडफाँट गरेका थिए ।

जीवन बीमक संघको संयोजकत्वमा जीवन बीमा कम्पनीहरुबीचमा वैदेशिक रोजगार बीमालेखको दायित्व बराबर लिने सहमति जुटेको थियो । सोही सहमतिअनुसार आगामी आर्थिक वर्षको साउनदेखि लागू हुने गरी कम्पनीहरुले ५.८८२ प्रतिशतका दरको व्यवसाय गर्ने भएका थिए ।


क्लिकमान्डु