कोरोना बीमामा करिब १५ अर्बको दाबी



काठमाडौं । कोरोना बीमामा करीब १५ अर्ब रुपैयाँको दाबी परेको छ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको हो ।

समितिकाअनुसार १ लाख ५९ हजार २२५ वटा दाबीवापत सो रकमको माग दावी परेको हो ।

कम्पनीहरुले १७ लाख ५८ हजार ३४३ वटा कोरोना बीमालेख जारी गरी एक अर्ब ५ करोड ५ लाख २७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । समितिले उपलब्ध गराएको तथ्यांकअनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेका छन् ।

समितिको तथ्यांकअनुसार हालसम्म पुलमार्फत् ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरुबाट १ अर्ब २८ करोड ८१ लाख ७१ हजार रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दावी भुक्तानी भएको छ ।

कोरोना बीमा मापदण्ड बमोजिम नेपाल सरकारले ११ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सरकारले आफ्नो दायित्वमा पर्न आएको रकम निकासा नगरेको भन्दै बीमा कम्पनीहरुले भुक्तानी रोकेको दुई महिनापछि अर्थमन्त्रालयमा छलफल गरिएको छ ।

असोज ११ गते अर्थमन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका थिए ।

कोरोना भुक्तानीका बारेमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्नका लागि अर्थमन्त्रीले बीमा समितिलाई निर्देशन दिएका थिए ।

कोरोना बीमा दावी भुक्तानीका लागि बीमा समितिले सरकारसमक्ष विकल्पसहितको सुझाव पेश गरेको छ ।


क्लिकमान्डु