प्रदेश १ मा पर्यटक आगमन ६० प्रतिशतले घट्यो, होटलहरु सुनसान



काठमाडौं । पर्यटकीय क्षेत्रको रुपमा परिचित प्रदेश १ मा पर्यटक आगमन झन्डै ६० प्रतिशतले घटेको छ । कोरोना संक्रमणले बाहिरी गतिवधि कम हुँदै जाँदा उक्त प्रदेशमा पछिल्लो दुई वर्षमा पर्यटकको संख्या निरन्तर घटिरहेको छ ।

सरकारी तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा उक्त प्रदेशमा पर्यटक आगमन ५९.७ प्रतिशतले घटेको हो ।
अघिल्लो आर्थिक वर्षको उक्त अवधिमा पनि पर्यटकको संख्या १८.१ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकको प्रदेश १ को अध्ययन प्रतिवेदनअनुसार गत आवको सोही अवधिमा तेस्रो मुलुकवाट आउने पर्यटकको संख्या ९२.४ प्रतिशतले घटेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्यामा १८.६ प्रतिशतले घटेको थियो ।

कोभिड–१९ को महामारीबाट अति प्रभावित क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्र प्रदेश नं. १ मा बन्दाबन्दी तथा निशेधाज्ञा खुकुलो भएसँगै केही सुधारोन्मुख अवस्थामा रहेको देखिन्छ । महामारीको अवधिमा पर्यटकीय होटल व्यवसायको विस्तार शून्य रहेको देखिएको छ भने निर्माण सम्पन्न भएका पर्यटकीय होटलसमेत सञ्चालनमा आउन सकेका छैनन् ।

यो अवधिमा प्रदेश नं. १ मा होटलहरुको औसत अकुपेन्सी दर २२.३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो अकुपेन्सी दर ३३.९ प्रतिशतले घटेको थियो । उक्त प्रदेशको कुल पर्यटक आगमन भने १०.७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ६७.७ प्रतिशतले घटेको थियो ।

समीक्षा वर्षमा चीनबाट आउने पर्यटकको संख्या सवैभन्दा बढी घटेको छ । भारतबाट आउने पर्यटकको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १४.४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारतवाट आउने पर्यटकको संख्या ८७.८ प्रतिशतले घटेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा तेस्रो मुलुकबाट आएका पर्यटकको संख्या केही वृद्धि भएको देखिन्छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ९७.७ प्रतिशतले घटेको थियो । यो अवधिमा पर्यटकीय होटलमा आन्तरिक पर्यटकको संख्या १२.७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आन्तरिक पर्यटकको संख्या ६२.३ प्रतिशले घेटेको थियो ।

विराटनगर तथा काँकडभिट्टा नाकामा आवागमन केही खुकुलो भएसँगै भारतीय पर्यटकको संख्यामा वृद्धि भएको देखिन्छ । एक वर्षमा पर्यटकीय होटलमा कार्यरत २.७ प्रतिशत कर्मचारीले रोजगारी गुमाएका छन् भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २४.६ प्रतिशतले रोजगारी गुमाएका थिए ।

प्रदेश १ मा पर्यटकको लागि धेरै सम्भावना भएको प्रदेश हो । यो प्रदेशमा विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको छ । त्यतिमात्रै नभएर कञ्चनजङगा, मकालुलगायतका कैयान हिमालहरु रहेका छन् । यही प्रदेशमा सगरमाथा राष्ट्रिय निकुञ्ज, कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र, कञ्चनजङ्घा संरक्षण क्षेत्र, मकालु–वरुण राष्ट्रिय निकुञ्ज रहेका छन् ।

प्रदेश १ मा हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर ताप्लेजुङमा पाथिभरा देवी मन्दिर रहेको छ भने खोटाङमा हलेसी महादेव मन्दिर, वराहक्षेत्र रहेका छन् । यस्तै तेह्रथुममा रहेको गुराँस, इलामको माइपोखरी, ह्यात्रुङ झरना, संखुवासभाको सभापोखरी र गुफापोखरी, साल्पापोखरी पर्यटकीय क्षेत्र हुन्  ।


क्लिकमान्डु