ठगी गर्ने नियतले बीमा दाबीका गुनासा आएपछि कारवाही गर्ने बीमा समितिको चेतावनी



काठमाडौं । बीमा समितिले ठगी गर्ने नियतले बीमा दाबी भुक्तानी गर्ने प्रयास गरेको गुनासाहरु आएको बताएको छ ।

बीमाको नाममा कीर्ते र जालसाजीपूर्ण कागजात तथा व्यहोरा पेश गरी ठगीलगायतका बीमा सम्बन्धि कसूर गर्ने गरेको गुनासो आएपछि समितिले त्यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

कीर्ते कागजात एव्म विवरणका आधारमा बीमालेख तयार गर्ने तथा हुँदै नभएका घटनाका कीर्ते कागजातहरु पेश गरी ठगी गर्ने नियतले बीमा दाबी भुक्तानी गर्ने प्रयास गरेको गुनासो आएको समितिले जनाएको छ ।

कानून विपरीतका त्यस्ता खाले क्रियाकलापबाट बीमा व्यवसायमा नकारात्मक असर पर्ने समितिको बुझाइ छ । साथै, बीमित तथा लाभग्राहीहरु पनि पीडित भई बीमा क्षेत्र प्रति जनविश्वास घट्न जाने समितिको भनाइ छ ।

यसका साथै बीमा क्षेत्रको शाखमा समेत ह्रास आउने भएकोले त्यस प्रकारका गलत क्रियाकलापमा संलग्न हुने बीमा कम्पनी, बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयर र अन्य सम्बद्ध व्यक्ति तथा संस्थाहरु माथि कारबाही गरिने समितिले जनाएको छ ।


क्लिकमान्डु