नयाँ जीवन बीमा कम्पनीले बाँड्न थाले लाभांश, ५ कम्पनीको आईपीओ आउन बाँकी



काठमाडौँ । नयाँ जीवन बीमा कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गर्न थालेका छन् । सञ्चालनको अनुमति एकै पटक पाएका कम्पनीहरुले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरी लाभांश बाँड्दा पनि अझै पाँच कम्पनीको आईपीओ आउन बाँकी छ ।

नयाँ जीवन बीमा कम्पनीहरुमा ज्योति लाइफ, युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिसकेका छन् । आईपीओ निष्कासन गरेका ज्योति लाइफ र रिलायन्स लाइफले लगानीकर्ताका लागि लाभांश घोषणा गरेका छन् ।

बीमा समितिले १० वटा जीवन बीमा कम्पनीलाई एकैपटक लाइसेन्स दिएको थियो । १० जीवन बीमा कम्पनीमध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्स भने कान्छो कम्पनी हो ।

पाँच नयाँ जीवन बीमा कम्पनी रिलायवल नेपाल, सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफले सर्वसाधारणका लागि आईपीओ जारी गर्न बाँकी छ ।

पाँच कम्पनीले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन आउन बाँकी छ । यी पाँच कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको सेयर निष्कासन गर्नेछन् ।

रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले प्रिमियममा आईपीओ जारी गर्ने
सर्वसाधारणका लागि आईपीओ जारी गर्न बाँकी रहेका पाँच कम्पनीमध्ये रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् ।

रिलायबल नेपाल लाइफले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता २१२ रुपैयाँका दरले ६० लाख कित्ता शेयर निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन समेत दिएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले पनि वार्षिक साधारणसभाबाट प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले बीमा समितिबाट समेत स्वीकृत पाइसकेको छ ।

३ अर्ब १५ करोड रुपैयाँको आईपीओ आउने
पाँच बीमा कम्पनीले १३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छन् । पाँच कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ७५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ ।

अन्य चार बीमा कम्पनी आईएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६०÷६० करोड रुपैयाँको आईपीओ जारी गर्नेछन् ।

कुन कम्पनीको कहाँ पुग्यो प्रक्रिया ?
महालक्ष्मी लाइफ इनस्योरेन्स कम्पनी बाहेक आईपीओ जारी गर्न बाँकी रहेका कम्पनीहरुले बिक्री प्रबन्धक चयन गर्ने तथा रेटिङ गराउने कार्य समेत गराइसकेका छन् ।

सिटिजन लाइफको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी–आईआर बीबीबी(त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

आईएमई लाइफको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनी समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेको जनाउँछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

सन नेपाल लाइफको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ दिएको छ । जसले औसत भन्दा कमजोर वित्तीय अवस्था रहेको कम्पनी भन्ने जनाँउछ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्ने छ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी ट्रीपल बी रेटिङ पाएको छ ।


क्लिकमान्डु