कोरोना न्यून भएसँगै चन्द्रागिरी हिल्सको वित्तीय अवस्था सुधारोउन्मुख



काठमाडौं । कोरोना महामारी न्यून भएसँगै चन्द्रागिरी हिल्सको वित्तीय अवस्था पनि सुधारोउन्मुख भएको छ ।

कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नोक्सान घट्न थालेको छ ।

यो अवधिमा कम्पनीको नोक्सान घटेर ३ करोड ८७ लाख २१ हजार रुपैयाँ नोक्सानमा नै रहेको छ । गत आवको सोही अवधिमा ८ करोड ७१ लाख ५९ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । कोरोना महामारीका कारण सरकारले गरेको निषेधाज्ञाको असर होटल क्षेत्रमा पनि परेको छ । अहिले पनि होटलहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । जसको असर चन्द्रागिरी हिल्समा पनि परेको छ ।

असोज मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी बढेर ८ करोड १५ लाख ७० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४४ लाख २० हजार रुपैयाँ रहेको थियो । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी २ लाख ९६ हजार रुपैयाँबाट घटेर १ लाख ३ हजार रुपैयाँ मात्रै रहेको छ ।

१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ४३ करोड २२ लाख ८१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जगेडा कोष २२ करोड ६८ लाख ७७ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । यो अवधिमा आइपुग्दा जगेडा कोष रित्तदै गएको प्रकाशित वित्तीय अवस्थामा उल्लेख छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी पनि नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा ६ रुपैयाँ ४६ पैसा नोक्सानमा रहेकोमा चालु आवको सोही अवधिमा उक्त नोक्सानी घटेर २ रुपैयाँ ५२ पैसा रहेको छ ।

गत आवको पहिलो त्रैमासमा ८३ रुपैयाँ १९ पैसा प्रतिसेयर नेटवर्थ रहेकोमा चालु आवको सोही अवधिमा आइपुग्दा घटेर ७१ रुपैयाँ ८२ पैसा रहेको छ ।


क्लिकमान्डु