उपत्यकाका ११ ठाउँमा आकाशेपुल बन्दै, कहाँ कति काम सकियो ?



काठमाडौं । उपत्यकामा दिनप्रतिदिन ट्राफिक व्यवस्थापन पेचिलो बन्दै जाँदा यहाँका व्यस्त चोकहरुमा आकाशेपुलको आवश्यकता बढेको छ ।

सोही आवश्यकता महशुस गर्दै काठमाडौं महानगरपालिकाले अहिले सहरको विभिन्न चोकहरुमा आकाशेपुल निर्माण गर्ने योजनालाई प्राथामिकताका साथ अघि सरिरहेको छ ।

काठमाडौंमा आकाशेपुलको विकास पहिलोपटक २०४० को दशकमा भएको हो । तत्कालीन नगर विकास पञ्चायतले आकर्षकद्वार सहितको २ वटा पुल सुन्धारा र अहिलेको विद्युत् प्राधिकरण अघि बनाएको थियो ।

उपत्यकाको सडकमा अतिआवश्यक स्थानमा पनि आकाशेपुल नहुँदा पैदल यात्रुहरुले अकालमै ज्यान गुमाउनु परिरहेको छ । आकाशे पुल नभएका कारण वर्षेनी सयौंको संख्यामा पैदल यात्रुहरुले ज्यान गुमाइरहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तयार गरेको तथ्यांक केलाउँदा ४ वर्षको अवधिमा २ सय ५६ जना पैदल यात्रुको मृत्यु भएको छ भने ४ हजार २ सय १० जना घाइते भएका छन् ।

यो समस्या समाधानको विकल्प भनेको आकाशे पुल निर्माण गर्नुनै रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जिव शर्मा दासले बताए ।

प्रवक्ता दासका अनुसार उपत्यकाभित्र अहिले ४७ वटा आकाशेपुल छन् । उपत्यकाका मुख्य–मुख्य चोकमा आकाशेपुल भएमा पैदल यात्रुको ज्यान जोगिने उनी बताउँछन् ।

महानगरपालिकाले काठमाडौंमा आकाशे पुल अरु पनि थप्ने तयारी भइरहेको बताएको छ । यहीअनुरुप नयाँ बानेश्वर, चाबहिल, जयवागेश्वरी र माइतीघरमा पुल निर्माणको काम चलिरहेकोमा कतै संचालन भएको छ भने कतै काम रोकिएको अवस्था छ ।

महानगरपालिकाको शहरी पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार ट्राफिक प्रहरीको अनुरोधमा कालीमाटी चोक, सोह्रखुट्टे चोक, महाराजगञ्ज, कोटेश्वर, चाबहिल चुच्चेपाटी, मित्रपार्कलगायतका ११ ठाउँमा आकाशेपुल बनाउने योजना समेत स्वीकृत भइसकेको बताउँछन् ।

जयवागेश्वरीको आकाशेपुल निर्माण किन रोकियो ?

काठमाडौं महानगरपालिकाले गौशलास्थित जयवागेश्वरीमा बनाएको आकाशेपुल पनि फलामको खम्बा मात्रै ठडिएको देखिन्छ । लामो समय बितिसक्दा पनि अरु काम अगाडि बढेको छैन ।

ठडिएको फलाममा खिया लागेको देखिन्छ । खम्बामा झार पलाएका छन् । पैदल यात्रुलाई हिँड्ने सडक पेटी ध्वस्त पारिएको छ । न हिँड्न मिल्छ, न पुल नै बन्यो ।

महानगरपालिकाले ७७ लाख रुपैयाँको लागतमा पुल निर्माण गर्न लागेको हो । कोरोना महामारी सुरु हुनुअघिसम्म महिनामा लाखौँ मानिस पशुपतिनाथ मन्दिर दर्शनमा आउने गरेका थिए । गत साउन महिना, तीज, बालाचतुर्दशी, महाशिवरात्रिजस्ता पर्वमा एकै दिन लाखौँ भक्तजन यही बाटो भएर पशुपतिनाथ मन्दिर जाने गरेका छन् ।

धेरै मानिस ओहोरदोहोर गर्ने स्थानमा आकाशेपुल नहुँदा दुर्घटनाको जोखिम बढेको देखिन्छ । समयमा पुल नबन्दा त्यही ठाउँबाट सडक पार गरी पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजन र हिँड्ने पैदल यात्रुलाई सँधै जोखिम छ ।

शहरी पूर्वाधार विभाग प्रमुख राम थापाले भने नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार व्यवस्थित नगरी दिएकाले काम रोकिएको बताउँदै आएका छन् । पूर्वाधार विभागकाअनुसार उक्त क्षेत्रमा ११ हजार भोल्टेजको बिजुली तार र पोल भएकाले काम गर्न बठिन भएको बताएको छ ।

‘तार भूमिगत गर्न १२ लाख रुपैयाँ बजेट लाग्ने लागत स्टमेट अनुमान गरिएको थियो, त्यसका लागि बजेटको पनि व्यवस्थापन भइसकेको छ,’ उनले भने, ‘तर , दुई वर्षदेखि आकाशेपुल अलपत्र बनेको छ ।’

यता पुल निर्माण गर्ने जिम्मेवारी पाएको रिजेन्सी कन्स्ट्रक्सनले सूचना पाटीसमेत नराखी काम गरेकामा स्थानीयवासीहरु आपत्ति जनाउँछन् ।

महानगरपालिकाले ‘साइड क्लियर’ नभइ ठेक्का गर्दा २ वर्षदेखि पुल अलपत्र भएको हो । अलपत्र आकाशेपुलका कारण पैदलयात्रुलाई हिँड्नसमेत असहज हुने गरेको छ ।

एकातिर अलपत्र पुल र अर्कोतिर फलामलगायत केही अप्ठ्यारा निर्माण सामग्री थुपार्दा पैदलयात्रीलाई अप्ठ्यारो भएको हो । निर्माण सामग्रीकै कारण दुर्घटनाको जोखिमसमेत बढेको स्थानिय बताउँछन् ।

‘ती तार भूमिगत भएपछि मात्रै पुल बनाउन सकिने अवस्था छ । पुरानो बानेश्वरमा रहेको प्राधिकरणलाई तार भूमिगत गर्न भनि अनुरोध गर्दा करिब १२ लाख भूमिगतका लागि खर्च माग्यो,’ प्रमुख थापाले भने, ‘महानगर दिन तयार भयो, काम सकेपछि भुक्तानी गर्छौं भन्दा पनि मानेन, तत्कालै भुक्तानी गर्नलाई लेखामा फाईल बुझाएकोमा स्वीकृति भएर फाईल आयो । तर, प्रधिकरणले काम गर्न मानेन ।’

उनका अनुसार प्राधिकरणलाई पैसा दिएपछि तार व्यवस्थित गर्ने काम तत्कालै थाल्नका लागि ताकेता गदैर्छौ ।

दशैं आसपासमा रोकिएको काम तार भुमिगत भएपछि पुनः शुरु हुने उनले बताए । उक्त पुल निर्माणका लागि अब जम्मा २० दिन भन्दा धेरै समय नलाग्ने पनि थापाले बताए ।

जोरपाटी चोकमा आकाशे पुल निमार्ण गर्ने योजना कागजमा मात्रै सीमित

जोरपाटी चोकमा आकाशे पुल निमार्ण गर्ने योजना जस्ताको त्यस्तै भएको छ । गोकर्णेश्वर नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक योजना तथा कार्यक्रममा बढी चहलपहल हुने जोरपाटी चोकमा आकाशेपुल निमार्ण गर्ने योजना समेटेको थियो ।

यसका लागि नगरपलिकाले २ करोड रुपैयाँ बजेट पनि विनियोजन गरेको छ ।

पुल बन्ने खबरले स्थानीय र पैदल यात्रु केहि हदसम्म हर्सित पनि भएका थिए । तर, उक्त योजना कागजमा मात्रै सीमित रह्यो । नगरप्रमुखलगायत जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा पनि आकाशेपुलका लागि जोरपाटी चोकमा जगसमेत खनिएको छैन । जनप्रतिनिधिले कार्यभार सम्हालेको चार वर्ष पूरा भइसकेको छ ।

पुल नबने पनि नगरपालिकाले बर्सेनि नीति तथा कार्यक्रममा भने उक्त पुल बनाउने योजना समावेश गर्ने गरेको स्थानियहरु बताउँछन् । यता, नगरपालिकाका प्रवक्ता मनोज कुमार ढुङ्गनाले पुल निर्माण गर्न डिजाइन तयार भैसकेको जानकारी दिँदै अब तत्कालै काम थाल्ने बताउँदै आएका छन् ।

‘बर्षाका कारण काम रोकिएको हो । अब तिहार पछि लगतै काम शुरु हुन्छ,’ उनले भने ।

कोटेश्वर चोकमा बन्ने आकाशेपुल स्थानीयका कारण ठेक्का सम्झौतामा अड्कियो

डिभिजन कार्यालय काठमाडौंले कोटेश्वर चोकमा पनि पैदल यात्रुको सहजताका लागि आकाशेपुल बनाउने योजना अघिसारेको थियो । सोही अनुरूप पुल निर्माण गर्न प्राकृतिक/पवन/जेभीले नै २०७५ साल चैत २५ गते दुई करोड ८९ लाख रुपैयाँमा निर्माणको सम्झौता गरेको थियो । सम्झौतामा २०७६ पुस मसान्तसम्म पुल ठड्याइ सक्नुपर्ने उल्लेख छ ।

सम्झौताअनुसार काम नभएपछि २०७७ पुस मसान्तभित्र काम सक्ने गरी पुनः सम्झौता भयो । तर, यो अवधिमा पुल त बनेन हालसम्म पुलका लागि जग समेत खनिएको देखिँदैन ।

सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर प्रमुख कुवेर नेपाली भन्छन्, ‘पुल निर्माणको ठेक्का लागेपनि स्थानीयले बनाउन नदिएपछि विवाद उत्पन्न भयो, त्यसैले त्यहाँ अहिलेसम्म पनि काम थाल्न सकिएन ।’

प्रमुख नेपालीका अनुसार स्थानीयले बनाउन नदिएपछि बबरमहल वा जुन भीडभाड हुने ठाउँ छ, त्यहाँ पुल बनाउने योजना बनेको छ ।

‘कोटेश्वरमा बनाउने पुल अब कुन ठाउँमा बनाउने भन्नेबारे छलफल भैरहेको छ, टुंगो लागेपछि काम थाल्छौँ,’ नेपालीले भने, ‘अब कोटेश्वरमा आकाशेपुल बन्छ या बन्दैन त्यो अन्योवलमा परेको छ ।’

माइतीघरको आकाशेपुलमा पनि तारको समस्या अझैं उस्तै

पुरातत्व विभाग अगाडी रहेको आकाशेपुल संचालन भएको झण्डै १ वर्ष भइसकेको छ । यस पुल माथि रहेको विद्युत् प्राधिकरण र टेलिकमले अहिले सम्म तारको समस्या हटाउन मानेका छैनन् ।

यसमा रहेको तार हटाउन तथा भुमिगत गर्न महानगरपालिकाको शहरी पूर्वाधार विभागले पुल बन्नुभन्दा अघिदेखि ताकेता गर्दै आएको प्रमुख थापाले बताए ।

‘हामिले पत्रचारदेखि भेटघाटसमेत कत्ति गरेका छौं । तर, काम भने अहिले सम्म पनि भएको छैन । उहाँहरुको पक्षबाट काम किन हुन नसकेको हो उहाँहरुलाई थाहाँ छ,’ थापाले भने, ‘ न टेलिकमबाट काम भयो न विद्युत् प्राधिकरण बाट नै । पुल संचालन छ तर जोखिम ।’

अहिले पुल संचालन भएपनि तार व्यवस्थापन नहुँदा जोखिम रहेको थापाको भनाइ छ । ‘तार पुलको नजिकै रहेका कारण कति खेर के हुन्छ भन्न सकिने अवस्था छैन,’ थापाले भने, ‘हामी आफैले तार हटाउन नमिल्ने, उहाँहरुलाई भन्दा त्यही हिसाबले लिदिनु हुन्न ।’

बानेश्वर चोकमा निर्माण भएको आकाशेपुल संचालनमा

लामो समयदेखि निर्मार्णाधिन रहेको बानेश्वरको आकाशेपुल अहिले संचालनमा आएको छ । काठमाडौं सडक डिभिजन कार्यलयका प्रमुख कुवेर नेपालीका अनुसार काठमाडौंको सबै भन्दा बेस्त चोक बानेश्वरमा ३ वर्ष पछि आकाशे पुल संचालनमा आएको छ ।

यो चोकमा साँझ–बिहानको कार्यालय समयमा बाटो काट्न यात्रुले सास्ती खेप्दै आएका थिए तर अब भने त्यो सास्ती भोग्नु नपर्ने भएको छ । अफिस समयमा यो चोकमा झण्डै ७ मिनेट जति बाटो काट्नमै लाग्ने गरेको आम नागरिकले बताउदै आएका थिए । हाल त्यो समयको बचत समेत हुने भएको छ ।

यो आकाशेपुल सार्न मिल्ने

यो आकाशेपुल सार्न मिल्ने खाल्को भएको पनि प्रमुख नेपालीले बताए । ‘अत्याधुनिक तरिकाबाट चोकहरू सुधार गर्ने, अन्डरग्राउन्ड बनाउने योजना आयो भने पनि उठाएर अर्को ठाउँमा प्रयोग गर्न मिल्छ,’ उनले भने, ‘स्टिल भएकाले त्यसलाई अर्को ठाउँमा सजिलै लैजान सकिन्छ ।’

कहिलेकाहीँ विभिन्न कारणले बनिसकेको ठूलो पुल यसै भत्काउनुपर्ने अवस्था आउन सक्छ । बाटो विस्तार हुँदै छ । यस्तोमा कुनै ठाउँको पुलको अवस्थिति नमिलेर भत्काउनुपर्ने हुन सक्छ । तर, यसलाई भत्काउनु नपर्ने नेपालीको भनाइ छ ।

उपत्यकामा नयाँ ३ ठाउँमा आकाशेपुल बन्ने प्रक्रिया अगाडी बढ्दै

सरकारले उपत्यकामा ट्राफिक नियन्त्र र आम नागरिकको सुरक्षाका लागि भनेर आकाशेपुलको निर्माण कार्यलाई तिब्रताका साथ अगाडी भढाएको छ । यसै सिलसिलमा काठमाडौं उपत्यकाले नयाँ ३ वटा आकाशे पुल निर्माण गर्ने भएको छ । जसका लागि अहिले काठमाडौं महानगरपालिकाले ठेक्कामा हुने मूल्याङकनको प्रक्रिया पुरा गरिरहेको छ ।

मित्रपार्कमा रहेको काठमाडौं महानगरपालिका वडा न. ८ को कार्यलय अगाडी नयाँ आकाशेपुल निर्माण गर्न लागको महानगरपालिकाको शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बताए ।

‘यस क्षेत्रमा बन्न लागेको आकाशेपुल लागि १ करोड बजेट छुट्याइको छ,’ थापाले भने, ‘अहिले ठेक्काको मूल्याङ्कन प्रक्रिया चलिरहेको छ ।’

अर्को भनेको चाबहिल नजिकै रहेको धोवि खोला र ओम हस्पिटलको अलि माथि पट्टि निर्माण हुने थापाले बताए । यस क्षेत्रमा बन्न लागको आकाशे पुल बनेश्वरमा रहेको आकाशेपुलको जत्रै लम्बाई रहेको पनि थापाले जानकारी दिएका छन् ।

यसका लागि झण्डै साँढे १ करोड रुपैयाँ बजेट छुट्याइएको थापाले बताए । यसको पनि अहिले टेण्डर भएर ठेक्काको मूल्याङ्कन प्रक्रियामा रहेको थापाले बताए ।

त्यस्तै, विष्णुमति जोड्ने सडक शोभा भगवती निर पनि आकाशेपुल निर्माण गर्न लागेको प्रमुख थापाले बताए । यसका लागि भने हाल योजना तथा डिजाईनको काम सकिएको उनको भनाइ छ ।

यस क्षेत्रमा पनि अत्याधिक मानिसहरुको चाँप हुने गरेको देख्न्छि । मानिसको र सवारी साधनको चाँपले गर्दा यस क्षेत्रमा ट्राफिक जामलगायत दुर्घटनाको जोखिम बढेकाले आकाशेपुलको निर्माण गर्न लागिएको प्रमुख थापाको भनाइ छ ।

यो आकाशे पुल निर्माणको लागि लगभग १ करोडको बजेट छुट्याईएको थापाले बताए । अहिले यसका लागि ठेक्काको मूल्याङ्कन प्रक्रियामा रहेको पनि उनले जानकारी दिए ।

यी ३ वटै आकाशेपुलको निर्माण कार्यका लागि ठेक्काको मूल्याङ्कन तिहार अघि नै सकिने र तिहारपछि लगतै काम शुरु गर्ने पनि प्रमुख थापाले बताए ।

यस्ता आकाशेपुल निर्माण हुदाँ उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटनामा कमी आउने विश्वास गरिएको पनि थापाको भनाइ छ ।


क्लिकमान्डु