एक बैंकले अर्को बैंकमा विदेशी मुद्रामा निक्षेप राख्दा ब्याज नपाउने



काठमाडौं । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तल देखाउन विदेशी मुद्रामा बैंकहरुले बिकृत्ति निम्ताएपछि राष्ट्र बैंकले ब्याज नपाउने व्यवस्था लागु गरेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामार्फत् वाणिज्य बैंकले वाणिज्य बैंकमा राख्ने विदेशी मुद्रामा ब्याज नपाउने व्यवस्था लागु गरेको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले विदेशी मुद्रामा हुने निक्षेपको केही बैंकले दुुरुपयोग गरेपछि वाणिज्य बैंकले वाणिज्य बैंकमा राख्ने विदेशी मुद्राको निक्षेपमा ब्याजदर नपाउने व्यवस्था लागु गरिएको बताए ।

‘विदेशी मुद्राको हुने निक्षेपमा केही बैंकहरुले गलत नियतले निक्षेप राख्ने देखिएपछि ब्याजदर नपाउने व्यवस्था लागु गरिएको छ,’ ढकालले क्लिकमाण्डूसँग भने ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सीसीडी व्यवस्था खारेज गरेर सीडीमा जाने व्यवस्था लागु गरेको थियो । जसमा सीडीमा विदेशी मुद्रामा हुने निक्षेपलाई समेत निक्षेपमा देखाउन पाइने व्यवस्था थियो ।

राष्ट्र बैंकले बैंकहरुले विदेशी मुद्रामा राखेको निक्षेपको विवरण यसअघि नै माग गरेको थियो । कुन दिनमा कति रकम कति प्रतिशत ब्याजदरमा कहिलेसम्मलाई राखेको विवरण राष्ट्र बैंकले मागेको थियो ।

ठूला भनिने बैंकहरु एनआईसी एशिया बैंकले नै विदेशी मुद्राको समेत विदेशी मुद्रामा हुने निक्षेप दुरुपयोग गरेपछि राष्ट्र बैंकले बिकृति रोक्न लागेको हो ।


क्लिकमान्डु