नक्कली निक्षेप देखाउने एनआइसी एशियालाई राष्ट्र बैंकले स्पष्टिकरण सोध्ने



काठमाडौं । नक्कली निक्षेप देखाएर कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) मेन्टेन गर्ने एनआइसी एशिया लगायतका बैंकलाई राष्ट्र बैंकले एक्सन लिने भएको छ । नक्कली निक्षेप देखाएर राष्ट्र बैंकको आँखामा छारो हाल्ने काम गरेको भन्दै राष्ट्र बैंकका अधिकारीहरु यस्तो काम रोक्न लागि परेका छन् ।

साउन अन्तिममा ल्याइएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी) खारेज गर्दै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लागू गरेको थियो । राष्ट्र बैंकले यो व्यवस्था गरेपछि अधिकांश बैंकहरुको सीडी रेसियो ८५ प्रतिशतभन्दा माथि पुगेको छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार सीडी रेसियो ९० प्रतिशतभन्दा बढी हुनु हुँदैन ।

हाल डेढ दर्जन बैंकको सीडी रेसियो ९० प्रतिशत माथि छ ।

व्यवस्था परिवर्तन गर्दा बैंकहरुलाई सीडी रेसियो मेन्टेन गर्न सजिलो होस् भनेर राष्ट्र बैंकले ऋणपत्र र विदेशी मुद्रामा प्राप्त निक्षेपलाई समेत निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो।

राष्ट्र बैंकले दिएको यो सुविधाभित्र केही बैंकले नराम्रोसँग खेलेका छन् । सबैभन्दा बढी एनआइसी बैंकले खेलेको छ ।

सीडी रेसियो टाइट भएका कारण थप लगानी गर्नै नसक्ने अवस्थामा पुगेको एनआइसी एशिया बैंकले ठूलो परिमाणमा विदेशी मुद्राको नक्कली निक्षेप देखाएको हो । नेपाल राष्ट्र बैंकमा एनआईसी एशिया बैंकले बुझाएको विवरण अनुसार ३ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७८ अर्ब रुपैयाँ प्रवाह गरेको छ ।

राष्ट्र बैंकले बनाएको सीडी रेसियो गणना विधि अनुसार एनआईसी एशिया बैंकको सीडी रेसियो ८५ प्रतिशतभन्दा माथि थियो । एनआईसी एशिया बैंकले भदौ मसान्तमा २ खर्ब ९५ अर्ब रुपैयाँ स्वदेशी मुद्रामा र विदेशी मुद्रामा १९ अर्ब रुपैयाँ निक्षेप भएको देखाएको छ । भदौ मसान्तसम्म एनआईसी एशिया बैंकले २ खर्ब ७८ अर्ब कर्जा स्वदेशी मुद्रामा दिएको छ भने १ करोड कर्जा मात्र विदेशी मुद्रामा दिएको छ ।

‘१९ अर्ब रुपैयाँ विदेशी मुद्रामा निक्षेप रहेको बैंकले १ करोडपनि विदेशी मुद्रामा कर्जा नदिएपछि एनआईसी एशियाले विदेशी मुद्रामा नक्कली निक्षेप देखाएको भेटियो,’ राष्ट्र बैंकका एक अधिकारीले क्लिकमाण्डूसँग भने, ‘सीडी रेसियोलाई सहज बनाउन एनआईसी एशिया बैंकले ठूलो बद्मासी गरेको देखियो ।’

विदेशी मुद्रामा सबैभन्दा बढी निक्षेप स्टाण्डर्ड चार्टर्ड बैंकको हुने गरेको छ । भदौ मसान्तमा चार्टर्डसँग भएको भन्दा बढी विदेशी मुद्राको निक्षेप देखिएपछि एनआईसीको बद्मासी बाहिर आएको हो । एनआईसी एशिया बैंक बाहेक अन्य केही बैंकले पनि विदेशी मुद्रामा नक्कली निक्षेप राख्ने भेटिएको हो ।

बैंकहरुले विदेशी मुद्राको नक्कली निक्षेप राखेको भेटिएपछि राष्ट्र बैंकले बैंकर्स संघका पदाधिकारीहरुलाई बोलाएर यस्तो नगर्न चेतावनी दिएको थियो । तर, चेतावनी दिँदा पनि बैंकहरु नसुध्रिएपछि नक्कली निक्षेप राख्ने बैंकका सीइओलाई फेरि अर्को चेतावनी दिइएको राष्ट्र बैंकको नियमन विभागका एक अधिकारीले बताए ।

राष्ट्र बैंकले बैंकहरुमा मौज्दात विदेशी मुद्राको निक्षेप र अन्य निक्षेपको विवरणका माग गरेर अध्ययन गरिरहेको छ ।

‘एउटा बैंकमा जम्मा भएको विदेशी मुद्राको निक्षेप ३/४ वटा बैंकहरुले पनि गणना गरी नक्कली निक्षेप सिर्जना गरेको पाइएपछि त्यसलाई रोक्न निर्देशन दिइसकेका छौं,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘मौखिकरुपमा भन्दा सच्चिएनन् भने परिपत्र नै जारी गरेर यस्तो विकृति रोक्छौं ।’

परिपत्रमा विदेशी मुद्रामा प्राप्त निक्षेपमा कति ब्याज दिने, कति समयका लागि कतिवटा बैंकमा राख्न मिल्ने, क-कसले गणना गर्न पाउनेजस्ता विषयलाई प्रष्ट रुपमा तोकिने छ ।

राष्ट्र बैंकले बैंकहरुले विदेशी मुद्रामा निक्षेप अर्को बैंकमा राख्न सकिने व्यवस्था गरेको थियो । उदाहरणका लागि ‘क’ भन्ने बैंकले ‘ख’ भन्ने बैंकमा विदेशी मुद्रामा निक्षेप राख्यो । त्यसपछि ‘ख’ भन्ने बैंकले ‘ग’ भन्ने बैंकमा सोही निक्षेप राख्यो । ‘ग’ भन्ने बैंकले ‘क’मा आएर सोही निक्षेप राख्यो । यसरी बैंकहरुले विदेशी मुद्रामा हुने एउटै रकमको निक्षेपलाई देखाएर कर्जा दिने बाटो खोले । जुन सरासर गलत हो ।

भदौमा बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि बैंकहरुले यस्तो बदमासी गरेका हुन् । भदौ महिनामा बैंकहरुले पठाउने गरेको निक्षेप र कर्जाको विवरण हेरेपछि राष्ट्र बैंकका नियमन र सुपरिवेक्षणका अधिकारीहरु झस्केका थिए ।

असार मसान्तमा वाणिज्य बैंकसँग ४२ खर्ब १ अर्ब निक्षेप थियो । साउन मसान्तमा ७८ अर्बले निक्षेप घटेर ४१ खर्ब २३ अर्बमा आएको थियो । भदौ मसान्तमा साउन मसान्तको तुलनामा निक्षेप बढेर ४७ अर्बले निक्षेप बढेर ४१ खर्ब ७१ अर्ब पुगेको थियो ।

‘राष्ट्र बैंकले लिएको नीतिपछि केही बैंकले सीडी रेसियो घटाउनका लागि नक्कली निक्षेपको सहारा लिएको देखिन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘सानो आकारमा खेल्दा त हामीले नदेखेझैं गरेका थियौं तर एनआइसी एशियाले सबैभन्दा बढी नक्कली निक्षेप देखाएपछि हामी झस्किएका छौं ।’

तर, एनआइसी एशिया बैंकले भने नक्कली निक्षेप नराखेको दाबी गरेको छ । यसअघि क्लिकमाण्डूमा ‘एनआईसी एशिया बैंकले नक्कली निक्षेप देखाएर सीडी रेसियो घटायो’ शीर्षकमा समाचार प्रकाशित भएपछि बैंकले विज्ञप्ति नै जारी गर्दै समाचारको खण्डन गरेको थियो ।

‘यस बैंकले कुनै पनि कृतिम निक्षेप संकलन कहिल्यै नगरेको, आफ्नो व्यवसायिक रणनीति अनुरुप स्वदेशी तथा विदेशी निक्षेप संकलनमा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको नीति नियम तथा निर्देशिकाहरुको शब्द तथा भावना अनुसार आफ्ना कृयाकलापहरु गरेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिन प्रतिबद्ध रहेको जानकारी गराउँदछौं,’ बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु