एनआईसी एशिया बैंकले नक्कली निक्षेप देखाएर सीडी रेसियो घटायो



काठमाडौं । भदौ महिनामा बैंकहरुले पठाउने गरेको निक्षेप र कर्जाको विवरण हेरेपछि राष्ट्र बैंकका नियमन र सुपरिवेक्षणका अधिकारीहरु झस्के । साउन र भदौ महिनामा भएको उच्च आयात तथा रेमिटेन्स नबढेको कारण बैंकहरुबाट निक्षेप घटेको थियो ।

असार मसान्तमा वाणिज्य बैंकसँग ४२ खर्ब १ अर्ब निक्षेप थियो । साउन मसान्तमा ७८ अर्बले निक्षेप घटेर ४१ खर्ब २३ अर्बमा आएको थियो । भदौ मसान्तमा साउन मसान्तको तुलनामा निक्षेप बढेर ४७ अर्बले निक्षेप बढेर ४१ खर्ब ७१ अर्ब पुगेको थियो ।

केही बैंकहरुले निक्षेप बढाउनको लागि विदेशी मुद्रामा हुने निक्षेपलाई नक्कली बनाएर बढाएका थिए । राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात(सीडी) रेसियो गणनाका लागि विदेशी मुद्रामा हुने निक्षेपलाई पनि गणना गर्न दिने सुविधा दिएको हुन्छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सीसीडी रेसियो खारेज गरेर सीडीमा जाने व्यवस्था लागू गरेको छ । सो व्यवस्थाले बैंकहरुलाई भने निकै समस्यामा पारेको छ । पूँजीको आधार बलियो भएका बैंकहरुको सो रकम भने लगानीबिना नै बस्ने भएको छ ।

राष्ट्र बैंकले लिएको नीतिपछि केही बैंकले सीडी रेसियो घटाउनका लागि नक्कली निक्षेपको सहारा लिए । यसमा पहिलो नम्बरमा थियो एनआईसी एशिया बैंक ।

नेपाल राष्ट्र बैंकमा एनआईसी एशिया बैंकले बुझाएको विवरण अनुसार ३ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा भने २ खर्ब ७८ अर्ब रुपैयाँ प्रवाह गरेको छ ।

राष्ट्र बैंकले बनाएको सीडी रेसियो गणना विधि अनुसार एनआईसी एशिया बैंकको सीडी रेसियो ८५ प्रतिशत थियो । एनआईसी एशिया बैंकले भदौ मसान्तमा २ खर्ब ९५ अर्ब रुपैयाँ स्वदेशी मुद्रामा र विदेशी मुद्रामा १९ अर्ब रुपैयाँ निक्षेप भएको देखाएको छ । भदौ मसान्तसम्म एनआईसी एशिया बैंकले २ खर्ब ७८ अर्ब कर्जा स्वदेशी मुद्रामा दिएको छ भने १ करोड कर्जा मात्र विदेशी मुद्रामा दिएको छ ।

‘१९ अर्ब रुपैयाँ विदेशी मुद्रामा निक्षेप रहेको बैंकले १ करोडपनि विदेशी मुद्रामा कर्जा नदिएपछि एनआईसी एशियाले विदेशी मुद्रामा नक्कली निक्षेप देखाएको भेटियो, सीडी रेसियोलाई सहज बनाउन एनआईसी एशिया बैंकले ठूलो बद्मासी गरेको देखियो,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

विदेशी मुद्रामा सबैभन्दा बढी निक्षेप स्टाण्डर्ड चार्र्टर्ड बैंकको हुने गरेको छ । भदौ मसान्तमा चार्टर्डसँग भएको भन्दा बढी विदेशी मुद्राको निक्षेप देखिएपछि एनआईसीको बद्मासी बाहिर आएको छ । एनआईसी एशिया बैंक बाहेक अन्य केही बैंकले पनि विदेशी मुद्रामा नक्कली निक्षेप राख्ने भेटिएको हो ।

विदेशी मुद्रामा नक्कली निक्षेप राखेपछि बैंकहरुको सीडी रेसियो कम हुन्छ । जसले गर्दा बैंकहरुले स्वदेशी मुद्रामा बढी कर्जा दिनसक्छन् । उदाहरणका लागि एनआईसी एशियाले ८५ प्रतिशत सीडी रेसियो देखाएको छ । एनआईसीलाई थप ५ प्रतिशत कर्जा यही अनुपातमा दिनसक्छ । एनआईसी एशियाले कर्जा दिने स्रोत नै नभएपछि राष्ट्र बैंकको नीतिको कमजोरीमा खेलेको हो ।

राष्ट्र बैंकले बैंकहरुले विदेशी मुद्रामा निक्षेप अर्को बैंकमा राख्न सकिने व्यवस्था गरेको छ । उदाहरणको लागि ‘क’ भन्ने बैंकले ‘ख’ भन्ने बैंकमा विदेशी मुद्रामा निक्षेप राख्यो । त्यसपछि ‘ख’ भन्ने बैंकले ‘ग’ भन्ने बैंकमा सोही निक्षेप राख्यो । ‘ग’ भन्ने बैंकले ‘क’मा आएर सोही निक्षेप राख्यो । यसरी बैंकहरुले विदेशी मुद्रामा हुने एउटै रकमको निक्षेपलाई देखाएर कर्जा दिने बाटो खोले ।

राष्ट्र बैंकले भन्यो सच्चिनु
राष्ट्र बैंकले बैंकहरुको गल्ती थाह पाएपछि सच्चिनको लागि मौका दिएको छ ।

राष्ट्र बैंकका अधिकारीहरुले नेपाल बैकर्स संघका पदाधिकारी सहित केही सीइओलाई बोलाएर नक्कली निक्षेप राख्ने काम बन्द गर्न निर्देशन दिएको छ ।

‘अहिलेलाई गल्तीलाई सच्चाउने काम गर्नुहोस्,सच्चियन भने कारवाही हुने छ,’ राष्ट्र बैंकका अधिकारीहरुले बैंकरलाई बोलाएर राखेको बैठकमा भनेका थिए ।

बैंकको खण्डन

क्लिकमाण्डूमा समाचार प्रकाशित भएपछि बैंकले उक्त समाचारको खण्डन समेत गरेको छ । बैंकलो भने नक्कली निक्षेप नराखेको दाबी समेत गरेको छ ।

बैंकले भनेको छ, ‘यस बैंकले कुनै पनि कृतिम निक्षेप संकलन कहिल्यै नगरेको, आफ्नो व्यवसायिक रणनीति अनुरुप स्वदेशी तथा विदेशी निक्षेप संकलनमा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको नीति नियम तथा निर्देशिकाहरुको शब्द तथा भावना अनुसार आफ्ना कृयाकलापहरु गरेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिन प्रतिबद्ध रहेको जानकारी गराउँदछौं ।’


क्लिकमान्डु