८ वर्षदेखि चर्चामै सीमित सिद्धबाबा सुरुङमार्ग, निर्माणका लागि ९ वटा आवेदन



काठमाडौं । विगत ८ वर्षदेखि चर्चामा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माण यसवर्षदेखि शुरु हुने अपेक्षा गरिएको छ । आयोजना कार्यालयअनुसार बुटवल–तानसेन सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रको सुरुङमार्ग निर्माणको काम आर्थिक वर्षभित्रै शुरु गर्ने गरी काम भइरहेकोे छ ।

अर्थमन्त्रालयले भौतिक पूर्वधार तथा यातायात मन्त्रालयलाई ठेक्कका प्रक्रिया अघि बढाउन सहमति प्रदान २०७६ मै गरेको थियो । २०७६ मंसिर १ गते बसेको मन्त्रिपरिषदको बैठकले सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँमा प्रदान गर्ने निर्णयसमेत गरेको थियो ।

सिद्धबाबा क्षेत्र करिब ५ किलोमिटर लम्बाइको छ । सुरुङमार्ग आयोजनामध्ये १ हजार १२६ मिटरको टनेल, ७ सय ८० मिटरको डबल लेन ‘रक सेड’ हुनेछ । माथिल्लो भागमा रक नेट र स्लोप प्रोटेक्सनलगायत कामसमेत हुने विभागले बताएको छ ।

सिद्धबाबा तराईबाट पश्चिम पहाड जोड्ने मुख्य मार्ग हो । यहाँबाट गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ, पर्वत कास्कीलगायत जिल्ला जाने गरिन्छ ।

चालु आर्थिक वर्षमा सुरुङमार्गको लागि १० अर्ब रुपैया अर्थमन्त्रालयले छुट्याएको थियो । ठेक्का प्रक्रियाको लागि सडक विभाग अन्तर्गतको गुणस्तर अनुसान्धान तथा विकास केन्द्रले कागजात पनि तयार पारेको थियो । कागजात सहितको फाइल सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)मा अड्किएको थियो ।

तर, हाल आयोजनाले सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिसकेको विभागका प्रमुख डा. विजय जैसीले बताए ।

कोरोना महामारीका कारण धकेलिएको आयोजना अब भने बिस्तारै शुरु हुने लाइनमा बसेको छ । जसमा ९ वटा कम्पनीले निर्माण गर्न प्रतिष्पर्धाका लागि निवेदन दिएका छन् । आवेदन दिनेमा अधिकांश चिनियाँ कम्पनी रहेको पनि जैसीले बताए । निर्माण कम्पनीले आवेदन दिएको झण्डै डेढ महिना पूरा भइसकेको छ ।

अहिले आवेदन दिने कम्पनीहरुसँग उनीहरुको आवश्यक कागजपत्र मगाई मूल्यांकन गर्ने कार्य भइरहेको आयोजना विभाग प्रमुख डा. जैसीले बताए ।

‘निवेदन दिएका कम्पनीहरुका छनोट प्रक्रिया सक्न अझै तीन महिना लाग्ने छ । त्यसपछि मात्र छनोट भएको कम्पनीले ९ महिनाभित्र भिन्न डिजाइनसहित काम शुरु गर्नुपर्ने सर्तमा राखिएको छ,’ उनले भने ।

‘चालु वर्षभित्रै हामी निर्माणमा जाने छौ । सरकारले चालु आर्थिक वर्षमा सुरुङमार्गका लागि रकम छुट्टाइएको छ,’ डा. जैसीले भने, ‘प्रतिस्थापन विधेयकमार्फत २० करोड रुपैयाँ अर्थमन्त्री जनार्दन शर्माले छुट्टाएका छन् । ठेकेदार कम्पनी छनोट भएमा १० प्रतिशतसम्म पेश्की (मोबिलाइजेसन) खर्च दिने व्यवस्था छ ।

५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार काम अगाडि बढेको डा. जैसीले बताए ।

‘सरकारले स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडीसी)को आर्थिक र प्राविधिक सहयोगमा एक वर्ष लगाएर सुरुङ मार्गको बेसलाइन गराएको हो,’ डा. जैसीले भने, ‘सोही आधारमा ठेक्का प्रक्रिया अघि बढाइएको छ ।’

सुरुङमार्ग बनाउने योजना आर्थिक वर्ष २०७५र७६ को नीति तथा कार्यक्रममा घोषणा गरिएको थियो । नीति घोषणा भएको ३ वर्ष पछि बल्लसुरुङमार्ग बनाउन विभागले टेण्डर निकालेर काम अघि बढाउन खोजेको हो । सामान्यतया दूरी छोट्टाउन सुङग मार्ग बनाउने गरिन्छ । तर, यस सडकखण्डमा भने दुरी घटाउने भन्दा पनि वर्षेनी पहिरोबाट हुने जनधनको क्षति रोक्ने उद्देश्यले बनाउन लागिएका आयोजना विभागका प्रमुख डा. जैसीले बताए । सुरुङ मार्गको कन्स्ट्रक्सन निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुने दावी पनि डा.जैसीको छ ।

सुरुङमार्गको काम माथिल्लो सिद्धबाबाबाट शुरु हुने डा. जैसीले बताए । चिडियाखोलादेखि दुई लेनमा स्तरोन्नती गरिने सुरुङमार्गको अर्को भागको ५ सय मिटरलाई पनि दुई लेनमा नै स्तरोन्नती गरिने योजना रहेको आयोजना प्रमुख डा. जैसीको भनाइ छ ।


क्लिकमान्डु