मर्जपछि व्यवसाय विस्तारमा हिमालयन र इन्भेष्टमेन्ट आक्रामक बन्ने, २५ शाखा खोल्छौं



काठमाडौं । मर्जरमा जाने सैद्दान्तिक सहमति गरेर एकीकृत कारोबारको अन्तिम तयारी गरिरहेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले आक्रामक बजार विस्तारको रणनीति अबलम्बन गर्ने भएका छन् ।

एकीकृत कारोबार गरेपछि आक्रामक व्यवसाय विस्तारमा लाग्ने तयारी भइरहेको दुबै बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

‘ढिलोमा पुस मसान्तसभित्र एकीकृत कारोबार गर्छौं । र, त्यसपछि बजारमा आक्रामकरुपमा प्रस्तुत हुन्छौं,’ हिमालयन बैंकका सीइओ अशोक राणाले क्लिकमाण्डूसँग भने, ‘यो आर्थिक वर्षभित्रै अर्को वाणिज्य बैंक पनि मर्ज गर्छौं । अनि देशभर आफ्नो उपस्थिति बलियो बनाएर साना तथा मझौला व्यवसायमा आक्रमक व्यवसाय विस्तार गर्छौं ।’

मर्जपछि आक्रामक व्यवसाय विस्तार गर्ने रणनीति भएको इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति प्रकाश पाण्डेले जानकारी दिए ।

‘एकीकृत कारोबार भएको एक वर्षभित्र हामीले २५ वटा नयाँ शाखा नै खोल्ने छौ,’ सीइओ पाण्डेले क्लिकमाण्डूसँग भने, ‘एसएमईमा आक्रमकरुपमा प्रस्तुत हुन्छौं ।’

एकीकृत कारोबार भएपछि तीन महिनाभित्र एकै स्थानमा रहेका शाखा स्थानान्तरण गर्ने र यो आर्थिक वर्षभित्रै २५ वटा नयाँ शाखा खोल्ने नीति बनाएको उनले जानकारी दिए ।

एउटै कल्चर भएका बैंकहरु मर्ज भएपछि व्यवसाय बढाउनको लागि अर्को खाले बैंक समेत गाभ्ने नीति भएको उनको भनाइ छ ।

‘उस्तै प्रकृतिको कल्चर भएका बैंक मर्ज भएपछि साइजमा हामी ठूलो त हुन्छौं तर अर्को खाले कल्चरबाट आएको बैंकलाई मर्ज गरेर व्यवसाय विस्तारमा आक्रामक हुने हाम्रो रणनीति छ,’ पाण्डेले प्रष्ट्याए ।

अहिले दुबै बैंकका मर्जर कमिटि बसेर धमाधम काम अघि ढाइरहेको उनले जानकारी दिए ।

‘कर्मचारी व्यवस्थान मिलिसकेको छ, खासगरी कोर बैंकिङ सफ्टवेयर के राख्ने भनेर मिलाउने अन्तिम चरणमा छ,’ उनले भने, ‘दुबै बैंकले प्रयोग गर्दै आएका सफ्टवेर राम्रा छन्, हामीलाई कुन अनुकुल हुन्छ भनेर छलफल भइरहेको छ । यसमा पनि २/४ दिनमै कुरा मिल्छ ।’

कोर बैंकिङ सफ्टवेर इन्ट्रिगेसन तालिममा केही समय लाग्छ । इन्भेष्टमेन्टमा साढे १४ सय र हिमालयनमा १ हजार कर्मचारी छन् । हिमालयनले टि-२० सफ्टवेर प्रयोग गर्दै आएको छ भने इन्भेष्टमेन्टले इन्फोसिस फिनाकल सफ्टवेर प्रयोग गर्दै आएको छ ।

इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई लाभांश घोषणा गरिसकेको छ । केही दिनमा हिमालयन बैंकको लाभांश घोषणा हुन्छ ।

राष्ट्र बैंकले स्विकृति दिएपछि दुबै बैंकले एकैदिन साधारणसभा बोलाएर लाभांश पारित गर्ने तथा मर्जरको प्रस्ताव पारित गर्ने दुबै बैंकका सीइओको भनाइ छ ।

‘नियमित साधारणसभाबाट मर्जरको प्रस्ताव पारित भएपछि पुसदेखि एकीकृत कारोबार हुनेछ,’ राणा र पाण्डेले भने ।

मर्जरपछि बन्ने हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंकको सीइओ अशोक राणा र ज्योति पाण्डे डेपुटी सीइओ बन्ने समझदारी भएको छ । अध्यक्ष भने इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाँडे बन्ने समझदारी छ ।

यी दुई बैंकबीचको मर्जर देशकै ठूलो मर्जर हो । मर्जपछि बैंकको चुक्ता पुँजी ३० अर्ब रुपैयाँ पुग्ने छ भने कोर क्यापिटल झन्डै ५० अर्ब रुपैयाँ पुग्ने छ । कर्जा र निक्षेपका आधारमा पनि यो बैंक सबैभन्दा ठूलो बन्नेछ ।

‘हामी हरेक हिसाबले बलियो र नम्बर वान बैंक बन्ने रणनीतिका साथ काम गरिरहेका छौं,’ राणा र पाण्डे भन्छन् ।

मर्जरबारे इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेको भनाइ

एउटा निश्चित समयसीमा भित्र सबै कर्मचारीलाई मिलाएर लैजान्छौं । कर्मचारीलाई मर्का पार्ने भन्ने कुरा हुँदैन । दबैलाई मिलाएर अघि बढ्नुपर्छ । ढिलोमा ४ वर्षसम्ममा कर्मचारीको तलबलगायत सम्पूर्ण व्यवस्थापन मिल्छ ।

मर्जरपछि स्वेच्छिक अवकास ल्याउन जरुरी देखिएको छैन । किनभने, कुनैपनि कर्मचारीलाई निकाल्ने हाम्रो उदेश्य छैन । यद्यपि कोही व्यक्तिले इच्छाले छाड्छ भने अर्को कुरा हो । मर्जरको कारण कसैको जागिर जाँदैन ।

एकीकृत कारोबार भएको ३/४ महिनापछि दोहरिएका शाखालाई स्थानान्तरण गर्नुपर्छ । यसबाहेक नयाँ शाखा पनि खोल्नुपर्छ । यो आर्थिक वर्षभित्रै शाखा स्थानान्तरण र २५ वटा नयाँ शाखा खोल्छौं । शाखा विस्तारमा आक्रामकरुपमा अघि बढ्ने भएकाले हामीले एक जना पनि कर्मचारी निकाल्नुपर्ने अवस्था आउँदैन । मर्जरको फाइदा लिनुपर्छ । अब कुरा रह्यो सफ्टवेरको । इन्भेष्टमेन्टले इफोसिसको फिनाकल र हिमालयनले टि २० हिमालयनले चलाएको छ । हिमालयनले चलाएको सफ्टवेर युरोपियन स्टाण्डर्ड राम्रो मानिन्छ । हाम्रोमा फिनाकल राम्रो मानिन्छ । दुवै सफ्टवेयर १९/२० हो । । टि २० केही महंगो छ । केही दिनमै कुन सफ्टवेर उपयुक्त भनेर टुंगो लाग्नेछ ।

पहिलो त्रैमासमा हामीले वित्तीय विवरणलाई टुंगो लगाउन केही ढिलाइ भएकाले एकीकृत कारोबारको समय पनि केही पछि सरेको हो । यो बीचमा कोरोनाको महामारी र सरकारले जारी गरेको निषेधाज्ञाले पनि हामीलाई आक्रामकरुपमा काम गर्न डिस्टर्व गर्यो ।

जे भए पनि अहिले हामीले मर्जरको मुख्य काम सकिसकेका छौं । म्यानुअलको केही काम बाँकी छ । केही राइटअप बाँकी छ । अडिट सक्न केहस् समय लागेकाले सोचेको समयमा एकीकृत कारोबार गर्न नसक्ने अवस्था आएको हो । अब फटाफट काम अघि बढ्छ । र, पुसमा एकीकृत कारोबार गर्छौं । यदि कसैले एकीकृत कारोबार गर्न ढिला भयो अब मर्ज हुँदैन कि भन्ने सोचेको छ भने त्यो शतप्रतिशत गलत हो । हामी मर्ज हुन्छौं, हुन्छौं ।

हामीले आजका लागि मात्रै सोच्ने होइन । १० देखि १५ वर्षपछिसम्म सोच्दा रिटेलमा कुन सफ्टवेयर प्रयोग गर्ने भन्ने सोच्ने हो । एकीकृत कारोबार शुरु भएपछि दुईवटा मात्र संस्था मर्ज गरेर बस्ने होइन । रिटेलमा राम्रो भएका अरु बैंक पनि गाभेर अघि बढ्छौं । हरेक हिसाबले नम्बर वान हुनुपर्छ भन्ने हाम्रो रणनीति हो ।


आशीष ज्ञवाली