हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर अब रोकिँदैन, यो वर्षै अर्को बैंक गाभ्छौं



काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जर गरेको ६ महिनाभित्रमा अर्को वाणिज्य। बैंकलाई मर्जर वा एक्विजेशन गर्ने तयारी थालेका छन् ।

यी दुई बैंकबीचको मर्जर नेपालको इतिहासमै सबैभन्दा ठूलो हो । मर्जपछि बैंकको चुक्ता पुँजी ३० अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ ।

पुसभित्र एकीकृत कारोबार गर्ने तयारीका साथ मर्जर प्रक्रिया अघि बढेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।
एकीकृत कारोबार शुरु गरेपछि अर्को बैंकलाई मर्जर गर्ने तयारी भइरहेको राणाले जानकारी दिए ।

‘हिमालयन र नेपाल इन्भेष्टमेन्ट दुबै कर्पोरेट केन्द्रित बैंक हुन्, अब हामीले साना तथा मझौला व्यवसायलाई केन्द्रित गरेको बैंक मर्जर वा एक्विजेशन गर्छौं,’ सीइीओ राणाले क्लिकमाण्डूसँग भने । जसले गर्दा बैंकको साइज नै ठूलो र बलियो हुने उनको विश्वास छ ।

‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बनेपछि कर्पोरेट ग्राहकसँग हामीसँग त्यसै हुनेछन्, एसएमईमा फोकस भएको बैंक लिएपछि हाम्रो नेटवर्क ठूलो हुने छ, बैंकले जसले बैंकलाई सबै आकारमा ठूलो बनाउन मद्दत पुग्नेछ,’ राणाले थपे ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले अब मर्ज गराउन लागेको संस्थाबाट ४ देखि ५ अर्ब रुपैयाँ स्वाप अन्तरबाट रिजर्भमा आउने बैंक खोजेका हुन् । एकीकृत कारोबार हुँदा करिब ३० अर्बको चुक्ता पूँजी पुग्ने र अर्को बैंक लिएपछि ३५ अर्ब र २ वर्षभित्रमा ४० अर्ब रुपैयाँको चुक्ता पूँजी भएको बैंक बन्ने राणाको भनाइ छ । त्यसबेला बैंकको कोर क्यापिटल ५० अर्ब रुपैयाँभन्दा बढी हुन्छ ।

एकीकृत कारोबार भएपछि हिमालयन इन्भेष्टमेन्ट बैंक चुक्ता पूँजी र निक्षेपको आधारमा सबैभन्दा ठूलो हुनेछ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्टको मर्जर सफल भएपछि अरु बैंकलाई पनि मर्जरको दवाव पर्नेछ ।

व्यवसायको आधारमा पहिलो नम्बर हुनका लागि हिमालयन इन्भेष्टमेन्ट बैंकले मर्जरपछि थप अर्को साझेदार खोजेका हुन् । केही बैंकलाई नाम नै लिएर राष्ट्र बैंकले समेत हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकका सञ्चालकलाई मर्जर गर्न भनेका छन् ।

असोज मसान्तसम्म एकीकृत कारोबार गर्ने लक्ष्य लिएपनि दुबै बैंकले पुस मसान्तसम्ममा एकीकृत कारोबार गर्ने तयारी गरेका छन् ।

मर्जर प्रक्रियाको विषयमा केन्द्रित रहेर हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणासँग क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले गरेको कुराकानीः

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया किन ढिला भइरहेको छ ?

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले बैशाख ३० मा मर्जरको सम्झौता गरेका थिए । त्यो बेला हामीले असोज मसान्तसम्ममा एकीकृत कारोबार गर्ने तयारी गरेका थियौं । मर्जर आफैंमा जटिल भएको हुँदा असोजभित्र एकीकृत कारोबार गर्नका लागि सम्भव भएन । राष्ट्र बैंकले सैद्दान्तिक स्विकृति दिएसँगै मर्जरका लागि गर्नुपर्ने अरु कामहरु सकिएको अवस्था छ । गत आर्थिक वर्षको वित्तीय विवरण स्विकृतिको लागि राष्ट्र बैंकमा पठाएका छौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक दुबैको विवरण राष्ट्र बैंकमा छ । राष्ट्र बैंकले स्विकृति दिएपछि दुबै बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने र साधारणसभा बोलाउने छन् । साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्विकृत गर्नुका साथै मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ । सबै प्रक्रिया हुँदा पुसभित्र एकीकृत कारोबार हुने छ ।

र्जर प्रक्रियाका लागि अहिलेसम्म के-कस्ता काम भए । खासगरी कर्मचारी व्यवस्थापन कसरी मिल्यो ?

मर्जरका लागि एउटा प्रमुख काम कर्मचारी व्यवस्थापन हो । हिमालयन बैंकमा भन्दा नेपाल इन्भेष्टमेन्ट बैंकमा कर्मचारीको संख्या बढी छ । जसमा केही पदमा नेपाल इन्भेष्टमेन्ट बैंकको भन्दा हिमालयन बैंकमा तलब बढी थियो । तर, कर्मचारीले पाउने तलबमा ६०÷४० अनुपात छ । त्यो भनेको ६० प्रतिशत तलब र बाँकी भत्ता हो । हिमालयन बैंकमा ४०/६० को अनुपात छ । एकीकृत कारोबार भएपछि दुबै बैंकका कर्मचारीले पाउने तलब सुविधामा ६० प्रतिशत तलब र ४० प्रतिशत भत्ताको अनुपात छ । एउटै पदमा रहेका कर्मचारीको तलब सुविधा भने ४ वर्षमा मात्र समान हुने छ । ४ वर्षभित्रमा एउटै तलब बनाउने सहमति भएको छ ।

भनेपछि हिमालयन बैंकका कर्मचारीको तलब ४ वर्षसम्म नबढ्ने हो ?

एउटै पदमा रहेका कर्मचारीको तलब सुविधा ४ वर्षभित्र एउटै बनाउने हो । कर्मचारीको तलब नबढ्ने भन्ने होइन । दुबै बैंकका कर्मचारीलाई मर्जरले फाइदा हुन्छ ।

हिमालयन बैंकको सञ्चालक समितिकको अध्यक्ष परिवर्तन हुँदा मर्जर प्रक्रियामा केही ढिला भयो । केही व्यक्ति तथा समूह मर्जर भाँड्न सक्रिय छन् । कतै यी दुई बैंकबीचको मर्जर नहुने पो हो कि भन्ने आशंका आम सर्वसाधारणमा पैदा हुँदै गएको छ नि ?

मर्जर नहुने हल्ला साचो होइन । हामीले मर्जरका लागि चाहिने सबै कामहरु पुरा गरिसकेका छौं । मर्जरका लागि गर्नुपर्ने कानूनी प्रक्रिया अगाडि बढेको छ । दुईतिर नै मर्जर नचाहने कोही व्यक्ति हुनसक्छन् । तर, त्यसले मर्जरलाई रोक्न सक्ने अवस्था छैन । अहिले मुख्यरुपमा सूचना प्रविधिको व्यवस्थापन भने केही समस्याकारुपमा देखिएको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले प्रयोग गरेको सफ्टवेयर फरक भएको हुँदा त्यसलाई एउटै बनाउने काममा केही दिन समस्या हुनसक्छ । तर, साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेपछि हामीलाई चाहिने सफ्टवेयर प्रयोग गर्ने छौं ।

एकीकृत कारोबार भएपछि बैंकको फोकस केमा हुन्छ ?

हाम्रो फोकस शाखा विस्तार र डिजिटल प्रणालीमा हुने छ । त्यसका लागि बैंक क्लियरिङ हाउससँग सहकार्य गरेर अगाडि बढ्छ । केही बैंकले क्लियरिङ हाउसलाई अगाडि बढाउन खोजेका छौं । अहिले नेशनल स्विच पनि त्यही आयो । नेशनल क्यूआर कोड पनि आउने छ । हामी क्यूआर कोडमा फोकस हुन्छौं ।

यसबाहेक शाखा विस्तारमा समेत हामीले जोड दिन्छौं । शाखा विस्तारबिना ग्राहक बढाउन सकिँदैन । डिजिटल प्रणाली फोकस गर्दै अनलाइनबाटै खाता खोल्ने, ऋण पाउने व्यवस्था मिलाउँछौं । ग्राहक बैंकमा नआए पनि सबै सुविधा पाउने व्यवस्था लागु गर्नेछौं ।

एकीकृत कारोबार भएपछि बैंकलाई कसरी अगाडि बढाउने भन्ने हामीले ५ वर्षको योजना बनाउने छौं । ५ वर्षको योजना अनुसार बैंकलाई अगाडि बढाउने हो । हामीले अब ब्याज आम्दानीबाट मात्रै बैंकलाई सञ्चालन गर्ने सोच बनाएका छैनौं । आकारको हिसाबले ठूलो भएपछि गैरब्याज आम्दानी पनि बैंकको ठूलो हुने छ । एकीकृत कारोबार शुरु हुँदा हाम्रो न्यूनतम पूँजी ३० अर्ब रुपैयाँ हुन्छ । यसपछि हामीले अर्को वाणिज्य बैंक मर्ज गर्छौं । जसले बैंकको आकार अझै ठूलो हुने छ ।

मर्जपछि यो बैंक सबै हिसाबले नम्बर वान बनिरहन सक्छ त ?

बैंकलाई सबै हिसाबले पहिलो स्थानमा राख्ने हाम्रो तयारी छ । निक्षेप र कर्जा निकै ठूलो छ । त्यही हिसाबले सेयरधनीले लाभांशसमेत पाउने छन् । बैंकहरुमध्ये रेमिट्यान्समा हामी सबैभन्दा ठूला प्लेयर हुनेछौं । यस्तै कार्डमा पहिलो स्थानमा हुन्छौं । बैंकले क्रेडिट कार्डमा फोकस गर्नेछ ।

मर्चेन्ट म्यानेजमेन्ट क्यूआर कोडलाई बढाउने छ । क्यूआर कोड निकै बढ्दै गएको छ । हाम्रो फोकस मर्चेन्ट बढाएर क्यूआर बढाउनेमा हुनेछ । एकीकृत कारोबार भएपछि हामीलाई अर्को फाइदा एलसीको बिजनेशमा हुनेछ । कुल कारोबारमा ३० प्रतिशतसम्मको हिस्सा हामीले लिने छौं ।


आशीष ज्ञवाली