भैंसेपाटीमा बन्दै गरेको सिजी भिल्लाको बुकिङ खुला, मूल्य १० करोडसम्म



काठमाडौं । चौधरी ग्रुपको लगानी रहेको ललितपुरको भैंसेपाटीमा निर्माणधिन सिजी भिल्लाको औपचारिक बुकिङ आजदेखि खुल्ला भएको छ । सिजीले सिजी हिल्स प्रिमियमले दशैंतिहार, छठलक्षित भिल्लाको आजबाट औपचारिक रुपमा बुकिङ खुल्ला गरेको जानकारी दिएको छ ।

कम्पनीले बुकिङ खुल्ला गरेसँगै बुकिङका लागि ग्राहकको अत्यधिक अर्डर आएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रतिनिधि विवेकजंग थापाले कम्पनीले बुकिङ खुल्ला गर्ने वित्तिकै अत्यधिक फोन कलमार्फत् अर्डर भएको बताए । उनका अनुसार आजबाट औपचारिक रुपमा खुल्ला गरेको छ भने भोलिबाट साइट भिजिटको तयारी गरेको छ ।

‘आज जति पनि ग्राहकले फोनमार्फत् अर्डर गर्नु भएको छ ती ग्राहकलाई भोलिबाट साइट भिजिटमा लैजाने तयारी छ,’ उनले भने ।

कम्पनीले हालसम्मकै उच्च सुविधायुक्त र महंगो प्रकारका घर निर्माण गर्ने दाबी गरेको छ । कम्पनीले कागजी कार्यहरू सम्पन्न गरी भौतिक रुपमा निर्माण शुरू गर्ने तयारी गरेको थापाले जानकारी दिए । कम्पनीले करिब डेढ महिनादेखि कम्पाउन्डभित्र घेरबार गर्ने कार्य गरिरहेका छन् ।

उनकाअनुसार उपत्यकामै पहिलो पटक महंगो र सुविधायुक्त भिल्लामा ५६ वटा युनिटका घरहरु हुनेछन् । कम्पनीका अनुसार २६ रोपनी ३ आना जग्गामा ५६ वटा युनिट घर बन्ने छन् । उक्त जग्गाका कम्पनीले विभिन्न चार प्रकारका घर बनाउने भएको थापाले बताए । साथै, सो घरहरू ४ आनादेखि १० आना क्षेत्रफलमा निर्माण हुनेछन् ।

‘कम्पनीले के–यूपी भिल्ला, एमएस भिल्ला, एफ भिल्ला र एफबी भिल्ला गरी चार प्रकारका घर बनाउनेछ,’ उनले भने, ‘उक्त घरहरूको मूल्य घरको बनावट, क्षेत्रफल र स्थानको आधारमा तय हुनेछ ।’

उपत्यकामै पहिलो पटक लक्जरियस भिल्ला बनाउने तयारी गरेको सिजीले विभिन्न घरको छुट्टाछुट्टै मूल्य तय गरेको छ । जसमा कम्पनीले न्यूनतम प्रतिघर ५ करोड ७० लाखदेखि १० करोडसम्म मूल्य तोकेको छ ।

कुन घरको मूल्य कति ?
कम्पनीले विभिन्न चार प्रकारका घरको विभिन्न सेवासुविधा र क्षेत्रफलको आधारमा मूल्य तय गरेको थापाको भनाइ छ । जसमा कम्पनीले के–यूपी भिल्ला साढे ३ तल्लाको निर्माण गर्ने भएको छ । उक्त घर ३०५७.५९ स्क्वायर फिटको ६ वटा घर बनाउने तयारी गरेको छ । चार आनामा बन्ने सो घरको मूल्य ७ करोड ६० लाख रुपैयाँ तोकेको छ ।

त्यसैगरी, कम्पनीले एमएस भिल्ला ३३ वटा युनिट निर्माण गर्ने भएको छ । उक्त घर ३ तल्लाको २६६९.६३ स्क्वायरफिटमा बन्नेछ । सो घरको मूल्य कम्पनीले शुरुवाती मूल्य ५ करोड ७० लाख रुपैयाँ तोकेको छ ।

कम्पनीले एफ प्रकारका ११ वटा युनिट भिल्ला बनाउनेछन् । उक्त घर साढे ३ तल्लाको ३०१७.३९ स्क्वायरफिटमा बन्नेछ । सो घरको मूल्य ६ करोड रुपैयाँ तोकेको थापाले बताए ।

त्यस्तै, कम्पनीले एफबी प्रकारका भिल्ला ६ वाट निर्माण गर्नेछ । उक्त घर साढे ४ तल्लाको ३६४५.०३ स्क्वायरफिटको बन्नेछ । सो घरको मूल्य कम्पनीले ७ करोड रुपैयाँ तोकेको छ ।

५६ वटा युनिट बनाउने तयारी गरेको कम्पनीले आगामी २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी लक्ष्य लिएको छ । थापाकाअनुसार सो भिल्लाहरूको मूल्य जग्गाको क्षेत्रफल, स्क्यावरफिट र लोकेशनले साढे ५ करोडदेखि १० करोड रुपैयाँ तोकेको हो ।

‘कम्पनीले दशैंतिहार र छठलक्षित औपचारिक रुपमा बुकिङ खुल्ला गरेको हो । त्यसमा कम्पनीले विभिन्न छुटका सो मूल्य गरेको हो,’ उनले भने । साथै, ग्राहकले चाहेको अवस्थामा घर बनाउने जग्गाको क्षेत्रफल र स्क्यावरफिटको आधारमा घरको मूल्य अधिकतम १० करोड रुपैयाँसम्म तोकिएको उनको भनाइ छ ।

कम्पनीले उक्त भिल्लाभित्र स्वीमिङ पुल बगैंचा, अन्डरग्राउन्ड तार, खाने पानीको सुविधासहित २४ सै घण्टा सेक्युरिटी र सीसी क्यामेराको सुविधा हुनेछ । कम्पनीका अनुसार सो घरमा उच्च गुणस्तरीय ढण्डी, ईट्टा, छडलगायत अन्य निर्माण साम्रगीको प्रयोग भएको जनाएको छ ।

साथै, कम्पनीले २ वर्षसम्म घरको वारेन्टी दिएको छ । जसका दुई वर्षको अवधिमा भिल्लामा केही समस्या आएमा कम्पनीले निःशुल्क रुपमा सेवा दिनेछन् ।


अरिष्मा मोक्तान