लाभांशले पनि बढाएन नेप्सेको ग्राफ, सोमबार ७३ अंकको भारी गिरावट



काठमाडौं । लगातार घटिरहेको सेयर बजार सोमबार पनि निरन्तता पाएको छ । गत बिहीबार २८१९ अंकमा झरेको नेप्से परिसूचक आइतबार पनि तल झर्दैै सोमबार कारोबार बन्द हुँदासम्म २६८५.४२ अंकमा सीमित भएको छ । सोमबार मात्रै ७३.०५ अंकले नेप्से परिसूचक घटेको छ ।
अधिकांश कम्पनीको सेयर मूल्यमा रातो चिन्ह देखिएको छ ।

पछिल्लो साता वाणिज्य बैंक तथा अन्य केही कम्पनीले आकर्षक लाभांश दर घोषणा गरे पनि लगानीकर्ताहरु बिक्री गर्न हतारिएको देखिएको छ । जसले गर्दा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ ।

यो दिन १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९५ रुपैयाँमा कारोबार भएको छ । यो दिन २०८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने १५ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । साथै ३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा सबै उपसमूह राताम्मे भएका छन् । जसमा सबैभन्दा बढी फाइनान्स ४.५३ प्रतिशत, विकास बैंक ३.८१ प्रतिशत, निर्जीवन बीमा कम्पनी ३.६२ प्रतिशतले ओरालो लागेका छन् ।

बजारमा भारी गिरावट देखिँदा मनकामना स्मार्ट लघुवित्त वित्तीय वित्तीय कम्पनी र माइलुङ पखोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी, नेपाल फाइनान्स, कालिका पावर कम्पनीलगायतका कम्पनीको सेयर मूल्य धेरै गुमाउने कम्पनीमा छन् ।


क्लिकमान्डु