यतीको माउन्टेन फ्लाइट असोज १०गतेदेखि, टिकट मूल्य ८८४८ रुपैयाँ



काठमाडौं । दोश्रो लकडाउनपछि रोकिएको यति एयरलाइन्सको पर्वतीय उडान असोज १० गतेदेखि फेरि शुरु हुने भएको छ ।

मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर–मार्च महिना उपयुक्त मानिने भएकोले उडान शुरु गर्न लागिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

हालका लागि प्रत्येक आइतबार एक उडान गर्ने गरी बुकिङ खुल्ला गरिएको हो । प्रत्येक आइतबारका लागि एटीआर–७२ विमानमार्फत् एउटा पर्वतीय उडान हुने गरी तालिका तय गरिएको छ । र, यात्रुहरुको माग बमोजिम बिस्तारै उडान संख्या थप गर्दै जाने नीति लिएको कम्पनीको भनाइ छ ।

हालका लागि नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाई बराबरको ८,८४८ रुपैयाँ आकर्षक भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने छ । आवासीय बिदेशी नागरिकका लागि भने १३ हजार २७५ भाडादर कायम गरिएको बर्तौलाले जानकारी दिए ।

पहिलो लकडाउनपछि खुलेको पर्वतीय उडानमा पनि यतीले यहि भाडा दरमा उडान भरेको थियो । नेपाली यात्रुहरू तथा आवासीय बिदेशी नागरिककालागी छुट्टाछुट्टै प्यागेज ल्याएको यतीले २ वटा टिकटका लागि क्रमशः ९ हजार ८४८ र १४ हजार ७७५ भाडादर तोकेको छ ।

यो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्को सँगैको झ्याल नभएको सिट प्राप्त गर्नेछन् । पर्वतीय उडानका टिकट ट्राभल एजेन्सी, यतीको मोबाइल एप्स र अनलाइनमार्फत् खरिद गर्न सकिने कम्पनिले जानकारी दिएको छ ।


क्लिकमान्डु