साहस ऊर्जा लिमिटेडको आइपीओ आजदेखि



काठमाडाैं । साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा ७० करोड रूपैयाँ बराबरको ७० लाख कित्ता प्राथमिक सेयर निष्कासन गरेको हो ।

निष्कासन गरिने प्रारम्भिक सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।

बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् । कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० गतेदेखि न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ । कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रूपैयाँ हुने विवरण सार्वजनिक गरेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सीआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन् ।

साथै अनलाइनमार्फत् ‘मेरोशेयर’ प्रयोग गरेर पनि सेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ५० करोड रूपैयाँको प्रतिसेयर १ सय रूपैयाँ अंकितका दरले ३ करोड पचास लाख कित्ता सेयरमध्ये ३० प्रतिशत् अर्थात् १ करोड ५ लाख कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । सोअनुसार प्रतिसेयर १ सय रूपैयाँ अङ्कित मूल्यको ३५ लाख कित्ता साधारण सेयर गत साउन २९ गतेदेखि भदौ २७ गतेसम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्कासन गरिएको थियो । जसको बाँडफाँटसमेत भइसकेको छ ।


क्लिकमान्डु