इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति क्यान महासंघको ध्यानाकर्षण



काठमाडौं । क्यान महासंघले इन्टरनेटको मूल्य बढाउने सम्बन्धी गतिविधि भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विगत केही दिनदेखि नेपाल विद्युत प्राधिकरणको गतिविधिका कारण इन्टरनेट सेवा प्रदायकबाट प्रदान भइरहेको इन्टरनेटको शुल्क बढ्ने/बढाउने प्रयासप्रति क्यानले आपत्ति जनाएको हो ।

इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन करका दरलाई विभिन्न प्रकारले समीक्षा गर्न क्यान महासंघ र इन्टरनेट सेवा प्रदायक संघले विगतका नीति तथा कार्यक्रम र बजेटमा बारम्बार दिएको सुझाव विपरीत सरकारी निकायकै गतिविधिका कारण पूर्वाधारको लागत अझ बढन गई ईन्टरनेट सेवा प्रवाहमा प्रतिग्राहक १५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म शुल्क बढ्नु पक्कै पनि सुखद हुन नसक्ने बताएको छ ।

‘निजी–सरकारी साझेदारीमा शुरुवात भएको इन्टरनेट सेवा तथा इन्टरनेट सेवालाई देशभर पुर्याउन निजी क्षेत्रको अर्बौंको लगानी, नेतृत्वदायी भुमिका तथा यसमार्फत देशको अर्थतन्त्रलाई पुर्याएको योगदानका कारण आज नेपालको इन्टरनेट सेवा यो अवस्थामा आएको कुरा सर्वविदितै छ । कोभिड–१९ जस्तो महामारीको परिस्थितिमा पनि बैंकिङ कारोबार, शैक्षिक क्षेत्र, स्वास्थ्य सेवा ठूला उद्योगधन्दा लगायतका अर्थतन्त्रसंग सम्बन्धित क्षेत्रहरु इण्टरनेटकै कारण चलायमान भएका कारणनै बन्दा–बन्दिको समयमा पनि नेपाल सरकारले करका लक्ष्यहरु प्राप्त गर्न सकेको हो भन्न हिच्किचाउनु पर्दैन,’ क्यानले भनेको छ ।

इन्टरनेट सेवा सम्बन्धि चर्को करका वावजुत पनि नेपालमा निजि क्षेत्रवाट इन्टरनेट सेवा लिइरहेका करिब ९३ प्रतिशत ग्राहकहरुले तारसहितको इन्टरनेट सेवा अहिलेको दरमा उपभोग गर्न पाउनुमा विगतमा नेपाल विद्युत प्राधिकरणको सुझबुझपुर्ण निर्णयका कारण निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले विद्युत प्राधिकरणको पोल तथा अप्टिकल ग्राउन्ड वायर भाडा समसामयिक दरमा प्रयोग गर्नाले आमउपभोक्तालाई सर्वसुलभ दरमा इन्टरनेट सेवा प्रदान गर्न सम्भव भएको क्यानको दावी छ ।


क्लिकमान्डु