सेयर बजारमा चलखेल गर्नेले ममाथि आरोप लगाए: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा चलखेल गर्नेले आफूमाथि अनावश्यक आरोप लगाएको बताएका छन् ।

मंगलबार त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले सेयर बजार घट्दा अर्थमन्त्रीले गाली पाउने गरेको बताए ।

‘मन्त्रीले बोल्ने वित्तिकै घट्ने र बढ्ने हो र ? सेयर बजारमा भित्र बसेर क-कसले के-के गर्छन् । अनि मन्त्रीलाई गाली गर्ने,’ उनले गुनासो पोखे । उनका अनुसार आफूले गर्दा शेयर बजार घट्ने र बढ्ने नहुने दाबी गरे ।

उनले सबै स्थानीय तहमा आवश्यकताको आधारमा विकासका आयोजना दिनुपर्ने बताएका छन् । मन्त्री शर्माले मंगलबार अर्थशास्त्र केन्द्रिय विभाग त्रिभुवन विश्व विद्यालयले आयोजना गरेको सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी सम्बन्धी कार्यक्रममा बोल्दै सो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री शर्माले नेपालको विकासका नीति नै स्पष्ट नरहेको बताए । ‘मन्त्री फेरिने वित्तिकै सबै योजना फेर्ने प्रवृत्ति रहेको छ,’ मन्त्री शर्माले भने, ‘नेपालमा विकासमा कहाँ कति सडक चाहिने र कति लेनको आवश्यक भन्नेमा कोही स्पष्ट छैन ।’

मन्त्री शर्माले उक्त प्रवृत्तिलाई परिवर्तन गरी मुख्य कति आयोजना छन् भन्नेबारेमा स्पष्ट भएर मात्रै आयोजना दिने जिकिर गरे । उनका अनुसार सो आयोजनाको कतिको उपयोग र सहज हुन्छ । सोही आधारमा आयोजना दिन आवश्यक छ ।

त्यसैगरी, अर्थमन्त्री शर्माले नेपालको बिडिङ् सिस्टम पनि ठिक नभएकाले उक्त बिडिङ् प्रक्रियालाई पनि सच्याउनुपर्ने बताए ।

‘बिडिङ् गर्दा कुनै पनि कम्पनीको लागत, क्षमताको आधारमा दिने व्यवस्था गर्नु गृहकार्य गरिरहेका छौं,’ उनले भने । अर्थमन्त्री शर्माले हाल जति पनि भएको आयोजनामा वास्तविक श्रमिकलाई रोजगार दिनुपर्ने उल्लेख गरे ।


क्लिकमान्डु