पेट्रोलियम पदार्थको विकल्पमा हाइड्रोजनको परीक्षण सफल



काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थ र खाना पकाउन प्रयोग हुने एलपीको ग्यासको आयात बिस्तापन गर्नका लागि हाइड्रोजनको उत्पादन र प्रयोग बढाउने सम्बन्धमा काम अघि बढाइएको छ ।

नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालयको खोज अनुसन्धान विभागले संयुक्तरुपमा ‘ग्रीन हाइड्रोजन’को उत्पादनको परीक्षण समेत गरेका छन् ।

विकसित राष्ट्रहरुले समेत महत्वका साथ अगाडि बढाएको हाइड्रोजनको उत्पादन र प्रयोगमा काठमाडौं विश्वविद्यालयले संस्थागतरूपमा काम शुरु गरेको हो । जसमा नेपाल आयल निगमले समेत साथ दिएको छ ।

विज्ञहरु सरकारले स्पष्ट नीति बनाउने हो भने आगामी १० देखि १५ वर्षभित्रमा पेट्रोलियम पदार्थको आयात विस्थापित गर्न सकिने बताउँछन् ।‘अन्तर्राष्ट्रिय स्तरमा यसका लागि ठूला प्रयास भइरहेका छन्,’ काठमाडौं विश्वविद्यालयका हाइड्रोजन ल्यावका प्रमुख प्रा. डा. विराज सिंह थापाले भने, ‘नर्वे, भारत, बेलायत र अमेरिकालगायतका देशहरु यसमा लागीसकेका छन् ।’

उनले अमेरिका, चीन, बेलायतलगायतका देशले पेट्रोलियम पदार्थको उत्पादन र प्रयोगलाई जतिसक्दो छिटो शून्यमा झार्ने योजना बनाएको बताए ।

हाल बेलायतले सन् २०२५ पछि कोइला प्रयोग गर्न नपाउने कानून ल्याएको छ भने नर्वे सन् २०२५ सम्ममा नयाँ पेट्रोल र डिजेल कार बिक्री बन्द गर्ने योजनामा ल्याएको छ ।

उनले यस्तो अवस्थामा नेपालभित्रै हाइड्रोजन उत्पादन भयो भने त्यसको मूल्य पनि कम हुने र यसले अन्तर्राष्ट्रिय बजारलाई आकर्षित गर्न सकिने तर्क गरे । अहिले विश्व बजारमा हाइड्रोजनको मूल्य प्रतिलिटर ५ डलरसम्म तोकिएको छ ।

हाल गरिएको परीक्षण अनुसार १ किलोग्राम हाइड्रोजनबाट लगभग ५० युनिट बिजुली उत्पादन गर्न सकिन्छ ।

ग्रीन हाइड्रोजन ल्यावका अनुसन्धानकर्ता अभिषेक सुवेदीले १ केजी हाइड्रोजनबाट ८० किलोमिटरसम्म सवारी साधन गुड्न सक्ने बताए । २ किलो हाइड्रोजन सिलिन्डरमा भर्ने हो भने त्यो १०० युनिट बराबरको बिजुली हुने उनले जानकारी दिए ।

हाइड्रोजनको उत्पादनबाट नागरिकलाई के फइदा
नेपाल आयल निगमका एमडी सुरेन्द्र कुमार पौडेलले यसको उत्पादनबाट नागरिकको जीवनमा आमूल परिवर्तन ल्याउने दाबी गरे । उनले खाना पकाउने एलपीजी ग्यासलाई प्रतिस्थापन गर्ने यसको लक्ष्य रहेको बताए ।

‘अबको युग हाइड्रोजनको हो । आम नागरिकलाई नभइ नहुने भनेको खाना पकाउने ग्यास र अन्न बालीमा हल्ने यूरिया मल हो । यसबाट दुबै बनाउन सकिने हुनाले यो वैकल्पिक ऊर्जाको उपयुक्त समाधान हो,’ उनले भने ।

हाइड्रोजन ब्याट्रीभन्दा करिब ३०० गुणा हलुका हुने भएकाले यसबाट रेल, हवाई जहाज, बसलगायतका सवारी साधन चलाउन सकिन्छ । यसले ठूला तथा मालबाहक गाडी, जहाजआदि सबै यातायातका साधन सञ्चालनका लागि सहज र ढुवानीमा समेत सस्तो पर्न जान्छ ।

तर भविश्यमा यसको भण्डारन कसरी हुन्छ भन्ने विषयमा सरकारको ध्याय जानु जरुरी रहेको उनको भनाइ छ ।

वैकल्पिक ऊर्जामा आत्मनिर्भर बन्ने एउटा प्रयास
पौडेलले हाइड्रोजनको उत्पादन वैकल्पिक उर्जामा मुलुक आत्मनिर्भर बन्ने एउटा प्रयास भएका बताए । उनले हाइड्रोजनलाई नेपालमा इन्धनको स्रोतको रूपमा यसको उत्पादन गर्न सके वर्षेनी भारतबाट खपत हुने खर्बौ रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयातलाई धेरै हदसम्म रोक्न सकिने बताए । सरकारले उक्त रकमा हाइड्रोजन उत्पादनमा लगाउन सके मुलुक आत्मनिर्भर बनाउनका लागि यसले सहयोग गर्ने उनको भनाइ छ ।


क्लिकमान्डु