कच्चा तेलको मूल्य ७५ डलर नाघ्यो, फेरि मूल्य बढ्ने संकेत



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ७५ अमेरिकी डलर पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बेन्चमार्क ब्रेट क्रुडको मूल्य सोमबार फेरि ७५ अमेरिकी डलरको हाराहारीमा रहेको छ ।

नेपालमा समेत भारतीय बजारबाटै इन्धन आपूर्ति हुने भएकाले नेपालमा समेत त्यसको प्रभाव पर्ने देखिएको छ । यसबाट सवारी साधनधनीलाई समस्या पर्ने देखिएको छ । भारतमा नै पेट्रोल र डिजलको मूल्य प्रतिलिटर १०० भारु बराबर रहेको छ ।

कच्चा तेलको मूल्य उकालो लाग्ने बित्तिकै औसतमा प्रतिलिटर ५ रुपैयाँ बराबरको मूल्य वृद्धि हुनजान्छ । नेपालमा हाल पेट्रोल प्रतिलिटर १३० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

कच्चा तेलको मूल्य दिनप्रतिदिन नै बढिरहेको छ । प्रतिव्यारेल ६९.०३ मा रहेको कच्चा तेलको मूल्यमा ९.१ प्रतिशतले वृद्धि भई ७५.३४ अमेरिकी डलर पुगेको छ । अघिल्लो साता ६९.९८ अमेरिकी डलरबाट उकालो लागेको इन्धन प्रतिव्यारेल ७१.९७ डलरमा पुगेर रोकिएको थियो ।

१ जनवरीमा ५१ अमेरिकी डलर रहेको कच्चा तेल १ फेब्रुअरीमा ५६ डलरमा पुग्यो । क्रमशः उकालो लागेको इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा २० सेप्टेम्बरमा आइपुग्दा ७५ अमेरिकी डलर बराबर पुगेको छ ।

संसारभर नै कोरोना भाइरस नियन्त्रणमा सफलता प्राप्त हुँदै आएको छ । लगातार कोरोनाको खोपमा भएको बढोत्तरीका कारण पनि आर्थिक गतिविधिमा तीव्रता आएको छ ।

सोही कारण संसारभर नै इन्धनको माग बढ्न गएको छ । सोही कारण कच्चा तेलको मूल्यले आकाश छुन थालेको छ । यस्तै, डलर मजबूत हुन जाँदा भारतीय रुपैयाँ कमजोर भएको छ ।

त्यसको प्रभाव नेपालमा स्वभाविक रुपमा नै पर्न जान्छ । नेपाली मुद्रा र भारतीय मुद्राकोबीचमा निश्चित मूल्य तोकिएको छ । नेपालले कूल आवश्यकताको १०० प्रतिशत नै भारतबाट इन्धन आयात गर्ने गरेको छ ।

जानकारहरुका अनुसार कच्चा तेलको मूल्य प्रतिव्यारेल ८० अमेरिकी डलर बराबर पुग्ने देखिन्छ । साउदी अरबलगायतका देशले कच्चा तेलको उत्खनन्मा निश्चित कोटा लगाएका छन् । तेल उतपादनको कोटा वृद्धि नहुँदासम्म तेलको भाऊले आकाश छुने निश्चित जस्तै देखिएको छ ।


क्लिकमान्डु