शिवम् हाउजिङले २ अर्ब लागतमा ‘सुगम’ र ‘हरिहर’ कोलनी बनाउँदै, मूल्य साढे ४ करोडसम्म



काठमाडौं । झापाको बिर्तामोडमा शिवम् हाउजिङ प्रालिले दुई वटा व्यवस्थित कोलोनीको निर्माण कार्य अगाडि बढाएको छ ।

दुई वर्षदेखि निर्माण कार्य शुरू गरिएको उक्त कोलोनीमा २ अर्ब लगानी भएको कम्पनीका प्रबन्ध निर्देशक सुदीप प्रसाईले जानकारी दिए । उनका अनुसार कम्पनीले सामूहिक बसोबास विकासका लागि झापामा पहिलो पटक व्यवस्थित कोलोनी निर्माण गर्न लागेको हो ।

यो झापामा निर्माण हुन लागेको पहिलो हाउजिङ हो । बिर्तामोडमा मिक्स कल्चर भएको मानिसको बसोबास रहेको सहर हो । विभिन्न पहाडी जिल्लाको ट्रान्जिट प्वाइन्ट भएको र दार्जलिङ, सिक्किमका मानिसहरू बिर्तामोड आएर ओभरनाइट स्टे गरेर गर्दै आएका छन् । त्यसैले कम्पनीले बिर्तामोड सबैको ट्रान्जिट प्वाइन्टका रुपमा रहेको उक्त क्षेत्रमा पहिलो चरणमै २ वटा हाउजिङ प्रोजेक्ट शुरु गरेको उनको भनाइ छ ।
करिब १० जनाको संयुक्त लगानीमा बन्दै गरेको कोलानी सुविधासम्पन्न हुने कम्पनीले जनाएको छ । कम्पनीले दुई वटा कोलोनी निर्माण गर्ने भएकाले उक्त दुई कोलोनीमा आ–आफ्नै विशेषता रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका प्रबन्ध निर्देशक प्रसाईले दुई वटा कोलोनी निर्माण कार्य तीव्र भइरहेको हुनाले सो घरहरू विभिन्न तरिकाबाट बन्ने भएको बताए । जसमा कम्पनीले ‘सुगम कोलोनी’ र ‘हरिहर कोलोनी’को कार्य अर्को वर्षसम्ममा घरधनीलाई हस्तान्तरण गर्ने गरी कार्य अगाडि बढाएको छ ।

सुगम कोलोनी
कम्पनीले सुगम कोलोनी अर्को वर्षको दशैंसम्ममा सम्पूर्ण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी गरेको छ । हालसम्ममा ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उक्त सुगम कोलानी आगामी वर्षको दशैंसम्ममा हस्तान्तरण गरिसक्ने प्रसाईले बताए ।

१ विघा १५ कठ्ठा ६ धुर क्षेत्रफलमा फैलिने ‘सुगम कोलोनी’मा २९ वटा घर बन्नेछ । सबै घर साढे दुई तल्लामा बन्नेछन् । प्रत्येक घर १५ धुर अर्थात ८ आनामा बन्नेछ । जसमा सरकारको मापदण्डअनुसार खुल्ला क्षेत्र, ३५ फिटको फुटपाथसहितको बाटो, इलेक्ट्रिक, इन्टरनेट सम्पूर्णको अन्डरग्राउन्ड वायरिङ हुनेछ । कम्पनीले सो क्षेत्रमा सामूदयिक भवन पनि निर्माण गर्नेछ ।

जसमा स्वीमिङ पुल, मल्टिपरपोज कम्युनिटी हल, हेल्थ क्लब, कम्यूनिटी अफिस र लाइब्रेरी समेत हुनेछ । साथै, सुगम कोलोनीमा खुल्ला हरियाली क्षेत्र, पर्याप्त खानेपानी सुविधा, २४ घण्टा सिसिटिभी सर्भिलेन्स, भूकम्प प्रतिरोधी घर र ढलको राम्रो व्यवस्थापन, पर्याप्त पार्किङ हुने कम्पनीको व्यवस्था हुने कम्पनीले जनाएको छ ।

त्यससँगै कोलोनी रनिङ ट्रयाक, चिल्ड्रेन पार्क, ड्राई फाउन्टेन, गार्डेनसहितका सामूदायिक जमघट स्थल बन्नेछ ।

पूर्वपश्चिम राजमार्गको १.८ किलोमिटरको दूरीमा रहेको सुगम कोलोनी बिर्तामोडको हर्कलाल मार्गमा छ । निर्माण भइरहेको उक्त घर हालसम्ममा ८० प्रतिशत घरहरू बिक्री भइसकेको छ भने बाँकी २० प्रतिशत घरहरू बिक्री हुन बाँकी रहेको प्रसाईको भनाइ छ । कम्पनीले प्रत्येक घरको मूल्य २ करोड ६० लाख रुपैयाँ तोकेको छ ।

‘कम्पनीले पहिलो शुरुवाती चरणका १० पहिलो ग्राहकलाई २ करोड २० लाख रुपैयाँ मूल्य तोकिएको थियो,’ उनले भने, ‘अहिले बजारअनुसार कम्पनीले प्रत्येक घरको मूल्य २ करोड ६० लाख रुपैयाँ तोकेका छौं ।’

कम्पनीले सेमी–फर्निस्ड घरका लागि उक्त मूल्य तोकेको छ । तर, ग्राहकले थप फर्निसिङ गर्न चाहेमा सोही अनुसार कम्पनीले व्यवस्थापन गर्ने प्रसाईको भनाइ छ ।

सुगम कोलोनीमा बन्ने घर ग्राउन्ड फ्लोर ११७५.५४ को स्क्वायर फिटमा बन्नेछ भने पहिलो तल्ला ९६८.४१ देखि १००२.५३ स्क्वायर फिटमा बन्नेछ । साथै, दोस्रो तल्ला भने ५८६.४४ स्क्वायर फिटमा बन्नेछ । उक्त घरमा लिभिङ रुम, मास्टर बेडरुम, गेष्टरुम, बेडरुम, फ्यामली कोठा, स्टुडियो कोठा, पुजा कोठासहित भान्साको व्यवस्था हुनेछ ।

७० घरसहितको ‘हरिहर कोलोनी’
पहिलो चरणमै पाइलट प्रोजेक्ट रुपमा कोलोनी निर्माण गर्न शुरू गरेको शिवम्ले सुगमसँगै बिर्तामोडमै ५ विघा ५ कठ्ठा क्षेत्रफल जग्गामा ७० युनिट घरसहित ‘हरिहर कोलोनी’ निर्माण गरिरहेको छ । कोलनीको क्षेफल ७० रोपनी हुनेछ ।

करिब ४० प्रतिशत निर्माण कार्यसम्पन्न गरेको उक्त कोलोनी हालसम्ममा ४० प्रतिशत घरहरू बिक्री भइसकेका छन् । कम्पनीले हरिहर कोलोनीमा भने परिवारको आकारअनुसार कोलानी निर्माण गर्ने जनाएको छ । बिर्तामोड ६ स्थित बुट्टाबारीमा निर्माण भइरहेको सो कोलोनी विभिन्न टाइपमा छुट्टाछुट्टै बन्नेछ ।

‘हरिहर कोलोनीमा सानो परिवारका लागि ३ वटा बेडरुम, एउटा हल र किचन र ४ वटा कोठा, एउटा हल र किचन भएको निर्माण हुनेछन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘प्रत्येक घरहरू डेढ तलाका हुनेछन् ।’

कम्पनीले निर्माण भइरहेका ती घरको शुरुवाती मूल्य १ करोड २० लाख रुपैयाँ हुने जानकारी दिएको छ ।

कम्पनीले टाइप ‘एच’ को घरलाई १ करोड २० लाख रुपैयाँ तोकेको छ भने भने टाइप ‘आर’को घरलाई १ करोड ७० लाख तोकेको छ । कम्पनीले कस्टमाइजेबल बिल्डिङ्को पनि अप्सन राखेको छ ।

‘कस्टमाइजेबल बिल्डिङ्मा आफ्नो परिवार अनुकुल कस्टमाइज गर्न आग्रह गरेमा शुरुवातीदेखि नै सो व्यवस्था हुनेछ,’ उनले भने, ‘उक्त घरको अधिकतम मूल्य साढे ४ करोड रहेको छ ।’

कम्पनीले हरिहर कोलोनीको कार्य तीव्र रुपमा बढेकाले आगामी ८ महिनापश्चात हस्तान्तरण गर्दै जाने जानकारी दिएको छ । कोरोनाले गर्दा निर्माण कार्यमा निकै प्रभावित भएकाले केही ढिला भएको कम्पनीको भनाइ छ ।

हरिहर कोलोनीमा पनि सुगम कोलोनीको जस्तै फुटपाथसहितका फराकिला सडक, कम्युनिटी हल, स्विमिङ पुल, फिटनेस सेन्टर र सामूदायिक कार्यालयको सुविधा हुनेछ । साथै, भूकम्प प्रतिरोधी हरेक घरमा पर्याप्त पार्किङ समेत हुनेछ । साथै, अन्डरग्राउन्ड केवलिङ र राम्रो ढल व्यवस्थापन गरिने कम्पनीको भनाइ छ ।


अरिष्मा मोक्तान