आयात चुलिँदा राजस्वमा छलाङ, २ महिनामा सरकारले उठायो १६८ अर्ब



काठमाडौं । सरकारले दुई महिनाको अवधिमा डेढ खर्ब बढी राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्ब ६८ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ संकलन भएको विवरण सार्वजनिक गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटको संसोधन मार्फत चालु आर्थिक वर्षमा १० खर्ब ५० अर्ब राजस्व संकलन हुने लक्ष्य राखेका छन् ।

सरकारले दुई महिनामा कर राजस्व अन्तर्गत १ खर्ब ४८ अर्ब तथा गैर कर राजस्व अन्तर्गत २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

सरकारले भदौ महिनामा मात्र ७५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो ।

साउन महिनामा ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । २ महिनामा उच्च आयातको कारण सरकारले लिएको लक्ष्य अनुसार राजस्व संकलन पुरा भएको हो । २ महिनाको राजस्व बृद्धिदर देखेर अर्थमन्त्री शर्माले बिष्णु पौडेलले जेठ १५ मा राखेको भन्दा राजस्वको लक्ष्य बढाएका हुन् ।

दुई महिनामा सरकारले चालु खर्च तर्फ ५८ अर्ब खर्च गरेको छ । यस्तै २ अर्ब ६ करोड विकास खर्चमा तथा वित्तीय व्यवस्थामा २८ अर्ब खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सरकारले बजेट समयमा पास गर्न नसकेपछि बुधबारदेखि कुनैपनि सरकारी खर्च गर्न पाउने छैन । राजस्व संकलन गर्न भने सरकारले पाउने छ ।


क्लिकमान्डु