बाटो नबन्दा मनाङको स्याउले बजार पाएन, कुहिन थालेपछि व्यवसायी चिन्तामा



मनाङ । यसवर्ष मनाङमा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् ।

विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्याउन शुरु गरिन्थ्यो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यसवर्ष स्याउ टिप्न र बजारसम्म पुर्याउन ढिलो भएको बताए ।

‘विगतका वर्षमा यतिखेर स्याउ टिप्न चटोरो हुन्थ्यो । यसवर्ष स्याउ टिप्न र बजार लैजान सक्ने अवस्था छैन । कतै सडक नहुँदा बारीमा नै कुहिने त होइन भन्ने चिन्ता लागेको छ,’ उनले भने ।     
    
उनका अनुसार एक सय रोपनीका फार्ममा लगाइएको स्याउमध्ये ३० रोपनी पहिराले बगाउँदा रु ४० लाख क्षति भएको छ । उनले जस्तै जिल्लाका आफ्नै बारीमा व्यावसायिक स्याउखेती गर्दै आएका किसान सडक नहुँदा मर्कामा परेका छन् । यस पटकको बाढीपहिराले स्याउखेती गर्ने किसान वढी समस्यामा परेका जनाइएको छ । बजारमा स्याउ पुर्याउन मुस्किल भएको नासों–८ ताचैका किसान सोलबहादुर गुरुङ बताए ।

‘दशैंँ अगाडिसम्म सडक सञ्चालन भएमा स्याउ पुर्याउन सकिन्छ कि भन्ने आशा जागेको छ,’ उनले भने ।

एग्रो मनाङका प्रमुख सोमराज गुरुङले यतिखेर स्याउ बजारमा पु¥याउनुपर्ने भए पनि सडकका कारण पुर्याउन नसकिएको बताए ।

‘गतवर्ष यो सिजनमा प्याकिङ गरिन्थ्यो । यसवर्ष पनि दशैंसम्म सडक निर्माण हुने खबर पाएका छौं । सोही अनुसार प्याकिङको काम थालेका छौं । सडक बनेपछि बजारमा पुर्याउने तयारीमा छौं,’ उनले भने ।

सडक मर्मत जारी    
    
यसैबीच डुम्रे-बेशीसहर-चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले सदरमुकाम चामेसम्म असोजसम्ममा सडक सञ्चालन गराउने तयारीमा रहेको उनको भनाइ छ । उनले मर्मत तथा सम्भार र निर्माण जारी रहेको समेत बताए ।

‘सडक मर्मत तथा सम्भार भइरहेको छ । वर्षा भइरहेकाले समस्या भने आइरहेको छ । एक ठाउँमा बनायो अर्को स्थानमा भत्किन्छ । यो समस्याले सडक निर्माणमा अलि ढिलाइ भने भएको हो,’ उनले भने ।

उनका अनुसार दशैं अगावै जिल्ला सदरमुकामसम्म सवारी सञ्चालन गर्ने योजनासहित काम भइरहेको छ । माथिल्लो मनाङ जाने सडक अन्तर्गतको तलेखु–भ्राताङ भीरमा ब्लाष्टिङ गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइरहेको उनले बताए ।

सो सडकखण्ड एक सय सात किलोमिटरमध्ये लमजुङको बँेशीसहरदेखि नासों गाउँपालिका–१ खोत्रोसम्मको ३५ किमी सडक निर्माण भइसकेको छ ।    
    
त्यस्तै चामे गाउँपालिकामा स्थानीयवासीको सहयोगमा पालिकाम पूरै सवारी आवतजावत भइसकेको उनले बताए । उनका अनुसार अब उक्त सडक खण्ड अन्तर्गतको खोत्रोदेखि तिमाङसम्म करिब १५ किलोमिटर सडक निर्माण हुनबाँकी छ ।

माथिल्लो र तल्लो मनाङलाई जोड्नका लागि करिब साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । उक्त सडक निर्माण भएपछि सर्वसाधारणलाई आवतजावत तथा सामग्री ढुवानीमा सहज हुनेछ ।     


क्लिकमान्डु