सञ्चय कोषको लगानी उत्पादनमुलक क्षेत्रमा केन्द्रित गर्नू: अर्थमन्त्री



काठमाडौं । कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमुलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

कोषको ६० औं बार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले कोषमा भएको रकम उत्पादनमुलक क्षेत्रमा लगाएर देश विकास गर्नुपर्ने बताए ।

‘सञ्चयकर्ताहरुको पैंसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पु¥याउँछ ।’ उनले भने, ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’

उनले सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए ।
मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त गरे ।

सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७÷७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेको छ ।

सामाजिक सुरक्षा योजनाअन्तरगत कोषले सञ्चयकर्ताहरुको लागि .७ हजार ५ सयका दरले २ पटकसम्म प्रसुती खर्च उपलब्ध गराउँछ ।

यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा २ लाख प्रदान गर्दछ ।

सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट रु. ४० हजार काजक्रिया खर्च उपलब्ध गराउँछ । यसैगरी कोषले सामान्य औषधोपचारको हकमा रु. १ लाख तथा घातक रोगको हकमा १० लाखसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ ।


क्लिकमान्डु