५ वर्षमा निर्यातको आकार ७ अर्ब डलर पुर्याउने व्यवसायीको लक्ष्य



काठमाडौं । आगामी ५ वर्षमा निर्यातको आकार ७ अर्ब डलर बराबर पुर्याउने निर्यात व्यवसायी महासंघले लक्ष्य लिएका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयको आयोजना र निर्यात व्यवसायी महासंघको समन्वयमा आयोजित कार्यक्रममा महासंघले सो रणनैतिक लक्ष्य लिएको जानकारी गराएको छ ।

गत आवमा नेपालले पहिलो पटक निर्यातको १ खर्बको लक्ष्य पार गरेको थियो । गत आवमा नेपालले कुल १ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

परराष्ट्र मन्त्रालयको आयोजना र निर्यात व्यवसायी महासंघको समन्वयमा विभिन्न ४० देशका कुटनीतिक नियोगसँग छलफल गरेको थियो । नेपालको निर्यात व्यवसायलाई अभिबृद्धि गरी व्यापार घाटा कम गर्ने, सरोकारवालाबीच प्रभावकारी समन्वय तथा सहकार्य अभिवृद्धि गर्न सो छलफल गरिएको थियो ।

महासंघले साउन २७ देखि २९ गतेसम्म विदेशस्थित नेपाली राजदूत, कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निर्यात व्यवसायी महासंघ नेपाल र नेपाली निर्यातकर्ताबीच भर्चुअल अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

महासंघले नेपाली नियोगबीच समन्वय, सहकार्य र सूचना आदान–प्रदानमा अभिवृद्धि भई आगामी तीन वर्षमा नेपालको निर्यात व्यापारको आकार १ अर्ब अमेरिकी डलरबाट २ अर्ब डलर पुर्याउने लक्ष्य लिएको छ । साथै आगामी पाँचवर्ष (सन् २०२५ को अन्त्यसम्म) मा ७ अर्ब डलर बनाउने महासंघको रणनैतिक लक्ष्य लिएको महासंघले जनाएको छ ।

अर्थतन्त्रमा निर्यातको योगदान अत्यन्त कमजोर
छलफल कार्यक्रममा दक्षिण एसियाली मुलुकसँग तुलना गर्दा नेपालको अर्थतन्त्रमा औद्योगिक क्षेत्र र निर्यातको योगदान अत्यन्त कमजोर रहेको निष्कर्ष निकालेको छ ।

महासंघले सार्क क्षेत्रको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदानको तुलना गर्र्दा नेपालको अवस्था निकै कमजोर रहेको जनाएको छ । महासंघले सार्क क्षेत्रको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदानमा बंगलादेशको ३० प्रतिशत, भुटानको २८ प्रतिशत, भारतको १७ प्रतिशत, श्रीलंका ३० प्रतिशत, पाकिस्तानको ४० प्रतिशत रहेकोमा नेपालको औद्योगिक क्षेत्रको योगदान ५.१ प्रतिशत मात्रै रहेको छ ।

त्यसैगरी महासंघले आर्थिक वर्ष २०५६÷५७ मा कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान प्रतिशत रहेकोमा आव २०७७÷७८ आइपुग्दा घटेर १३.८ प्रतिशत मात्रै योगदान रहेको उल्लेख गरेको छ ।

उत्पादनमुलक उद्योगको योगदान १५ प्रतिशतबाट ५.१ प्रतिशतमा सीमित भएको छ । त्यस्तै २०५६/५७ मा निर्यातको योगदान १३ प्रतिशत रहेकोमा आव २०७७/७८ मा घटेर ३.३ प्रतिशत मात्रै रहेको छ ।

विश्वका धेरैजसो मुलुकको विकासको मेरूदण्डका रुपमा रहने औद्योगिक क्षेत्रले नेपालको आर्थिक बिकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । नेपालमा औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदै पनि यस क्षेत्रले रोजगारीको अवसर सिर्जना, गरिबी न्यूनिकरण र निर्यातमा आशातित उपलब्धि हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ । साथै नेपालको निर्यात व्यापार विगत दुई दशकदेखि यता दिनानुदिन ओरालो लाग्ने क्रममा रहेको महासंघले जनाएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपालको निर्यात व्यापारको वर्तमान अवस्था, निर्यातयोग्य वस्तुहरुको सूची, मौलिक वस्तुहरुको बजारीकरण गर्न गर्नुपर्ने रणनीतिक योजना, ब्राण्डिङका लागि कलेक्टिभ ट्रेडमार्कको बजारीकरणका साथै गन्तव्य मुलुकहरुको माग पहिचान, बजार अध्ययनमा नियोगहरुको भूमिकाका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र निर्यात व्यवसायी महासंघ नेपालबीच संयन्त्र बनाई निर्यात व्यापार वृद्धिका लागि आवश्यक रणनीति बनाई नीतिगत पैरवी तथा बजेट बिनियोजनका निमित्त महासंघले पहल गर्ने प्रतिबद्धता जनाएको छ ।


अरिष्मा मोक्तान